ताजा अपडेट »

गुमनाम खेलाडी नरेन्द्र अवाले

बुधबार, ०२ असार २०७८, १९ : १२
4 Shares

पारिवारिक, चोट, आर्थिक लगाएत विभिन्न करण नेपाली खेलकूदमा लामो यात्रा गर्ने र धेरै सम्भावना बोकेका धेरै खेलाडी बीचमै हराएका छन् । कुनैबेला चर्चाको शिखरमा रहेका थुप्रै खेलाडी अहिले ओझलमा परेका छन् । एक समय नेपाली शारीरिक सुगठन खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी नरेन्द्र अवाले हिजोआज गुमनाम छन् ।

ललितपुर १२ स्थित भेलाछेमा आमा नानीमाया र पिता मेतिलाल अवालेका सुपुत्रका रुपमा नरेन्द्र अवालेको जन्म भएको थियो । देशकै सबैभन्दा ठुलो मानिएको शारीरिक सुगठन प्रतियोगिता घर्मश्रीमा पटकपटक विजेता बनेर भारतको नासिकमा भएको प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा समेत राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्नो शारीरिक प्रदर्शन गरेका अनुभवी खेलाडी नरेन्द्र आज खेल क्षेत्रबाट ओझलमा परेका छन् । ५० को दशकमा शारीरिक सुगठन खेलमा ६० केजी बजन समुहमा चर्चित खेलाडी थिए नरेन्द्र। त्यसबेला हुने गरेका प्रतियोगिताहरुमा प्रतिस्पर्धीहरुमा उनको उपस्थिति निकै चासोको विषय हुने गथ्र्यो।

नरेन्द्रका पिता ईट्टा व्यवसायी थिए । उनले समेत पिताको व्यवसायिक कारोबारमा सहयोग गर्ने गर्थे । उनको शारीरिक सुगठन अभ्यासको शुरुवात नाइन प्वाइन्ट हेल्थ क्लबबाट गरेका थिए । केही समय पछि गोल्डस् जिम मानभवन तिर लागे । जिमका संचालक तथा ट्रेनर स्व सुरेशलाल श्रेष्ठ थिए । सुरेशलाई नरेन्द्रमा रहेको खेलप्रतिको अगाढ मोह ठम्याउन बेर लागेन । उनले अवालेलाई व्यायाममा लाग्न थप प्रोत्साहित गरे । नरेन्द्र लामो समयसम्म त्यही जिमबाट प्रतियोगिताहरुमा सहभागिता जनाउदै सफलताको सिढिँहरु चढ्दै गए । प्रतियोगितामा उनको निरन्तरताको सफलता पछि नेपालको सबैभन्दा पुरानो जिमखाना नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले उनलाई आफ्नो क्लबबाट खेल्न अनुरोध गरे। उनले पनि सदस्यता लिएर त्यस पछिका गेमहरु व्यायाम मन्दिरबाट खेले ।

उनको खेल यात्रा
– २०५२ सालमा नेपा शारीरिक सुगठन संधको आयोजनामा भएको प्रथम मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा उनले डेब्यु गरे।
– २०५२ सालमा लियो क्लव आयोजनामा भएको मिस्टर भ्याली शारीरिक सुगठन प्रतियोगितामा उनले ६० केजी बजन समुहमा विजेता भए ।
–२०५३ वडी विल्डिङ्ग ग्रुप अफ काठमाडौँको आयोजना भएको तेस्रो एभरेस्ट क्लासिक खुला सुगठन प्रतियोगितामा उनले ६० केजी बजन समूह रजत पदक ।
–२०५३ सालमा गोल्डस जिमको आयोजनामा भएको प्रथम ललित क्लासिक शारीरिक सुगठन प्रतियोगितामा उनले ६० केजी बजन समुहमा बिजेता बन्दै उपाधि उप विजेता वने ।
–२०५३ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको चौथो धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा उनले ६० केजी बजन समुहमा कास्य पदक लिन सफल भए ।
– २०५४ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको पाचौ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा उनले ६० केजी बजन समुहमा बिजेता भए ।
– २०५४ सालमा जिल्ला खेलकुद बिकास समिति काठमाडौको आयोजनामा भएको काठमाडौ फेण्डसिप कप खुला शारीरिक सुगठन प्रतियोगितामा ६० केजी बजन समुहमा बिजेता भए ।
–२०५४ सालमा काठमाडौ जेसिसको आयोजनामा भएको मिष्टर काठमाडौ खुला शारीरिक सुगठन प्रतियोगितामा सातौ स्थान हात पारे ।
– २०५६ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको छैठौ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा उनले ६० केजी बजन समुहमा बिजेता भए ।
– २०६० सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको नबौ धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा उनले ६० केजी बजन समुहमा रजत पदक लिन सफल भए ।
–सन् १९९७ मा भारतको नासिकमा भएको प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भए ।

उनका समकक्षी रहेका शारीरिक सुगठनका चर्चित खेलाडी सागर ताम्राकार भन्छन्, ‘नरेन्द्र असाध्यै मेहनती र लगनशील खेलाडी हुन् । हँसिलो स्वभावका उनी अलिक अन्तर्मुखी स्वभावका छन् । त्यसबेला साधन स्रोतका कमी थियो तर, हाम्रो व्यायामप्रतिको हाम्रो साधनामा कुनै कमी थिएन । बिहान बेलुकी धण्टौसम्म व्यायामशाला फलामहरुसँग जुद्धै पसिना बगाएर हामी प्रतियोगिताहरुका तयारी सँगसँगै गर्ने गथ्र्यौ सधैं झैं साधारण पोशाकमा भेटिने यी असाधारण खेलाडी नरेन्द्र भन्छन्, “व्ययाम गर्दा शरीरको पोस्चरमा (आसन) ध्यान दिनु जरुरी छ। गलत पोश्चरमा गरिने अभ्यासले परिणामपनि त्यही अनुरुपको दिन्छ । जिम गर्दा अर्को महत्वपूर्ण कुरा मशल माइन्ड कनेक्शन हो । व्यायाम गर्दा लक्षित मांसपेशीहरू सँग मष्तिकको समन्वयन जरुरी हुन्छ । सो अवधीमा लक्षित मांसपेशीलाई मष्तिकबाट नै असर परिरहको अनुभूति गर्न जरुरी हुन्छ ।’

शारीरिक सुगठन खेलको बिकासमा उनले पुर्याएको भएको योषदान कदर गर्दै नेपाल व्यायाम मन्दिरले दशौ धर्मश्री प्रतियोगितामा कदर पत्रले सम्मानित समेत गरेको थियो । हिजोआज उनी श्रीमती १ छोरा र १ छोरीका साथ आफ्नो किराना पसलमा व्यस्त भेटिन्छन् । खेलमा लागेका खेलाडीहरुलाइ खेलमा सक्रिय हुदा मात्र नभएर त्यसपछि पनि राज्य सम्बन्धित खेल निकायहरूले चासो दिनु जरुरी देखिन्छ ।

https://www.globalaawaj.com/archives/113499
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार