ताजा अपडेट »

स्टार खेलाडी मरिचमान

सोमबार, ३१ जेठ २०७८, १७ : ५७
4 Shares

नेपालको सन्दर्भमा शारीरिक सुगठन खेलको चर्चा गर्ने हो भने अहिलेसम्म हेर्दा एमेच्योर बडी बिल्डिङ्गका (आर्थिक लाभका लागि नभई मनेरञ्जनका लागि खेलिने खेलका रुपमा) नै खेल्ने बढी खेलाडीहरु भेटिन्छन्। किनभने अन्य देशहरुमा जसरी यहाँ अझैपनि ब्यवसायिक( प्रोफेशनल ) बडी बिल्डिङको (आर्थिक लाभकालागि खेलिने खेल) विकास खासै भइसकेको छैन । ब्यवसायिक बडी बिल्डिङमा नै आफ्नो करियर बनाउन चाहाना राख्ने एक खेलाडी हुन्, मरिचमान लामा ।

पिता स्व श्री रामबहादुर र माता प्रेमकुमारी लामाको कोखबाट२०४२ सालमा चितवन– ८ पार्वतीपुरमा मरिचमानको जन्म भएको थियो । सानैदेखि पढाइमा सिपालु रहेका लामाले एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए । २०६२ सालमा स्थानीय अन्नपूर्ण उच्च माध्यमिक विद्यालयबाट उनले +२ परीक्षा समेत राम्रै नतिजा ल्याएर पूरा गरे । पिता भारतीय सेनामा भएकाले उनलाई पनि सेनामा भर्ती हुने पारिवारिक दबाब थियो। ब्रिटिश लाहुरे बन्ने रहरमा लामाले घरमा व्यायाम गर्न प्रराम्भ गरे । सिमेन्टको डमबेल र मिलको जाँतोबाट बारबलरड बनाएर शारीरिक व्यायामका अभ्यास गर्न थाले । उनले केही वर्ष मार्शल आर्टपनि खेले । २०६३ सालमा उनी वैदेशिक रोजगारीको सिलसिलामा दुबैइ तिर लागे। त्यही उनले अल्बटार जिमखानामा जिम गर्न थाले। आफूले जिम गर्ने क्लबका खेलाडीरुले अन्तराष्ट्रिय प्रतियोगिताको तयारी गर्दै र सहभागी भएको देख्दा उनमा पनि त्यो मोह जाग्यो।

मरिचमानको खेल यात्रा
– मिष्टर नारायणी शारीरिक सुगठन च्याम्पियनसिप २०७४ मा ६५ प्लस केजीमा स्वर्णपदक सहित उपाधि र नगद १ लाख पुरस्कार ।
– नेपाल शरीरिक सुगठन महासंघद्वारा आयोजित दोस्रो मिष्टर एभरेष्ट शारीरिक सुगठन च्याम्पियनसीप २०७५ मा ७५ केजीमा स्वर्ण पदक ।
– तेश्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनसिप–२०७५ मा ७५ केजी तौलमा रजत पदक ।
– हेल्पिङ्ग क्यापको आयोजना र नेप्लिज फेडेरेशन अफ बडी विल्डिङ्ग एण्ड फिटनेशको आयोजना भएको ‘प्रथम नेपाल क्लासिक ओपन बडी विल्डिङ्ग च्यान्पियनशिप २०१९’ अल ओभर उपविजेता बन्दै २ लाख ५० हजार नगद पुरस्कार ।
– बिरगन्जमा सम्पन्न भएको राष्ट्रिय स्तरको रेन्बो क्लास्सिक बडिबिल्डिङ प्रतियोगिता–२०७६ को उपाधिसहित २ लाख नगद हात पारे ।
– सन् २०१९ संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजना भएको विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएका थिए।
– सन् २०२० मा संयुक्त अरब इमिरेट्सको दुवइमा आयोजना भएको आइएफबिबि एमेच्योर बडी बिल्डिङ्ग च्याम्पियनसिपमा ७५ के.जी. समूहमा उत्कृष्ट पाचौँमा पर्न सफल।

लामा आफू बडीबिल्डिर हुन्छु भनेर कहिल्यै नसोचेको उनी बताउँछन् । हिजोआज लामालाई आफू लाहुरे हुन नसकेकोमा खासै गुनासो छैन। खेलजीवनको सबैभन्दा सुखद क्षणको रुपमा उनले सन् २०२० मा दुवइमा भएको आइएफबिबि एमेच्योर बडी बिल्डिङ्ग च्याम्पियनसीपमा सहभागिता जनाएको घटना सम्झिन्छन् । उनि भन्छन्,‘मैले प्रतियोगिताको तयारी गर्ने प्रयाप्त समय नै पाइन । जम्मा ३५ दिनको तयारीमा प्रतिष्पर्धामा सहभागी भएको थिएँ । मैले विभिन्न देशबाट प्रतिनिधित्व गर्दै आएका खेलाडीहरूको पाखा लगाउँदै आफ्नो वजन समूहमा टप फाइभमा पर्न सफल भएको थिए“ ।’

त्यो क्षणको सम्झँदा उनलाई आजपनि हर्षले मन गद्गद् भएर आउँछ । मार्सल आर्टका ब्ल्याक बेल्ट रहेका लामा भन्छन्, ‘तपाइँले आज स्वास्थ्य आर्जनमा गरेका व्ययहरु भोलिका लागि लगानी हो, यसलाई अनावश्यक खर्च नमार्नुहोस्। तपाइँले आज गरिरहनु आम्दानीको प्रमुख कारण तपाइँको स्वास्थ्य हो । यदि तपाईं बिरामी हुनुभएको भए तपाइ असमर्थ हुनुहुन्थ्यो।’ कार्गो एजेन्टका रुपमा दुवई एअरपोर्टमा कार्यरत समेत रहेका मरिचमान भन्छन्,‘म मेरा कामहरुलाइ तालिका बनाएर सन्तुलनमा राख्छु । नियमित तालिम लिन्छु । बिहाँनको सिफ्टमा कामगर्दा म बेलुका व्यायाम गर्छु । रात्रिको सिफ्ट छ भने दिउँसो गर्छु ।’

मरिचमान अनुशासित आहार अनुसरण गर्दछन्। उनले प्रोटिन, कार्बन र स्वस्थ बोसोहरूलाई सन्तुलित बनाएर खान्छन्। वर्तमान समयमा नेपालका उत्कृष्ट बडी बिल्डर्समध्ये एक मानिने मरिचमान आफ्ना सपनालाई जीवित राख्न निरन्तर अभ्यास, दृढ संकल्प र कडा परिश्रम नै आफ्नो सफलताको मूलमन्त्र मान्छन् । लामा आफ्नो खेलजीवनमा प्राप्त सफलताको श्रेय श्रीमती यमुना गरुङलाइ दिन्छन् । उनको भविष्यमा अन्तराष्ट्रिय प्रोफेशनल बडी बिल्डिङ प्रतियोगितामा जितेर आफ्नो र देशको नाम उच्च पार्ने सपना छ ।

https://www.globalaawaj.com/archives/113219
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार