ताजा अपडेट »

मेधावी छात्र राजु दिवाकर

सोमबार, १० जेठ २०७८, १५ : ४०
16 Shares

नेपाल शारीरिक सुगठन खेलमा ऐतिहासिक रुपमा अन्तर्राष्ट्रिय पदक भित्र्याउन सफल खेलाडी राजु दिवाकरका बारेमा आज हामी चर्चा गर्दैछाै ।भक्तपुर जिल्ला प्राचीन वास्तुकला र गौरबमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी हो । ऐतिहासिक तथा सांस्कृतिक वैभवले संसार प्रसिद्ध भक्तपुर बिश्वकै एक उत्कृष्ट गन्तब्य हो ।

कुनैबेला भादगाउँ र ख्वप : नामले चिनिने गर्थ्याे भक्तपुर । जुजु धाैँ र भादगाउँले टाेपि मात्रै यस जिल्लाकाे चिनारी बाेकेका छैनन्। शारीरिक सुगठन खेलकाे उर्वर भुमिका रुपमा समेत भक्तपुरलाई चिनिने गर्छ। यस क्षेत्रले शारीरिक सुगठन खेलका दर्जनौं चर्चित खेलाडीहरु जस्तो हरिस श्रेष्ठ, सुन्दर देउला,राजु दिवाकर , रेनबहादुर बासुकला, दयाराम दिवाकर, समिर श्रेष्ठ, किशनदास दिवाकर जस्ता हाेनहार खेलाडी जन्माएकाे छ । आज हामी राजु दिवाकरका बारेमा चर्चा गर्दैछाै ।पिता सिताराम र माता सिताकाे सुपुत्रका रुपमा २०२९ सालमा भक्तपुर तुलाछेंमा राजुकाे जन्म भएको थियो । उनी सानैदेखि पढा्ईमा निकै रुचि राख्थे ।

मेधावी छात्र राजुले स्थानीय सरस्वती बिधा गृहबाट एस एल सि परीक्षा प्रथम श्रेणीमा उतिर्ण गरेका थिए ।उनले उच्च शिक्षाका लागि त्रिचन्द्र कलेजमा बिज्ञान बिषय लिएर पढ्न थाले । उनका पिता सितारामपनि शारीरिक सुगठन खेलका पारखी थिए । राजुकाे पनि शारीरिक सुगठन खेलतर्फ रुचि देखिन थाल्यो । पिताको सिको गर्दै नाताले दाजु गर्ने विशुराम दिवाकरसँग राजुपनि भक्तपुरस्थित डिस्प्राडाे जिममा भर्ना भए। राजुले यता कलेजमा आइ एस सि परीक्षा प्रथम श्रेणीमा उतिर्ण गरे । अध्ययनसँगै उनले नियमित शारीरिक व्यायामकाे अभ्यास गर्ने थाले । नभन्दै उनको फिजिक्स राम्रो देखिन थाल्यो । साथीहरू सल्लाह अनुसार उनी प्रतियोगितामा सहभागी हुन शुरु गरे ।

उनले यस खेलमा प्राप्त गरेका उपलब्धिहरु यसप्रकार रहेका छन् ।

बि स २०४९ सालमा लियो क्लब अफ भक्तपुरकाे आयाेजनामा आयोजित मिस्टर भ्याली शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तर्फ प्रतिस्पर्धा गर्दै उपाधि उचाल्न सफल भए । बि स २०५० मा नेपाल व्यायाम मन्दिर द्वारा आयोजित तेश्रो धर्मश्री ६० केजी तौल समूहमा स्वर्णपदक जिते । बि स २०५१ मा धरानमा राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित दशौ मिस्टर नेपाल राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तर्फ रजत पदक हात पारे । बि स २०५२ मा आयोजित प्रथम एभरेस्ट क्लासिक शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी तर्फ स्वर्ण पदक जित्न सफल भए ।

बि स २०५३ मा आयोजित दोश्रो एभरेस्ट क्लासिक शारीरिक सुगठन प्रतियोगितामा पुनः ६५ केजी तर्फ स्वर्णपदक प्राप्त गरे । बि स २०५३ मा मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी स्वर्णपदक लिन सफल भए । बि स २०५४ मा पाचौं धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा ६५ केजीतर्फ स्वर्णपदक हात पारे । सन् १९९६ मा भारतकाे नयाँदिल्लीमा भएको ३२ औं मिष्टर एशिया च्याम्पियनसिपमा ६५ केजी सहभागी जनाएका थिए । सन् १९९७ मा भारतको नासिक प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहमा सहभागी हुँदै ऐतिहासिक कास्य पदक प्राप्त गर्न सफल भएका थिए । बि स २०५७ सालमा नेपालको राजधानी काठमाडौंमा आयोजितमा दोस्रो दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा ऐतिहासिक रजत पदक प्राप्त गर्न सफल भएका थिए ।

यसैबीच राजु उपत्यकाका विभिन्न जिममा जिम ट्रेनर भएर धेरै खेलाडीहरु लाई ट्रेनिङ दिएकाे उनले बताए । चार वर्ष जति उनलेे बैदेशिक राेजगरीका शिलशिलामा साउदी अरबमा समेत पुगे । त्यहाँ पनि उनलेे चर्चित अल गजल जिम ट्रेनर भएर कामकाज गरे । बिदेशबाट फर्केर उनले ह्यायात हाेटल काठमाडौंमा लामो समय फिटनेस ट्रेनर भएर काम गरे । आफ्नो विगतको स्मरण गर्दै राजु भन्छन् , " प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा खेल्न हामी भारतको नासिक पुगेका थियौँ । त्यहाँ खेलाडीहरु प्रतियोगितामा शरीरका मांसपेशीहरुलाई राम्रो देखाउन प्रयोगगर्ने रङ्ग टान प्रयोग गर्ने रहेछन् ।

हामीले नेपालमा त सामान्य तेलको प्रयोग मात्रै गर्ने गर्थ्याै । एक भारतीय खेलाडी मलाई टान लाउन दियो । " साे प्रतियोगितामा ऐतिहासिक पदक जितेको पललाइ उनी खेलजीवनकाे सबैभन्दा सुखद क्षणका रुपमा लिन्छन् । तर राजुलाई खेलजीवनमा लागेका कारणले थप अध्ययन गर्ने नपाएको निकै ठुलो दुखेसो छ । राजु भन्छन् , खेलाडीहरु ठुला सपना देख्नु राम्रो कुरा हाे तर त्यसलाई साकार पार्न परिश्रम गर्न पछि पर्नु हुदैन । कठाेर मेहनतले नै एउटा खेलाडीलाई सफलताको बाटो पहिल्याउन मद्दत गर्छ ।"

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार