ताजा अपडेट »

अनुभवी खेलाडी किशनदास

शनिबार, ०८ जेठ २०७८, १७ : ४६
10 Shares

अहिले हाम्रो देश नेपालमा कोरोना भाइरसकाे महामारीका कारणले मानिसको जनजीवन प्रभावित बनेको छ । सरकारद्वारा घाेषित लकडाउनले मानिसका दैनिक जनजीवनमा समेत प्रत्यक्ष प्रभाव परेको छ । प्राय: सबै गतिविधि ठप्प भएकाले मानिसहरू धेरै समय घरमा नै विताउने गर्छन् । घरमा बस्दै गर्दा समेत एउटै मुद्रामा लामो समयसम्म बस्ने, शारीरिक गतिविधिहरु कम गर्ने बानीले धेरै मानिसमा स्वास्थ्य सम्बन्धी समस्याहरु समेत बढेको देखिन्छ ।

यस्तो बेला घरभित्रै भए पनि शारीरिक व्यायामहरु गर्दा मानिसहरुलाइ शारीरिक रुपमा स्वस्थ रहन मद्दत हुने वताउँछन्, अन्तर्राष्ट्रिय शारीरिक सुगठनका खेलाडी किशन दास दिवाकर । उनी भन्छन्, " नियमित रूपमा गरिने व्यायामले मानिसमा सकारात्मक सुधार ल्याउँछ । यसले शारीरिक र मानसिक दुवै स्वस्थ रहन मद्दत गदर्छ । " आज हामी यस लेखमा उनै खेलाडी किशन दास दिवाकरका बारेमा चर्चा गर्दैछाै । पिता मंगलदास र माता नानीछोरी दिवाकरका कान्छो सन्तानका रूपमा भक्तपुरको तुनाछेंमा वि.स. २०४१ सालमा किशनकाे जन्म भएको थियो । सामान्य आर्थिक अवस्था भएकाले मंगलदास सिलाई कटाइको काम गरेर आफ्ना सम्पूर्ण परिवारलाई गुजारा चलाउँथे । कृष्णलाई सानैदेखि पढाईमा खासै मन जाँदैनथ्यो । उनले स्थानीय शारदा मा.वि.मा पढ्दापढ्दै कक्षा ९ काे वीचमा नै अध्ययन छाडिदिए । उतिबेला उनका नाताले दाजु पर्ने राजु दिवाकर र दयाराम दिवाकर शारीरिक सुगठनका अब्बल खेलाडीको रुपमा भक्तपुरभरि गनिन्थे । दयारामले सधै किसनलाई जिम गर्नुपर्छ भनि प्रेरित गरिरहन्थे ।

वि.स. २०६६ साल तिर दाजु दयारामसँगै उनिपनि भक्तपुर स्थित डिस्प्राडाे जिममा जिम गर्न सुरु गरे । व्यायाम थालेको केही समयमा नै उनको सुगठित शरीरले टाेलछिमेकी र साथीभाइहरुकाे ध्यान तान्न सफल भयो । क्रमशः उनी शारीरिक सुगठन खेलका प्रतियोगिताहरुमा सहभागी हुन थाले । उनले शारीरिक सुगठन खेलमा प्राप्त गरेका उपलब्धि यस प्रकार रहेका छन् ।

वि.स. २०६८ सालमा पावर हाउस जिम भक्तपुरद्वारा आयोजित प्रथम मिस्टर ख्वपाः शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी तौल समूहमा सहभागी हुँदै पहिलो प्रतियोगितामा स्वर्ण पदक नै हात पार्न सफल भए । वि.स. २०७४ सालमा भक्तपुरमा लुनिभा फिटनेसको आयोजनामा भएको दोस्रो मिस्टर ख्वपाः शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै स्वर्णपदक हात पार्न सफल भए । त्यही वर्ष भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित तेस्रो मिष्ट्रर भ्याली शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा स्वर्ण पदक लिन सफल भए।

वि.स. २०७५ सालमा नेपाल व्यायाम मन्दिरद्वारा आयोजित पन्ध्रौं धर्मश्री राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी तौल समूहमा रजतपदक लिन सफल भए । त्यही वर्ष नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घको आयोजनामा भएको सातौं मिष्ट्रर हिमालयन शारीरिक सुगठन प्रतियोगितामा ५५ केजी तौल समूहमा प्रथम हुँदै स्वर्णपदक लिन सफल भए । साेही वर्ष काठमाडौ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित तेस्रो मिस्टर काठमाडौ शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूहमा प्रथम हुन सफल भए। यसैगरी पोखरामा आयोजना भएको तेस्रो बुल्समैन राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगितामा ६० केजी तौल समूह तर्फ प्रतिस्पर्धा गर्दै कास्य पदकमा चित्त बुझाएँ ।

वि.स. २०७६ सालमा नेपालमा आयोजना भएकाे बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा प्रतिस्पर्धा गर्दै अन्य खेलाडीलाई पछाडि पार्दै ५५ केजी तौल समूहमा कास्य पदक लिन सफल भएका थिए । किशन झण्डै पाँच वर्षजति वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा समेत पुगे । त्यहाँ राका भन्ने ठाउँमा रहेको Kingdom Champion नामक जिममा ट्रेनरका रुपमा अनुभव लिए । बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा देशका लागि पदक जित्दाका पलको कल्पनाले पनि असाध्यै आनन्द मिल्ने गरेको उनि बताउँछन् । उनकाे विचारमा शारीरिक सुगठन खेलाडीले नियमित एक्सरसाइज गर्दा आफ्नो डाइटमा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । कार्बोहाइड्रेट कम र प्रोटिन बढी मात्रामा लिनुपर्न उनको सुझाव छ ।

खेलाडीले आफ्नो आहारमा प्रयाप्त मात्रामा माछामासु, अण्डा र गेडागुडी लिनु उपयुक्त हुन्छ । यसले शक्ति प्राप्त भइ धेरै समय एक्सरसाइज गर्न सकिन्छ । उनी भन्छन्-" यस खेलका खेलाडीहरुले व्यायाम विधि र आहारमा समायानुकुल परिवर्तन गर्न आवश्यक हुन्छ । निरन्तर लामो समय एउटै विधि र एकै खालको खानपिनले मांसपेशीहरुमा चाहे जस्तो नतिजा प्राप्त गर्ने गार्‍हो हुन्छ। " हाल किशन श्रीमती र चार वर्ष कि छाेरी पुनमसँग खेल्दै जीवन विताइ रहेका छन् । उनी बिहान साँझ भक्तपुरमा स्थित युनिभर्सल जिममा ट्रेनरका रुपमा आफूजस्तै थुप्रै प्रतिभाशाली खेलाडीहरु तयार गर्नमा तल्लीन छन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार