ताजा अपडेट »

संक्रमण नियन्त्रणमा उच्च सतर्कता र संयन्त्र अपनाऊ

बुधबार, १५ बैशाख २०७८, ०९ : ३०
4 Shares

सञ्चार माध्यम र सामाजिक सञ्जालमा मात्रै होइन, टोल, छिमेकमै कोरोना संक्रमण र यसको कहरले आतंक मच्चाएको छ । गत वर्षपनि यसै समयमा नेपालमा कोरोना संक्रमण र त्रासको सुरुवात भएको थियो । तर, गत वर्षको अवस्था र यस वर्षको अवस्थामा भने धेरै फरक छ । गत वर्ष विश्वव्यापी रुपमा फैलँदै नेपाल प्रवेशको सुरुवात थियो । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेका कारण करिब नेपालमा कोरोना नियन्त्रणमा थियो । यस वर्ष भने हाल नेपालमा हजारौं कोरोना संक्रमित छन् । हालसम्म तीन लाख बढी संक्रमित भएका छन्। ती मध्ये २ लाख ७७ हजार बढी निको भएका छन् । तीन हजार बढीको मृत्यु भएको छ। पछिल्लो समयमा भने संक्रमण दर बढ्दो छ । यससँगै मृत्युदर पनि बढ्दै छ ।

सन् २०१९ को अन्तिमबाट सुरु भएको कोरोना भाइरस,कोभिड–१९ सन् २०२० मा विश्वव्यापी हुँदै सन् २०२१ को सुरुवातमा करिब नियन्त्रणमा आएको थियो । यस दौरान विभिन्न भ्याक्सिनहरु पनि बने र ती भ्याक्सिन प्रयोग पनि भए । तर,पछिल्लो महिनादेखि नयाँ भेरियण्टको कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ । विशेषगरी छिमेकी राष्ट्र भारतमा यसले भयावह रुप लिँदै तिव्र गतिमा संक्रमण बढ्दो छ । करोडौं जनसंख्या भएको छिमेकी राष्ट्र भारतमा संक्रमण बढ्दा त्यसको प्रतक्ष्य असर नेपालमा पनि परेको छ । र, नेपाल पनि उच्च जोखिममा छ । भारतमा हाल दैनिक साढे तीन लाख भन्दा बढी संक्रमित थपिने गरेका छन् । नेपालमा पनि संक्रमण संख्या बढ्दो छ ।

केही दिन अगाडिसम्म मभारतका अस्पतालमा बेड, भेन्टिलेटर, अक्सिजनको अभाव भएको खबर आउन थालेका थिए र तर, अहिले नेपालको केन्द्रीय राजधानी लगाएत् प्रदिेशका विभिन्न शहरका ठूला अस्पतालमा पनि संक्रमितलाई बेड,आइशोलेसन लगाएतका स्वास्थ्य सेवाको अभाव देखिसकेको छ । विशेषगरी लुम्बिनी प्रदेशको बाँकेमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढी छ । त्यहाँ संक्रमितलाई बेड र उपचारको अभाव खड्किसकेको छ । त्यस्तै लुम्बिनी प्रदेशको प्रदेश मुकाम बुटवलका अस्पतालमा पनि त्यस्तै छ । बुटवल स्थित कोरोना अस्पतालमा बेडको अभाव भइसकेको छ । कतिपय संक्रमितलाई अस्पताल बाहिर राखेर उपचार गरिँदै छ भने कतिपयलाई काठमाण्डौं पठाइएको छ । उता केन्द्रीय राजधानी काठमाण्डौंमा पनि कोरोना संक्रमितका लागि बेड र उपचारको अभाव देखिँदै छ ।

अहिले नेपालमा दैनिक ३ हजार बढी कोरोना संक्रमित थपिँदै आएका छन् । पिसिआर परीक्षण गरिएका अधिकांशमा अहिले पोजेटिभ देखिन थालेको छ । कोरोनाको नयाँ भेरियण्ट र दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि जोखिम बढेकोमा सरकारले विभिन्न निर्णय तथा निर्देशन दिँदै आएको छ । विद्यलाय,सिनेमा हल,पार्टी प्यालेस,लगाएतका क्षेत्रहरु बन्द गर्दै २५ जना भन्दा बढी सहभागी भएर कुनैपनि कार्यक्रम, सभा, समारोह नगर्न निर्देशन गरिसकेको छ । देशका विभिन्न १४ जिल्लाका शहरी क्षेत्रका विद्यालय पूर्ण बन्द गर्ने, अत्यधिक भिड हुने क्षेत्र र स्थानमा प्रतिबन्ध गर्ने लगाएतका निर्णय तथा निर्देशन भइसकेका छन् ।

यस्तै प्रदेश सरकार, जिल्ला प्रशासन,स्थानीय तहहरु पन बैठक र छलफलमा व्यस्त छन् । लुम्बिनी प्रदेश सरकारले कोरोना अस्पतालका लागि बजेट थप गरेको छ । तर, जसरी कोरोना संक्रमण फैलिएको छ त्यस अनुसार पूर्व तयारी भने भएका छैनन् । कोरोना महामारीको वर्तमान अवस्था र भैपरी आउने सम्भावित खतरालाई आंकलन गरी कुनैपनि किसिमका तयारी भएका छैनन् । यय अगाडि पहिलो लहरमा कोरोना रोकथामा र नियन्त्रणमा सक्रिय र उल्लेख्य भूमिका निर्वाह गरेका स्थानीय तह यतिबेला भने छलफलमै व्यस्त छन् । उता प्रदेश र केन्द्रीय सरकारको ध्यान जनतामा भन्दा सत्तामा नै बढी छ ।

राजनीतिक अस्थिरता र उतारचढावका कारण प्रदेश र केन्द्रीय सरकार स्वयम् प्रभावित छन् । सो को प्रतक्ष्य प्रभाव जनमुखी योजना, निर्णय र कार्यान्वयनमा परेको छ । सरकारले पूर्वतयारी अनुसार सिमा नाकामा कडाई र उच्च सतर्कता अपनाउन पथ्र्यो । त्यसैगरी आइशोलेसन,बेड र कोभिड अस्पतालको संख्या बढाउन पथ्र्यो । तर, ती तयारी भएनन् । यता नागरिक पनि स्वयम् जिम्मेवार र सतर्क हुन आवश्यक छ । तर, नागरिकहरुले पनि लापरवाही गरेका छन् । मास्कको प्रयोग नगर्ने, भिडभाडमा जाने , भौतिक दूरी कायम नगर्ने जस्ता सर्वसाधारणका क्रियाकलापले पनि कोरोना संक्रमण बढ्दो छ । हरेक नागरिक आफू सचेत र सतर्क भई स्वास्थ्यका मापदण्ड पालना गरी अरुलाई पनि गराउनु पर्दछ ।

https://www.globalaawaj.com/archives/101562
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।