ताजा अपडेट »

बालबालिकाप्रति विद्यालय गम्भीर बन्न आवश्यक

बुधबार, ०८ बैशाख २०७८, १९ : १५
6 Shares

कोरोना भाइरस, कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालय र विद्यार्थीका विषयमा निकै चासो र छलफल बढेको छ । बालबालिका संक्रमणमा पर्ने जोखिमका विषयमा गम्भीर सवालहरु उत्पन्न हुँदै आएका छन् । ०७६ को अन्तिमदेखि बन्द रहेका विद्यालयहरु ०७७ को असोज/कार्तिकदेखि मात्रै सूचारु भएका थिए । तर, पूर्णरुपमा सबै स्थानका विद्यालयहरु भने सूचारु भएका थिएनन् । विद्यालय बन्दपछि वैकल्पिक माध्यम, अनलाइन प्रणालीमार्फत पठन–पाठन अगाडि बढाएपनि केही हदसम्म मात्रै सफल बन्यो । तर, ग्रामिण भेग र अनलाइनको पहुँचमा नभएका विद्यार्थीहरुलाई भने समेट्न सकेन । त्यसैगरी शुल्कका विषयमा विरोध र आलोचना देखियो । तर, विद्यालय सूचारु भएसँगै ती प्रयास र समस्याहरुलाई त्यसै छोडियो । कोरोनाको दोस्रो चरण अथवा नयाँ भेरियण्टको कोरोना र यसको संक्रमण दर बढ्दो देखिएपछि पुनः विद्यार्थी र विद्यालय शिक्षाको बारेमा सरोकार र छलफल बढेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमित बढ्न थालेपछि चैत्र महिनाको २७ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले विद्यालयलाई कोरोनाको हटस्पट बन्न नदिन बन्द गर्ने निर्णय गरेर कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सिसिएमसी)मा सिफारिस गर्दै अनलाइन कक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रहसमेत गरेको थियो । त्यस पश्चात् चैत्र ३० गते सरकारलाई तत्काल विद्यालय बन्द नगर्न सरोकारवाला निकायहरुले सुझाव दिए । परीक्षाहरु आइरहेको र कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट गर्न नहुने उनीहरुको सुझाव थियो ।

छलफलमा सहभागी परीक्षण बोर्डका अध्यक्ष, नगरपालिका संघका अध्यक्ष, प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघहरुले विद्यालय बन्द नगर्न सुझाव दिएका थिए । विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको र विद्यालय सम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई जिम्मा दिनुपर्नेसमेत उनीहरुले धारण राखेका थिए ।सरकारले देशका १४ वटा जिल्लाका सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको गर्यो । जसअनुसार अति प्रभाति संवेदनशील मानिएका काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ्ग रहेका छन् । यता सरकारले बैसाख ६ गते पूर्वनिर्धारित परीक्षाहरु नरोक्ने पनि भनेको छ । विद्यालय बन्द भएतापनि वैकल्पिक माध्यम र उच्च सकर्ता अप्नाएर बैसाखमा परीक्षा सक्ने निर्णय गरेको हो ।

एकातर्फ सरकारको ठोस निर्णय, नीति, निर्देशन र व्यवस्थापन स्पष्ठ छैन भने अर्कोतर्फ विद्यालय सञ्चालक तथा छाता संगठनहरु पठन–पाठनलाई नरोक्ने जिद्दीमा छन् । सरकारले संक्रमण बढ्ने भन्दै विद्यालय नचलाउने निर्णय गरेतापनि विद्यार्थीको पढाई र परीक्षा प्रभावित हुने भन्दै भौकि उपस्थितिमै पठन–पाठनलाई निरन्तरता दिएका छन् । विद्यालय स्तरीय शैक्षिक सत्र सकिएता पनि यस वर्ष जेठसम्म लम्बाइएको छ । चैत्रमा सकिने सत्रलाई जेठसम्म लम्बाएर शैक्षिक सत्रलाई खेर जान नदिन भनिए पनि कोरोनाको पुनः सक्रियताले बैसाखमै प्रभाव पारेको छ । केही स्थानीय तहले पनि विद्यालयले चाँडै परीक्षा सक्न आग्रह गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बैशाख २० गते भित्र नगरका विद्यालयमा परीक्षा सक्ने निर्णय गरेको छ । यता बुटवल उपमहानगरले पनि बैशाख ९ गतेदेखि बैशाख मसान्तसम्मका लागि शैक्षिक संस्था बन्द गर्ने भएको छ । कोरोना र लकडाउनबाट विद्यालय क्षेत्र प्रभावित बन्यो, लाखौं विद्यार्थी घरमै रहे ।

महामारीको मध्यान्तरमा विद्यालय सुरु भएतापनि सबै विद्यार्थी विद्यालय नफर्केका समयमा पुनः दोस्रो चरण सुरु भएको छ । यस अवस्थामा थप जटिलता आएको छ । विद्यालय बन्द गर्ने/नगर्ने दुबै मध्ये एक गर्न गार्हो छ । यस्तो अवस्थामा अभिभावक चिन्तित बनेका छन् । सरकारी निर्णय मानेर आफ्ना सन्तान विद्यालय नपठाउने वा सञ्चालित विद्यालयमा नपठाउने भन्ने कुरामा दोधारमा छन् अभिभावक । यस्तो अवस्थामा उच्च सतर्कता र सावधानी अपनाउनु नै प्रभावकारिता र उचित हुन्छ । लामो समयसम्म विद्यालय बन्द भएपछि सुरु भएको शैक्षिक गतिविधि र परीक्षाको समयमा विद्यालय बन्द गर्दा शैक्षिक सत्र खेर जाने वा अर्को शैक्षिक सत्रलाई पनि बढी प्रभावित हुन सक्छ । अर्कोतर्फ अध्यापन लम्बाउँदा संक्रमण बढेर लाखौं विद्यार्थी संक्रमित हुनुका साथै ज्यानै गुमाउनु पर्ने अवस्था आउन सक्छ । त्यस्तो स्थिति हुन नदिन समयमै परीक्षा सम्पन्न गर्न आवश्यक छ । यसो गर्दा शैक्षिक सत्र र कोरोना महामारी दुबैबाट हुन सक्ने क्षति न्यूनिकरण वा रोक्न सकिन्छ ।

तसर्थ यस विषयमा विद्यालयहरु गम्भिर बन्न आवश्यक छ । विद्यार्थी संख्या अनुसार भौतिक दूरी कायम गर्दै,सेनिटाइजरको प्रयोग गर्ने , अनिवार्य गुणस्तरीय मास्क् प्रयोग गर्ने , तापक्रम मापन गर्ने लगाएतका सुरक्षा सतर्कतालाई महत्वका साथ प्रभावकारी बनाउन आयश्यक छ ।बालबालिकालाई घरमा पनि स्वास्थ्य सरसफाई तथा सुरक्षाका साथ विद्यायल पठाउने र विद्यायमा पनि उच्च सतर्कतासँगै छिट्टै शैक्षिक सत्रको अन्त्य गर्नतर्फ विद्यालयले ढिला गर्न हुँदैन ।

https://www.globalaawaj.com/archives/98125
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।