ताजा अपडेट »

कोरोनाबाट यो साता विदेशमा २१ नेपालीको मृत्यु

आइतबार, ११ असोज २०७७, १४ : ०६
9 Shares

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्‍न मितिमा थप २१ नेपालीको ज्यान गएको सो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा पाँचजना, साउदी अरबमा १४ जना, युएईमा एकजना, युगान्डामा एकजना गरी शनिबार साँझसम्म २१ नेपालीको मृत्यु भएको हो । साथै १७ देशमा रहेका २६५ जना नेपालीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । 

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् ।  तीमध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।   समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।   

यस्तै नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । 

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७३२ जनाको  मृत्यु भएको छ । यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ८८ हजार ९१ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । 

हावाबाट कोरोना सर्दैन
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्‍न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रस्ट पारेको छ । समिति संयोजक डा. सन्जीव सापकोटाले भने, ‘‘दुई मिटर (६ फिट) सम्मको दूरीमा एक-अर्काका कोरोना भाइरस सर्दैन । कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ ।’’ 

स्वास्थ्य समितिले कोरोना संक्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन (फेस कभर) गर्न आग्रह गरेको छ । कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ । 

 ७८ हजार ३ सय ४३ जनाको उद्धार 
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म  गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३ सय ४३ जनाको नेपालीको उद्धार गरिएको छ । 

चीनबाट कोरोना भाइरसको संक्रमण भए लगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको संघले जनाएको छ । 

संघअन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्‍न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघ-संस्थालगायतबाट प्राप्त सूचनाका आधारमा विगत २४ सातादेखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।