ताजा अपडेट »

आन्दोलन असफलताको कल्पना गर्न सकिँदैन्, निष्कर्षमा पुर्याउँछ : राजेन्द्र लिङ्देन

विहीबार, १५ जेठ २०८२, १२ : ४८
26 Shares
विहीबार, १५ जेठ २०८२
26 Shares

हामीले घोषणा गरेको आन्दोलनको उद्देश्य भनेको राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, देशमा भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना जस्ता जनजीविकासँग सम्बन्धित विषय स्थापित गर्नका लागि हो । तर धेरैको प्रश्न आएको छ जेठ १५ नै किन भनेर । किनभने गल्ती जहाँबाट भएको छ, जहिलेबाट भएको छ, त्यहीबाट सच्याउनका लागि अर्थात जेठ १५ गते जुन गल्ती भयो, त्यस्तो गल्ती सुधार गराउन यही दिनलाई रोजेका हौं । गणतन्त्र दिवसकै दिन हामीले गणतन्त्र अन्त्यको विषय पनि उठाउन सुरु गरौं भनेर यही मिति रोजेका हौं । 

आन्दोलनको स्वरुप पूर्ण रुपले शान्तिपूर्ण हुन्छ । अहिंसात्मक हुन्छ, सत्याग्रहमा आधारित हुन्छ र यसमा कुनैपनि प्रकारका हिंसा भड्काउने खालको काम हाम्रो तर्फबाट हुँदैन् ।  नेपालको ठूला ठूला परिवर्तनहरु खासगरि २००७, ०४६, ०६२।६३ सालको आन्दोलन र परिवर्तनको कुरा गर्दा यो तीनै वटा परिवर्तन कुनै चुनावबाट नभएर आन्दोलनबाट नै भएको हो ।

आन्दोलन, आन्दोलनपछि सम्झौता र निष्कर्ष भएकाले यस पटक पनि हामीले आन्दोलन र जनदबाबबाट नै राजनीतिक दलहरुलाई खास गरि अहिलेको सत्ता एवम गणतन्त्रका पक्षधरहरुलाई वार्तामा ल्याउने र एउटा सहमतिको बाटोबाटै नयाँ समझदारी कायम गरेर मुलुकमा राजादेखि गणतन्त्रवादीहरु सबै अटाउने मौलिक व्यवस्था निर्माण गर्नका लागि आन्दोलन तय गरिएको हो । 

हामीले खोजिरहेको परिवर्तनप्रति उत्साह बढेर गएको छ र देशभरबाट हजारौंका संख्यामा मानिसहरु काठमाडौं आएका छन् । यस्ता संवेदनशिलता र जनताको चाहनालाई सत्तारुढ पक्ष अथवा गणतन्त्रको पक्षधर दलहरुले पनि बुझ्ने छन् । र हिजो भएको गल्ती कमजोरीहरु सच्चाएर नविन समझदारीको लागि तयारी हुदैँछन् । 

हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने धर्मको कुरा मात्र होइन् । नेपालको एकता र पहिचानसँग सम्बन्धित विषय हो । हिजो हिन्दु राष्ट्र हुँदा कोही मानिस निषेधित थिएनन् । कुनै धर्म, जात, संप्रदायका मानिस उपेक्षित थिएनन् । बरु संरक्षित र सुरक्षित थिए । पछिल्लो दिनमा धर्मका आन्दोलन जुन जालो अथवा डडेलो बढेर गएको छ त्यो धर्म निरपेक्षताको आडमा नै हो ।

धर्म निरपेक्षताको आडमा बढेको धर्मान्तरणले अल्पसंख्यकहरु आज असुरक्षित छन् । धार्मिक द्वन्द्वको सम्भावना बढेर गएको छ । त्यसकारण राज्यको तर्फबाट अल्पसंख्यकहरुको सुरक्षाको सुनिश्चिता गर्दै सर्व धर्मस्वभाव, पूर्ण धार्मिक स्वतन्तत्रा सहितको हिन्दुराष्ट्र हुनुपर्छ । यो सबैको पहिचान र एकतासँग सम्बन्धित विषय हो । यसले कसैलाई निषेध गर्दैन् । राप्रपाको मात्र आन्दोलन भएको भए स्वभाविक रुपमा मैंले नै नेतृत्व गर्थें । म पार्टीको अध्यक्ष भएकाले नेतृत्व मेरो हुन्थ्यो ।

तर अहिले धेरै पार्टी शक्तिहरु जसमा विचारमा अलग अलग छौ । सबैको सहमतिमा नै यो आन्दोलनलाई अगाडि बढाइरहेको हुनाले जेष्ठ सदस्यलाई आन्दोलनको नेतृत्व गर्ने र हामीहरु समान हैसियतमा बस्ने निर्णय गरेर अगाडि बढिरहेका छौं । 

हामीले घोषणा गरेको शान्तिपूर्ण प्रदर्शनले आवतजावतमा अवरोध गर्छ । केही असर पुर्याउँछ । चारैतिर छरिएर, धेरै ठाउँमा कार्यक्रम गरेर, धेरै अवरोध सृजना गर्नुभन्दा एक ठाउँमा गर्दा कम असुविधा हुन्छ । सोही हिसाबले र सबैले देख्नेगरी रत्नपार्कलाई रोजेका छौं । 

यतिबेला आन्दोलनको असफलताको कल्पना गरेका छैनौं ।  आन्दोलनमा हामीले चाहे जस्तो भए वा हामीले परिकल्पना गरेजस्तो भयोभने एकै दिनमा निष्कर्षमा पुग्न सकिन्छ । तर हामीले परिकल्पना गरेजस्तो जनसहभागिता भएन भने, दबाब सृजना गर्न सकेनौं भने आगामी आन्दोलनको वातावरण बन्छ । यसमा निराश हुनुपर्ने र इमेज खत्तम भयो भन्ने कुरा हुँदैन् । यो निरन्तर प्रक्रिया हो । तर हामी विश्वस्त छौं । २५ औं हजार मानिसहरु उपत्यका बाहिरबाट काठमाडौं भित्रिसकेकाले उत्साह थपेको छ ।  काठमाडौं उपत्यकाकै मानिसहरुमा पनि उत्साह देखिरहेको छौं । त्यसले पनि परिवर्तन चाँही सम्भव छ । 

गत चैत्र १५ गतेको घटनालाई पनि हामीले विभिन्न कोण वा हिसाबले आफ्नो कुराहरु राखिरहेको छौं । एउटा त त्यो हिंसा भड्काउनुमा सरकार नै जिम्मेवार थियो । र सरकारले संयमता नअपनाउँदा त्यो हिंसा भएको हो । त्यति ठूलो क्षति व्यहोर्नु पर्यो । दुइ जना मानिसको ज्यान गयो । कयौं घाईते भए ।  भौतिक क्षतिहरु भयो । त्यो दुर्भाग्यपूर्ण हो । यसमा सरकार नै जिम्मेवार छ । सरकारले नै यो हिंसा भड्काएको हो भन्ने हाम्रो दाबी छ । तर सरकार पक्ष भन्छ । प्रदर्शनकारीहरु हिंस्रक भए । यसमा सत्यतथ्य छानबिन हुन आवश्यक छ । त्यसका लागि निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न जरुरी छ । 

थुनामा परेका मानिसहरुको बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले रिहाइको माग राखेको छ । छानबिनपछि जे टुंगो लाग्छ, जो दोषी हुन्छ । त्यसलाई कारबाही गर्नुपर्छ भनेर प्रारम्भमा नै भनेका छौं । यसका लागि दबाबपूर्ण कार्यक्रमहरु पनि आयोजना गर्यौं । न्यायिक लडाईँमा थुनामा रहेका साथीहरुका पक्षमा सहयोग गरिराखेका छौं । 

यतिबेला देश एउटा विशिष्ट अवस्थामा पुगेको छ । हामीले पछाडि फर्कने कुरा गरेका छैनौं । तर देश अब यही रहिराख्ने अवस्थामा चाँही छैन् । सरकार यथास्थितिको कुरा गरिराखेको छ । अहिले ठिक छ यही नै ठिक छ र काम नै ठिक छ भनिरहेको छ । यही बाटोबाट नै देशले विकासको निकास प्राप्त गर्छ भन्ने उहाँहरुको ठम्याई छ । तर देश विशिष्ट अवस्थामा छ । हालकै अवस्थामा रहने अवस्था छैन् । देशले एउटा परिवर्तन खोजेको छ । यही नेतृत्व र यही नेतृत्वले ल्याएको यो व्यवस्थाबाट देशले निकास पाउने र परिवर्तन सम्भव छैन् । त्यसैले व्यवस्था परिवर्तन जरुरी छ । 

गृहमन्त्रीको राजीनामा भनेको नैतिकताको कुरा हो  गृहमन्त्री राजीनामाको प्रसंग संसारभर रहेको प्रचलन हो । धेरै अगाडि नेपालमा नैतिकताका कुराहरु थिए । यो विषय नैतिकतासँगर निष्पक्षतासँग पनि जोडिएको विषय छ । उहाँकै अन्तर्गत र उहाँले नै सरुवा गरेर जिम्मेवारी दिएको मानिस अनुसन्धानको दायरामा आइसकेपछि र कतिपय सन्दर्भमा उहाँको समेत नाम आइसकेपछि गृहमन्त्रीले राजीनामा दिने र अनुसन्धानलाई सहयोग गर्ने हो ।
अहिले उहाँको विषयमा अनुसन्धान गर्नुपर्यो भने कसले गर्ने, गर्ने भनेको प्रहरीले हो ।

तर उहाँ आफैं सम्बद्ध रहेको प्रहरीले कसरी अनुसन्धान गर्छ । अनुसन्धान प्रभावित नहोस् भन्नको लागि राजीनामाको कुरा उठाएका हौं । अनुसन्धानबाट सत्थतथ्य सार्वजनिक हुनदिनु राम्रो हुन्छ भनेर राजीनामा दिन भनेका हौं । अनुसन्धालाई मद्दत गर्न र निष्पक्ष तरिकाले छानबिन गरेपछि निर्दोष प्रमाणित भयो भने फेरी गृहमन्त्री हुने हो । (आन्दोलनको पूर्वसन्ध्यामा नेपाल न्यूज बैंकसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग गरिएको कुराकानीमा आधारित)
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।