लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाएको छ । सांस्कृतिक झाँकीसहित प्रभातफेरीपछि मुख्य समारोह आयोजना गर्दै प्रदेश सरकारले यो गौरवपूर्ण दिवस मनाएको हो ।
त्यस अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त गणतन्त्रको संस्थागत विकासमा जोड दिँदै समावेशी, समानुपातिक, न्यायपूर्ण र उत्तरदायी शासनको अभ्यासलाई सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा दिने बताए ।
उनले गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध गराएको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन र समृद्धिका निम्ति सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । साथै उनले लुम्बिनी सरकार कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता तथा स्वरोजगारलाई प्राथमिकतामा राखेर योजनाबद्ध क्रियाशील रहेको बताए ।
सभामुख तुलाराम घर्तिमगरले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै त्यसको संस्थागत सुदृढीकरण तथा विकासमा जोड दिए । उनले राजनीतिक सङ्घीयता प्राप्त भए पनि प्रशासनिक तथा वित्तीय सङ्घीयताको व्यवहारिक कार्यान्वयन अपरिहार्य भएको धारणा व्यक्त गरे।
पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गणतन्त्रको मूल उपलब्धि सङ्घीयता भएको उल्लेख गर्दै यसको लक्ष्य देश विकास भएको बताए । उनले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न सङ्घीय सरकार तत्पर हुनुपर्ने बताए ।
विपक्षी दलका नेता जोखबहादुर महराले गणतन्त्रलाई सुदृढ गर्दै जनताका आधारभूत आवश्यकता पू्रा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै अधिकार खोज्दै आफ्नो कर्तव्य पनि हरेक नागरिकले निर्वाह गर्नुपर्छ भने।
प्रतिक्रिया