ताजा अपडेट »

युवा-विद्यार्थीहरूमा अनुरोध: सत्ताले भिड खोजेको छ, युवाले प्रश्न गर्ने हो

मंगलबार, ०९ बैशाख २०८२, १९ : १२
250 Shares
मंगलबार, ०९ बैशाख २०८२
250 Shares

सागर बेल्वासे/ प्यारा विद्यार्थी तथा युवा साथीहरू । तपाईं समाजको सचेत वर्ग हो । सचेत वर्ग यस अर्थमा कि युवा-विद्यार्थीहरूले कुनै पनि कुरालाई छिटो सिक्ने र सहि कुरालाई छिटो फैलाउने ल्याकत राख्छन् । युवाको बारेमा बहस उठिरहेको छ, उठिरहन्छ नै ।

तर, मलाई के लाग्छ भने युवा उमेरले होइन बिचारले हुने हो । सिर्जनात्मक बिचारले नै मान्छेलाई युवा बनाउने वा वृद्ध बनाउने भन्ने कुरालाई निश्चित गर्दछ । उमेरले युवा त छ तर उसको बिचार भुत्ते भएर गएको छ र फगत लहड तथा भिडको पछाडी दौडिन्छ भने त्यस्तो युवापनले समाजलाई फाइदा भन्दा नोक्सान धेरै हुन्छ । त्यस्तै लहड र भिडका पछाडी दौडिने युवाको काधमा चढेर कुनै पनि भ्रष्ट शासनले हुँकार पिटेको हुन्छ र भ्रष्ट साशकले ताण्डव नृत्य गरिरहेको हुन्छ ।

स्वभावतः कुनै पनि भ्रष्ट राजनैतिक सत्ताले युवालाई त्यस्तै भुत्ते बनाउन चाहेको हुन्छ, जसले गर्दा आफ्नो सत्ताका विरुद्धमा प्रश्नहरू उठ्न नसकुन्, सत्ता नडगमगाओस् ।

प्रिय विद्यार्थी साथीहरू, एमालेले आयोजना गरेको बैशाख ११ गतेको कार्यक्रमलाई लक्षित देखिए पनि सत्ताको आह्वानमा हुने यस्ता कार्यक्रमको सन्दर्भमा यो सबै लेख्दैछु । तपाइँहरूमध्ये कैयौं युवा र विद्यार्थी साथीहरू उक्त कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ होला वा सहभागी हुनका लागि कसैमार्फत् सम्पर्कमा आउनुभएको छ होला । एमालेले त्यो कार्यक्रम भव्यताका साथ सम्पन्न गरोस्, तपाईंहरूको कार्यक्रम सफल होस्, मेरो शुभकामना छ ।

तर, त्योभन्दा अगाडि मैले मेरा केही कुरा तपाइँहरूलाई शेयर गरौँ भनेर थोरै केही लेख्दैछु । देश र समाजप्रतिको धारणा बुझ्न एकदिन मैले कक्षा ८ का विद्यार्थीहरूलाई भविष्यमा के बन्ने भन्ने प्रश्न गरेको थिएँ । ती मध्ये अधिकांश विद्यार्थीले कोरिया जाने वा अन्य कुनै देश जाने जवाफ दिएका थिए । केहीले मात्र देशमा बसेर केही गर्ने योजना सुनाए ।  

यी कलिला मानसपटलमा जीवन धान्नका लागि विदेशै जानुपर्छ भन्ने धारणा कसरी बन्यो ? आखिर त्यस्तो के छ जसले गर्दा बालबालिकाको कलिलो मस्तिष्कमा यो देशमा बस्ने भन्ने कुनै कल्पनै छैन, योजनै छैन ? यो गम्भीर प्रश्न हो । तपाइँहरू सचेत हुनुहुन्छ, जवाफ आफै खोज्नुहोला ।

तपाईंहरूले खुलेआम पैसा र पावर नलगाई सायदै कुनै सरकारी काम सम्पन्न गर्नुभएको होला । खुले आम भएका भ्रष्टाचारका काण्ड, दण्डहीनता र अपारदर्शीताले जनता आजित छन् । यतिबेला जनअसन्तोषका आवाजहरू यत्रतत्र उठेका छन् । लाखौं जनताको लामो संघर्ष र हजारौं सहिदहरूको बलिदानीले प्राप्त भएको व्यवस्थामा केवल सिमित नेताको रजाइँ चलेको छ ।

जसका कारण यो व्यवस्थाकै विरुद्ध प्रतिगामी तत्वहरूले शिर उठाउन खोजिरहेका छन् । तपाईंहरूले देख्नुभएको छ, शिक्षकको सडक आन्दोलन शुरु भएको बिसौं दिन कटेको छ । पचासौं हजार शिक्षकहरू सडकमा आएको आन्दोलनलाई केपी ओलिले शुरुमा भयंकर बेवास्ता गरे र पछि क्रमशः खिसिट्युरि गर्न थाले । जसको परिणामस्वरुप शिक्षामन्त्रीले राजिनामा बुझाउनु पर्‍यो, लाखौंलाख विद्यार्थीको भर्ना अभियान रोकियो, परीक्षा र परीक्षाका कापीहरू यत्तिकै थन्किएका छन् र विद्यालयका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प छन् ।

बैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा स्थगित हुने संघारमा पुगेको छ । तर, पनि सरकार जिम्मेवार देखिएको छैन । कक्षा १२ को परीक्षा स्थगित हुनु भनेको विद्यार्थीको भविष्यमाथी ठूलो खेलवाड हुनु हो तर सरकारको रवैया यस्तो छ मानौँ, परीक्षा नसार्ने हो भने एमालेले आयोजना गरेको बैशाख ११ गतेको युवा सम्मेलन सफल हुनेछैन । लाखौं विद्यार्थीको भविष्य भन्दा एमाले र सरकारलाई बैशाख ११ गतेको कार्यक्रमको बढी चिन्ता छ ।

अनि जसले लाखौं विद्यार्थीको भविष्यलाई अन्धकारमा धकेल्ने काम गरिरहेको छ, उसैका पछि दगुर्नुपर्ने वाध्यता हामीलाई किन आइपरेको छ ?  

नेपाल चरम आर्थिक संकटमा पुगेको छ । निर्माण कार्यका भुक्तानी दिन गाह्रो भएको छ । क्यालकुलेटरमा समेत अट्न नसक्ने सार्वजनिक ऋण पुगेको छ । सहकारी  सञ्चालकरूले सहकारी ठगेर भागेका छन् । विमानस्थल निर्माणमा दशौं अरव भ्रष्टाचार गरिएको कुरा आएका छन् । प्रदेश सरकारहरू बजेट नभएर छटपटिएका छन् । पैसा अभावले शिक्षकका माग सम्बोधन हुन सक्दैन भनिएको छ ।

शिक्षक-कर्मचारीको तलव काटिएला तर नेताहरूको खर्च कटौती गरेको सुनिन्न । जतिसुकै चरम आर्थिक संकटमा पनि तपाईंले कहिल्यै यी नेताले आफ्नो खर्च कटौती गरेको देख्नुभएको छ, सुन्नुभएको छ ?  

एमालेले आयोजना गरेको कार्यक्रममा जानका लागि तयार हुनुभएको तपाईंमध्ये कैयौं जना यहि हप्ता वा महिनामा विदेश जाने भिजा कुरेर बस्नुभएको होला । त्यो नभए विदेश जानका लागि प्रक्रिया गर्दै हुनुहुन्छ होला, त्यति पनि नभए अब विदेश जानुपर्छ भन्ने मानसिक तयारीमा हुनुहुन्छ होला । यसो सोच्नुस् त, तपाईं यो देशमा बस्नै नसक्ने वातावरण कसले बनाइदियो रु बारम्बार सत्तामा भएका यी एमाले, काङ्ग्रेस र माओवादीले नै होइन र ?  साथीहरू तपाइँलाई थाहै छ, नेपालमा २०६२-६३ को जनआन्दोलनले गणतन्त्र आयो । 

गणतन्त्र पश्चात् झण्डै तीन दशकमा एउटा हातका औंला जत्ती सिमित मान्छेको वरपर राज्यसत्ता घुमिरहेको छ । आज जसको वरपर राज्यको केन्द्रीय सत्ता छ उ एक पटक, दुई पटक, तीन पटक, पाँच पटक प्रधानमन्त्री भैसकेको छ । हेर्नुस् त, पाँचपाँच पटक प्रधानमन्त्री भएको मान्छेले आफ्नो उपचारको सामान्य फलोअप गर्न विदेश जान्छ । 

पाँचपटक प्रधानमन्त्री भएर एउटा गतिलो अस्पताल बनाउन नसक्नेले देश बनाउने कोरा कल्पनामा अझै यो जीवन खेर फाल्न अहिलेको पुस्ता तयार छ त रु के तपाइँलाई अझै पनि लाग्छ,जसलाई फेरि यो देशको कार्यकारी पद बुझाउनका लागि हामी लडिरहेका छौँ, उनीहरूको नेतृत्वमा तपाइँ हाम्रा साझा आवश्यकता पूरा हुन सक्छन् ? अब अझै यिनीहरूले हाम्रो लागि के गर्न बाकीँ रह्यो, जसका लागि हामीले यिनीहरूलाई फेरि सत्तामा पुर्‍याउन चाहन्छौं  ?

प्रिय युवा तथा विद्यार्थी साथीहरू, एमाले अहिले सरकारको नेतृत्व गरेको दल हो र एमालेका अध्यक्ष केपी शर्मा ओलि देशको प्रधानमन्त्री छन् । उनले आफ्नो कुरा राख्ने ठाउँ नपाएको वा मिडिया कभरेज नभएको त्यसकारणले यस्ता कार्यक्रमहरू आयोजना गर्नुपरेको भन्ने त छैन । अथवा उनले यस्ता कार्यक्रमहरूमार्फत् नयाँ कुरा गर्लान् वा उद्यमशीलताका कार्यक्रम घोषणा गर्लान् भन्ने पनि होइन । 

फगत उनका भद्दा गाली, उखान र विपक्षीलाई गरेको खिसिट्युरी सुन्नलाई राज्यको लाखौं रकम खर्च गरेर यस्ता कार्यक्रमहरू आयोजना गरिदैँ छ । त्यसोभए सत्ताले जनतालाई सडकमा उतार्नुको कारण केहो, औचित्य केहो रु देशमा त्यस्तो के आपत आइलाग्यो जसले गर्दा सत्ताले जनतालाई सडकमा उतार्दै दगुर्नुपरेको छ ?  सरकारले त जनतालाई डेलिभरी दिने हो, जनताको असन्तुष्टिलाई सेवामार्फत् सम्बोधन गर्ने हो । तर केपी ओलि उल्टो बाटो हिँडेका छन् । कुनै काम गर्न नसकेपछी शक्ति प्रदर्शन गर्दै हिँडेका छन् । 

उनलाई काम गर्न रोकेको कसैले र केही कुराले थिएन तर राजावादीको गतिविधि बढेको भन्दै एमालेले गरेको कथित जागरण सभामा उनले एकलाख युवा-विद्यार्थी उतारेर विपक्षीलाई आफ्नो शक्ति देखाइदिने घोषणा गरेका थिए । साथीहरू, अरूलाई आफ्नो शक्ति देखाइदिने गरेर हामीले कहिलेसम्म भरौटे बन्ने ? अरूका लागि सत्ता टिकाउने अस्त्र बनेर युवा कहिलेसम्म चुप बस्ने ?  सत्ताले युवा र विद्यार्थीलाई फगत एउटा भिड सम्झेको छ, त्यही भिड देखाएर आफ्नो पछाडी त्यति ठूलो भिड छ भनेर मख्ख पर्छ र विपक्षीलाई खिसिट्युरी गर्छ ।

प्रिय विद्यार्थी तथा युवा साथीहरू, सत्तासङ्ग प्रश्न गरिन्छ र गर्नुपर्छ अन्यथा सत्ता निरंकुश हुन्छ । सत्तासङ्ग प्रश्न गर्ने जमात नै युवा हो । तर हामीलाई सत्ताले प्रश्न गर्न होइन, आफ्नो पछाडी भिड देखाएर सत्ता टिकाउन उपयोग गर्ने खेलमा लागेको छ । बैशाख ११ गते एमालेको कार्यक्रम बिचार बिहिन युवाको भिड देखाउने सभा हो, यो कुनै उत्सव होइन, यो कुनै जागरण होइन । के हामी त्यस्तो सत्ता टिकाउन साक्षी बन्न तयार भएका हौं ?  सत्तालाई प्रश्न गरेर युवा हुनुको औचित्यता पुष्टि गर्ने हो कि सत्ताको हरेक आज्ञालाई पालन गरेर दास बनिरहने  निर्णय हाम्रै टाउकोमा छ । 

रोजगारी सिर्जना गर्न नसकेको अवस्थामा सत्ताले कुनै न कुनै तरिकाले युवा र विद्यार्थीलाई ब्यस्त राख्न खोजिरहेको छ र सडकमा बोलाइरहेको छ ताकी सत्ताका विरुद्ध सोच्ने र प्रश्न गर्ने समय नमिलोस् । युवाले यस्तो सरल कुरालाई नबुझेर सत्ताको महकमा बग्दैबग्दै जानूभन्दा ठूलो प्रतिगामी कुरा के होला ?  के इतिहासले हामीलाई कहिल्यै माफ गर्ला ? कुनै पनि सत्ताको आह्वानमा हुने यस्ता कार्यक्रमहरू बहिष्कार गरिनुपर्छ । 

युवालाई दास बनाउन खोज्ने सत्ताहरू ढालिनुपर्छ । सत्ताले सधै याद राखोस्, सत्ता सडकमा निस्केर प्रदर्शन गर्ने होइन, डेलिभरी दिने हो । डेलिभरी दिन नसकेको हरेक सत्तासङ्ग युवाले प्रश्न गर्छन् तर डेलिभरी दिन नसक्ने र भ्रष्ट सत्तालाई जोगाउनका निम्ति मतियार बन्दैनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।