ताजा अपडेट »

इभिनिङ वाकमा निस्केका दुई विदेशी युवती काभ्रेमा लुटिए, लुटपाटमा संलग्न ३ किशाेर पक्राउ

बुधबार, ०९ असोज २०८१, २१ : ५४
134 Shares
बुधबार, ०९ असोज २०८१
134 Shares

काभ्रे । धुलिखेल अस्पतालमा इन्टर्नसिप गर्न आएका दुई विदेशी युवती काभ्रेमा लुटिएका छन्। मंगलबार साँझ बनेपा नगरपालिका- ६ भ्युटावरस्थित १६ सय सिँडिमा इभिनिङ वाकमा निस्केका अन्दाजी २८ वर्षीया इटालियन नागरिक मार्टिन र अन्दाजी २६ वर्षीया जर्मनी नागरिक एलेक्स जेन्ड्रा लुटिएका हुन। 

तिन जना किशाेरहरूले चक्कु देखाउँदै उनीहरुको साथमा रहेको आइफोन एकथान, स्मार्टवाच एकथान, डेबिड कार्ड एकथान, क्रेडिटकार्ड एकथान लुटेका थिए। लुटपाट गर्ने ती तीनजना किशोरहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।  चक्कुदेखाउँदै लुटपाट गरेको आरोपमा ती तीनजना किशोर  काभ्रे बाट पक्राउ परेका हुन्।  लुटपाटपछि ती किशोर जंगलतिर भागेका थिए। उनीहरुको साथबाट लुटेका सबै सामान प्रहरीले बरामद गरिएको जनाएको छ। 

लुटिएपछि विदेशी युवतीले ती किशोरको हुलियासहित प्रहरीलाई खबर गरेका थिए। १ जना युवकले कानमा मुन्द्रा लगाएको र २ जनाले साइडमा कपाल झारेको हुलियाको आधारमा खोजी गर्ने क्रममा उनीहरुलाई बनेपा नगरपालिका- ७ उग्रचण्डि पेट्रोलपम्प पछाडीबाट सोही राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेहरूमा नवलपरासी घर भइ हाल काभ्रेको बनेपा नगरपालिका- ६ सान फर्निचरमा काम गर्ने २० वर्षीय हरि चौधरी, रामेछाप सुनापाती गाउँपालिका घर भइ हाल बनेपा- ९ जनागाल बस्ने वर्ष १७ का सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका- ९  सुनथान बस्ने वर्ष १६ का उज्वल दाहाल रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले २ वटा चक्कु र अन्दाजी आधा पाउ जति गाँजासमेत बरामद गरेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।