ताजा अपडेट »

सुदूरपश्चिममा प्रदेशमा मुख्यमन्त्री सोडारीले सरकारलाई पुर्णता दिदै, मन्त्रालय टुक्राउने विषयले गठबन्धन भित्रै असन्तुष्टि

सोमबार, २८ जेठ २०८१, ०८ : २३
70 Shares
सोमबार, २८ जेठ २०८१
70 Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सरकारलाई पूर्णता दिने तयारी थालेका छन् । मुख्यमन्त्री सोडारीले एमाले, माओवादी र स्वतन्त्र एक सांसदलाई मन्त्री बनाउने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।सरकारमा सहभागी हुन एमालेले मन्त्रीहरूको नाम टुङ्गो लगाइसकेको छ भने माओबादी मन्त्रीहरुको भोली बिहान सम्म टुङ्गो लगाउने जनाएईको छ । स्वतन्त्र सांसद पनि उपयुक्त जिम्मेवारी पाएमा मन्त्री बन्ने लाइनमा रहेको बताईएको छ । 

एमाले स्रोतका अनुसार मन्त्री बन्ने लाइनमा सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की छन् । पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको दाबी छ भने अन्य दुई जनाको मन्त्रालय टुङ्गिएको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर मन्त्रीहरूको भागबन्डा पुराउने तयारीमा मुख्यमन्त्री सोडारी रहेको स्रोतको दाबी छ ।

एमालेले मन्त्रीको टुङ्गो लगाउँदा माओवादी केन्द्रमा भने अझैसम्म विवाद साम्य भएको छैन । माओवादी केन्द्रले दुई मन्त्रालय पाउने र त्यसमा ओम विक्रम भाट सरल र अक्कल रावललाई मन्त्री बनाउने तयारी थियो । तर, हिजो बसेको संसदीय दलको बैठकमा माओवादीबाट सबैजसो सांसदले मन्त्रीको आकाङ्क्षा देखाएपछि नाम टुङ्गो लगाउन समस्या भएको बैठकमा सहभागी भएका माओवादीका एक सांसदले बताए । ‘खगराज भट्टबाहेक सबैले मन्त्रीको आकाङ्क्षा राखेपछि सहमति भएन’ उनले भने, ‘भोली संसदीय दलको नेताले टुङ्गो लाउनु हुन्छ नभए इन्चार्जले गर्नुहुन्छ ।’

माओवादीबाट रमेश धामी, ओम विक्रम भाट सरल र लक्ष्मी विक मध्ये एक जना मन्त्री बन्ने छन् भने शिव ओली, झपट साउद र अक्कल रावल मध्ये एक जना मन्त्री बन्ने छन् । यता मन्त्री बन्नेहरूले तयारी थालिरहेका बेला उता मन्त्रालय फुटाउने विषय थप पेचिलो बन्ने देखिन्छ । सत्ता गठबन्धनमै रहेको केही सांसदहरूले यस विषयमा असन्तुष्टि जनाएका छन् ।

सरकारले भौतिक पूर्वाधारलाई फुटाएर सहरी ऊर्जा खानेपानी तथा सिचाई मन्त्रालय, सामाजिक विकास फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर वन वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग पर्यटन मन्त्रालय बनाउने तयारी थालिएको छ । ‘मन्त्री बनाउन मन्त्रालय फुटाउने कुरा ठिक होइन यसको विरोध आउन थालिसकेको छ’ स्वतन्त्र सांसद डा.तारा जोशीले भने ‘अहिले खर्च बढाउने गरि मन्त्रालय बढाउने कुराले राम्रो होइ ।’

जोशीलाई पनि सरकारमा ल्याउने गरि मन्त्रालय फोड्ने तयारी भइरहेको बारे उनले आफू सत्ता पक्षमै बस्ने तर, मन्त्रालय फोडेर मन्त्री बन्ने पक्षमा नरहेको बताए । उनले अरू केही सांसदहरूले पनि यसको विरोध गरिरहेको जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।