ताजा अपडेट »

नागरिक उन्मुक्ति पार्टीका दु:ख !

विहीबार, १० जेठ २०८१, १३ : ०९
346 Shares

नारायण खनाल 
शिशिर ऋितुको अन्त्य र बसन्त ऋितुको आगमन सँगै एकातिर तराई–मधेशका जिल्लाहरुमा अत्यन्तै गर्मी र तातो हाबाहुरी सुरु भएको छ । यस पटक लामो खडेरी परेकाले पनि  ‘लु’ अथवा ओलोको जोखिम त्यत्तिकै बढेको छ । राष्ट्रिय तथा स्थानीय सामुदायिक वनहरुमा वर्षेनी  हुने आगलागी र डढेलोको कारण यहाँको जनजीवन ज्यादै बिषालु र प्रदुषित बनेको छ । तराई–मधेस मात्रै होइन यस पटक हिमाली र पहाडी जिल्लाहरुमा आगलागी र डढेलोको कारण मानवीय र भौतिक क्षति बढी भएको  देखिन्छ ।  पतझड मौसम सुरु भए सँगै पुराना पातहरु झर्ने र नयाँ पालुबाहरु पलाउन बारिस हुनुपर्छ तर  यस पटक मनसुन अत्यन्तै ढिलो र थोरै मात्रामा भएकोले पनि वनजङ्गल र रेजिडेन्ट बस्तीहरु बारिस बीनाका बन्जर  भुमि बनेका छन् ।

वनजंगलको तुबालोको कारण पुरै जनजीवन बिषालु र प्रदुषित बनेको छ । वर्षेनी देशका  विभिन्न भागहरुमा हुने आगलागी र डढेलोको कारण हुने मानवीय र भौतिक क्षतिका अलावा प्राकृतिक बातावरणमा हुने हानी नोक्सानी र त्यसबाट आम नागरिकको जीवनमा पर्ने दुरगामी नकारात्मक असरका सबालमा कुनै संवेदना ,चासो , सरोकार र रुचि  काठमाडौंको  प्रभुत्व शासक वर्गमा  भएको पाइदैन । काठमाडौंको शासक बर्गले  समाजको सबैभन्दा तल्लो इकाइमा बस्ने आम नागरिकहरुलाई अहिलेसम्म  बाडेंको  सिर्फ शोषण, दमन, अन्याय , अत्याचार , भोक, रोग , दुःख, कष्ट ,अभाव ,गरिबी , अशिक्षा, अपमा , उपेक्षा, बेइमानी ,ठगी ,झुट, धोका , जालझेल ,तिकडम ,छलछाम , कुशासन  भष्टचार , बेथिति र बिसंगति र नागरिक  उपहास मात्रै  हो । राज्यले बास्तबमा  सार्वभौमसत्ता आफ्नो  देशको नागरिकलाई  कहिल्यै पनि नागरिक नै ठानेन ,हमेशा आफूलाई केन्द्रमा राखेर सोच्यौँ । जब राज्ले सबैभन्दा पहिला आफूलाई केन्द्रमा  राखेर सोच्न थाल्छ त्यो बेला आम नागरिकको बिषय तपशिलको बन्न पुग्दछ । 

वन जङ्गलमा लागेको  आगो वा डढेलोको कारणले  प्राकृतिक वातावरण जति धेरै प्रदुषित र बिषाक्त बनेर आम मानिसहरु निश्सासिने अबस्था बनेको छ ,त्यो भन्दा हजारौं  गुर्णा बढी बिगत साढे तीन दशकदेखि यता काठमाडौंको प्रभुत्व शासक वर्गले गर्दै आएको फोहरी राजनीतिका कारण मानिस हरु बर्षो देखि  निश्सासियर देश भित्र बाँच्न बिबश छन । यश  फोहरी राजनीति लाई पुरै बढारेर मैदान सफा गर्नुपर्ने  आवश्यकता छ । यो कुरा प्रकृति बिज्ञानमा मात्रै सत्य होइन समाज बिज्ञानमा पनि उत्तिकै  लागू हुन्छ । पुराना चीजबीजहरुको ध्बंस र नयाँ चिजबिजहरुको निर्माणमा सचेतन पक्षको महत्त्वपूर्ण  भुमिका  हुन्छ र हुनुपर्छ । उदाहरणका  निम्ति  जङ्गलमा खसेका पातपतिङ्गर र घुसानहरु एक दिन त आफै पनि सडेर गलेर सकिन्छ तर आगोले त्यसलाई छिट्टै भस्म खरानी पार्न सकिन्छ । हामीले देशको खराब र फोहरी राजनीति  लाई भस्म खरानी पारेर त्यसको स्थानम सफा र असल राजनीतिको जग हाल्नु पर्ने आवश्यकता छ ।

यसो नगरीकन देशको अर्थतन्त्र ,समाज ,सांस्कृति र अन्तर्राष्ट्रिय  सम्बन्ध राम्रो बनाउन सकिने कुनै संभावना  देखिन्न । यसै भावभुमिमा हामीहरुले बिगत केही समयदेखि यता देशमा नागरिक पहिलो अभियान मार्फत देशवासीसँग नयाँ परिस्थितिमा नयाँ बहसलाई सघन बनाउँदै आएको कुरा जगजाहेरै छ । यसै शिलसिलामा यसै हप्ता लुम्बिनी  प्रदेशका राप्ती  पश्चिमका  जिल्लाहरु जसमा दाङ्ग ,बाकें ,बर्दिया  लगाएतका स्थानहरुमा अभियान्ता सुरेन्द्र चौधरी र मैले व्यापक जनभेटभाट गर्यौ । त्यस प्रकारको भेटघाटको  दौरानमा हामीले  परम्परागत  संसदवादी राजनैतिक दलका नेता तथा कार्यकर्ता, गत निर्वाचनको  दौरानमा उदयमान रास्वपा ,र नागरिक  उन्मुक्ति  पार्टीका  नेता तथा कार्यकर्ता , बुद्धिजीवी ,संचारकर्मी ,निर्माण व्यवसायी संघका अलावा स्वतन्त्र व्यक्तिविशेषहरु सँग सात्क्षत्कार गर्ने अवसर जुरेको थियो । त्यस प्रकारको  जनभेटको दौरानमा भएको  अनुभुतीहरु लाई बुंदागत रुपमा यसरी समेटिएको छ ।

पहिलो, देशमा परम्परागत राजनैतिक दल र राजनीतिबाट मुलुकमा सुशासन र समृद्धिको ऐतिहासिक कार्यभार पूरा हुनेछ भन्ने कुरामा स्वयम् सम्बन्धीत पार्टीका  नेता तथा कार्यकर्ताहरु पनि नरहेको तर ,एउटा विश्मासिलो र भरपर्दो  बिकल्प तत्काल मैदानमा  नदेखिएकाले आफूहरु निर्णायक रुपमा सम्बन्ध बिच्छेद  गरिनसकेको अनुभुती भयो ।

दोश्रो , नयाँ भनिएका दलहरु जसमा रास्वपा ,नागरिक उनमुक्ति पार्टी र जनमत पार्टीहरु नयाँ दल भए पनि  एउटा भरपर्दो , विस्वसनीय वैकल्पिक राजनैतिक दल नभएको जुन आँशका गरिएको थियो । पुरानै सत्तासँग भागबन्डा गरेर भान्सा गर्ने स्थानमा पुगिसकेकोले उनीहरु प्रति आम नागरिक मात्रै होइन उनीहरुकै अधिकाशं नेता तथा कार्यकर्ता हरु पनि मानसिक रुपमा विक्षिप्त  अबस्थामा  रहेको पाइयो । कतै यी पार्टीमा लागेर गल्ती गरियो कि भन्ने लघुताभाष प्रकट भएको पाइन्छ ।

तेस्रो , हामीले यस अबधिमा सबैभन्दा बढी नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भेट्यौं । यहाँ  स्मरणीय  कुरा के छ भने देशमा संबिधान सभाबाट नयाँ संबिधान जारी भए पछि  देशको पहिलो आम निर्वाचनमा ,बहुचर्चित  कैलालीको टिकापुर बिद्रोहका नायक भनिएका  रेशम चौधरी  जेल बाटै उम्मेदवारी  दिएर बिजय भएको भए पनि  राज्यले जेल बाट रिहा गर्न र संघिय सांसदको सफद ग्रहण नै नगराएको संन्घर्बमा  कुनै बेला सयुंक्त राष्ट्र संघको कार्यलयमा काम गरेका  सुरेन्द्र चौधरी  पहलमा रेशम चौधरीको रिहाइका लागि  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  स्तरमै अथक  पहल भएको  थियो । 


तर , उनलाई  त्यो बेला छुटाउन संभब नभए पछि  उनी जेलमा रहेको बेला  रेशम चौधरीको रिहाइ ,पहिचान र राजनैतिक  अधिकारको मुद्दालाई स्थापित  गर्नका निम्ति  अभियान्ता सुरेन्द्र चौधरी कै सक्रिय पहलकदमीमा दोश्रो आम निर्वाचनको पूर्व सन्ध्यामा नागरिक  उन्मुक्ति  पार्टीको गठन र घोषणाका अलावा  त्यो पार्टीले  निर्वाचनमा भाग लिएको र संघ र प्रदेशमा  उत्शाहजनक  सिट र  प्राप्त गरेको थियो । त्यो बेला त्यो पार्टीले त्यति धेरै सिट जित्नुका साथै त्यति धेरै मत ल्याउनुको पछि निम्न कारणले काम गरेको थियो । एक, रेशम चौधरी प्रतिको सहानुभूति । दुई ,पहिचान र राजनैतिक  अधिकारको प्रश्नमा अल्पसंख्यक थारु जाति माथि राज्यद्वारा गरिएको विभेद , उपेक्षा र अपमान । 

तीन ,देशका  परम्परागत संसदबादी राजनैतिक दलहरुको बिकल्पमा नयाँ वैकल्पिक राजनैतिक दलको  खोजि र निर्माणको  जनआकांक्षा । यी नै ती ऐतिहासिक कारणहरु थिए । नागरिक  उन्मुक्ति  पार्टीको  जन्म र विकासका लागि ।  तर ,यो पार्टी पनि माथि नै भनियो पुरानै  सत्तासँग बार्गेनिङ गरेर किचन पार्टनर बन्न पुग्यो । यस परिघटनाले कन्चनपुरदेखि काकँरभिडाँसम्मका थारु मतदाताले  आफ्नो मतको पुरै अपमान भएको  रुपमा  लिएको  पाइन्छ भने अर्कोतिर  स्वयम्  त्यो  पार्टीका  संस्थापक अध्यक्ष रेशम चौधरीले जेलबाट आम माफि मागेर निस्केसँगै उनी प्रतिको मतदाता ,समर्थक ,सुभ चिन्तकका अलावा त्यो पार्टीका  पुरै नेता तथा कार्यकर्ता हरुको मनोबल घटाउनुका साथै  उनी प्रतिको पूर्व दृष्टिकोणमा  पुरै परिवर्तन भएको थियो  । कुरा यही सिमित छैन,  जब सम्मानित सर्वोच्च अदालतले महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशम चौधरी र उनले  नेतृत्व गर्दै आएको १९५ सदस्य केन्द्रीय समितीलाई  कानुनत अबैध ठहर गर्दै फैसला  सुनाउदै उनलाई एउटा अभियुक्त मान्दै उनले गर्ने कुनै पनि सार्बजनिक जीवनका कार्य अवैधानिक हुने फैसला  सुनाउँदै त्यो पार्टीको रन्जिता श्रेष्ठले नेतृत्व  गरेको २१ सदस्य केन्द्रीय समितिले मान्यता  प्राप्त गरे पछि त्यो  पार्टीका बाँकी सम्पूर्ण सदस्यहरु यतिबेला बेबारिसे बनेका छन् ।

त्यो पार्टी माथि राज्यको पुरै नजर भएकोले गएको निर्वाचनको दौरानमा हाम्रो छोरो जेलमा छ । छोरो लाई छुटाउने वा जेलमै सडाउने भन्ने भावसहितको एउटा भिडियो किलिप बनाएर गाउँ गाउँमा अहोरात्र चुनावी क्यापियन चलाएको कुरा बर्दियाका पुराना राजनितिज्ञ केशबराज पौडेलले बताउनु भयो । त्यस यता न कुनै बैठक छ ।न कुनै  प्रशिक्षण छ ।न कुनै सर्कुलर छ । न कुनै भेला छ । छ त ,त्यो पार्टी भित्र सिर्फ लोग्ने स्वास्निीको घर झगडा र दिनदिनैको कचिङ्गल । त्यो पार्टीमा  अहिले न त  पहिचानको मुद्दा छ ,न त राजनैतिक अधिकारको । छ त केबल   पद , रुपैयाँ र शक्ति संघर्षको । यसका  लागि  रेशम र रन्जिता दुबै गुट सक्रिय  देखिन्छन् ।  

यस पार्टी निर्माण ,घोषणा र निर्वाचनको दौरानमा अपेक्षाकृर्त राम्रो परिणाम ल्याउनका निम्ति हाड छाला घिसारेका सुरेन्द्र चौधरी ले यो पार्टी नै परित्याग गरेकोले  उनलाई  अभिभावक मानेर यो पार्टीमा  लागेका अधिकांश नेता तथा कार्यकर्ता हरु रेशम चौधरी र रन्जिता श्रेष्ठको  कोपभाजन पार्टी परेको  निष्कर्ष सहित  अलि परै बसेर यस भित्रबाट नयाँ विकल्पको तयारी  गर्नुपर्ने  कुरामा जोड दिइरहेको  पाइन्छ । सम्मानित सर्वोच्चअदालतको  पछिल्लो  फैसलाले  ज्यादै बिक्षिप्त मनोस्थिति र मनोदशामा रहेका रेशम चौधरी कै कारण पार्टीले ज्यादै  अफ्ट्यारो  परिस्थितिबाट गुज्रिरहेको विश्लेषकहरुको तर्क पनि  रहेको पाइन्छ ।नागरिक  उन्मुक्ति  पार्टी  भित्रको तनाव र मनमुटाव तथा  आक्रमण र प्रत्याक्रमणका घटनाहरुले राप्ती  पश्चिमी भेगका जिल्लाका काङ्गेस ,एमाले र माओवादीहरु केही  हदसम्म तत्काल हौसिएको भए पनि  परम्परागत राजनीतिका  लागि स्पेस धेरै कमजोर देखिन्छ ।

निष्कर्ष 
देशमा, एउटा भरपर्दो र विश्वसनिय प्रगतिशील  लोकतान्त्रिक नयाँ  शक्तिको  खोजि चौतर्फि भइरहेको नै देखिन्छ र त्यसका  लागि  दिन प्रतिदिन अनुकूल बाताबरण बन्दै गहिरहेको पनि  छ । तर , राजनीतिमा  बेलाबेलामा  देखा पर्ने नेशनालिजम , हिरोइज्म ,पपुलिज्म, प्रियतावाद र विशुद्ध जातिवादको ब्यानरमा  देखापर्ने  विभिन्न रुप रङ्गका छद्दमभेषी र स्टन्टबाजे भुल्काहरुबाट देश बनेको दुनियाँमा एउटा पनि उदाहरण छैन । यसर्थ  यस्ता  खाले बिषालु र प्रदुषित हाबा हुरी सँग आफु र  आम नागरिकहरुलाई जोगाउदै अगाडि बढनु सायद इतिहासले  सुम्पेको  अहिलेको  कार्यभार  हो । खनाल नागरिक पहिलो अभियान नेपालको केन्द्रीय कार्यदलका सदस्य हुन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।