ताजा अपडेट »

एक दिनमा कति पानी पिउन आवश्यक छ ?

शनिबार, २४ चैत्र २०८०, १४ : ००
168 Shares

दैनिक कति पानी पिउनुपर्छ भन्नेबारे धेरै अस्पष्ट सूचनाहरू छन् । दशकौँ अगाडिका दुई वटा निर्देशिकाको गलत व्याख्याका कारण यस्तो भएको हुन सक्छ। सन् १९४५ मा अमेरिकी फूड एन्ड न्युट्रिशन बोर्ड अफ न्याशनल रिसर्च काउन्सिलले मानिसहरूलाई कति क्यालोरी खाना भनिएको छ त्यो अनुसार एक मिलिलिटर पानी पिउनुपर्ने भनिएको थियो।

त्यस अनुसार महिलाले दैनिक दुई हजार क्यालोरी खान्छन् भने उनीहरूले दुई लिटर पानी पिउनुपर्ने र पुरुषले २५०० क्यालोरी बराबर खानेकुरा खान्छन् भने उनीहरूले साढे दुई लिटर पिउनुपर्ने सुझाइएको थियो। तर त्यति मात्रा पानीमा केवल पानी मात्रै नभएर हामीले फलफूल र तरकारीबाट पाइने पानी पर्छ। निर्देशिका अनुसार दैनिक पिउने पानीमा हामीले फलफूल र तरकारीबाट पाइने पानी पनि समेटिन्छ ।

हालैका अनुसन्धानहरूले सुझाए अनुसार दैनिक आठ गिलास अर्थात् दुई लिटर पानी पिउनु भनेको हाम्रो शरीरलाई चाहिनेभन्दा धेरै हो। त्यसको सट्टा हामीले दैनिक डेढ लिटरदेखि १.८ लिटर पानी पिउनु ठिक हुन्छ। तापक्रम र हाम्रो दैनिक गतिविधि अनुसार आफूले कति पानी पिउने भनेर त्यसलाई व्यक्ति अनुसार बनाउनुपर्छ।

विज्ञहरूका अनुसार गर्मी र धेरै तापक्रम भएको ठाउँमा बस्ने, उँचो स्थानमा बस्ने, खेलाडी, गर्भवती, स्तनपान गराउने आमाले अन्यले भन्दा धेरै पानी पिउनुपर्छ।

पानी पक्कै पनि महत्त्वपूर्ण छ। हाम्रो शरीरको दुई तिहाइ तौल पानी नै हो। यसले नै हाम्रो शरीरमा पोषक तत्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसार पोसार गर्छ। हाम्रो शरीरको तापक्रम स्थीर राख्छ। हाम्रा शरीरका जोर्नीहरूलाई लचकदार बनाउन आवश्यक चिप्लो पदार्थको जस्तो काम पनि गर्छ, कुनै चोट लाग्दा त्यसलाई शोस्ने काम पनि गर्छ। र हाम्रो शरीरभित्र हुने विभिन्न रासायनिक प्रतिक्रियामा भूमिका खेल्छ।

हामीले श्वासप्रश्वास, पसिना र पिसाबबाट निरन्तर रूपमा शरीरबाट पानी खर्चिरहेका हुन्छौँ। त्यही अनुसार पानीको सन्तुलन मिलाइरहनु पर्छ ता कि शरीरमा पानीको कमी नहोस्। जब शरीरको पानी १ देखि २ प्रतिशत गुम्छ तब हामी शरीरमा पानीको कमी भएको थाहा पाउन सक्छौँ। र हामीले त्यो पूर्ति नगर्दासम्म पानीको कमी खट्किरहेको हुन्छ।

दैनिक ८ गिलास पानी पिउने भन्ने वर्षौँ देखिको आधारविहीन दाबीका कारण तीर्खा लाग्ने बित्तिकै हामीमा खतरनाक अवस्थामा पानीको कमी भएको हो कि भन्ने हामी ठान्छौँ। तर विज्ञहरू भने हाम्रो शरीरले दिने सङ्केतभन्दा बढी पानी पिउनु नपर्ने बताउँछन्।


स्वस्थ शरीरमा पानी कम हुन लागेको दिमागले पत्ता लगाउँछ र तीर्खा लाग्छ। यसले एउटा हर्मोन पनि बनाउँछ जसले मिर्गौलालाई पनि जनाउ दिन्छ। ‘यदि तपाईँले शरीरमा के भइरहेको छ भनेर मनन गर्नुभयो यसले तीर्खा लागेको बारे जनाउ दिन्छ ।’ ब्लेनहिम एन्ड लन्डन ट्राइयाथलनका मेडिकल डिरेक्टर कर्टनी किप्सले भनेका छन् । पानी सबैभन्दा स्वस्थकर विकल्प हो तर चिया, कफी र केही मादक पदार्थले पनि शरीरलाई पानी दिन्छ

क्यालोरी नहुने भएकोले पानी सबैभन्दा उपयुक्त विकल्प हो तर चिया, कफी र केही रक्सीजन्य पदार्थले पनि शरीरलाई पानी दिन्छन्। यद्यपि पानी बाहेकका यी पेय पदार्थले शरीरलाई केही मन्द असर गर्ने गर्छन्।
 
धेरै पानी पिउनुले स्वास्थ्य सुधार वा वजन कम गर्न मद्दत गर्छ ?

हामी शरीरले मागेभन्दा बढी पानी पिउँदा त्यसको फाइदा पानी कम हुन नदिनुबाहेक अरू के हुन्छ भन्ने असाध्यै कम प्रमाणहरू छन्। अनुसन्धानहरूले शरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसनको सुरुवाती चरण हुन नदिँदा त्यसका केही महत्त्वपूर्ण फाइदाहरू रहेको देखाएका छन्। उदाहरणका लागि केही अध्ययनहरूले डिहाइड्रेसन हुन नदिँदा त्यसले दिमागलाई राम्ररी काम गर्न सहयोग गर्ने देखाएका छन्।

सन् २०२३ को एक अध्ययनले पानी पिइरहने गर्दा त्यसले बुढो देखिने प्रक्रियालाई सुस्त गरिदिन्छ र मुटु तथा फोक्सोको रोग हुन नदिन पनि मद्दत गर्छ भनेको छ। पानीको खपत गरिरहँदा त्यसले वजन व्यवस्थापनका लागि पनि मद्दत गर्ने कतिपय अनुसन्धानकर्ताले बताएका छन्।

भर्जिनिया पोलिटेक्निक इन्स्टिट्यूट एन्ड स्टेट युनिभर्सिटीका मानव पोषण, खाना र अभ्यासका प्राध्यापक ब्रेन्डा डेभीले पानीको खपत र वजनबारे केही अध्ययनहरू गरेकी छन्।

एउटा अध्ययनमा उनले दुई वटा समूह बनाएर दुवैलाई स्वस्थ खानेकुरा मात्रै खाना खान भनिन्। तर एउटा समूहलाई खाना खानुअघि ५ सय मिलिलिटर पानी पिउन भनिन्। जुन समूहले खानाअघि पानी पियो त्यो समूहले अर्कोले भन्दा धेरै वजन घटायो।

ती दुवै समूहलाई दैनिक १०,००० पाइला हिँड्न पनि भनिएको थियो। जुन समूहले खाना अघि पानी पियो उनीहरूले त्यसलाई राम्ररी अनुसरण गर्न पनि सके। डेभी अनुमान लगाउँछिन् यो किन भएको हो भने मन्द डिहाइड्रेसन अर्थात् १.२ प्रतिशत पानीको कमी हुनु सामान्य हो र धेरै मानिसले यसबारे महसुस पनि गर्दैनन्। तर यो मन्द खालको डिहाइड्रेसनले पनि हाम्रो मुड र ऊर्जालाई असर गर्छ।

तर युनिभर्सिटी कलेज लन्डनस्थित सघन उपचारबारेकी प्राध्यापक बारबरा रोल्स पानी पिउँदा वजन घट्ने कुरा चाहिँ खास गरी चिनी भएको अन्य कुनै पेय पदार्थको सट्टा पानी पिउने कारणले हुने बताइन्।

‘खाना खानुअघि पानी पिउँदा त्यसले वजन घट्छ भन्ने कुरा स्थापित नभएको र खाली पेटमा पानी पिउँदा त्यो छिट्टै रित्तिन्छ। तर यदि सुप जस्तो खानेकुरा खाँदा शरीरमा पुग्ने पानीको मात्राले चाहिँ पेटमा धेरै बेर बस्छ ।’ उनले भनिन्।

पानी पिउँदाको अर्को फाइदा भनेको त्यसले छालामा चमक ल्याउँछ र सुक्खा हुन दिँदैन भन्ने हो। तर यसको विश्वसनीय वैज्ञानिक आधारबारे पर्याप्त प्रमाण छैन। बीबीसी नेपाली

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।