ताजा अपडेट »

मुगुवासी गाईपालनमा आकर्षित, दूध बेचेरै मासिक ६० हजार रुपैयाँसम्म आम्दानी

मंगलबार, ०८ फागुन २०८०, १५ : ०८
98 Shares

मुगु  । हरियो टिनको छानाले छाएको टहरा । अलि भिरालो जग्गा । बाहिर काठबाट निर्माण भएका अनि बार लगाएको गाईको गोठ । त्यहि गोठमा एक दर्जनभन्दा बढी गाईहरु छन् । सदरमुकाम गमगढी बजारबाट अलि तल पुगेपछि गाईको आवाज वरपर गर्दा कानमा गुन्जिरहन्छ । दूर्गम हिमाली जिल्ला मुगुका एक दम्पतिले गाईपालनबाट सफलताका कथाहरु बुनिरहेका छन् । सानैबाट कृषि क्रान्ति गर्दै आइरहेका मुगुका शाही दम्पति पछिल्लो समय गाईपालनबाट आत्मनिर्भर बन्नुका साथै सम्वृद्धिको यात्रामा हुइँकिरहेका छन् । सामाजिक सञ्जाल युट्युब हेरेर गाईपालनमा होमिएका शाही दम्पति उत्साहपूर्वक व्यावसायिक गाईपालनमा सक्रिय रुपमा लागिपरेका छन् । 

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १ का अदानसिंह शाही । उमेरले ५० वर्ष पुगे । २०७७ सालदेखि गाईपालन सुरु गरेका शाही दम्पति पछिल्लो समय मनग्य आम्दानी गर्दै आइरहेका छन् ।  ५ वटा गाईपालनबाट कृषि पेसाको थालनी गरेका शाही अहिले १३  वटा गाई पालिरहेका छन् । 
फेन्सी पसल गरेका शाही त्यो व्यवसायबाट राम्रो आम्दानी हुने संकेत नदेखिएपछि अहिले गाईपालनमा होमिएका छन् । जम्मा १८ वटा गाईपालनसम्म गरिरहेका उनीसँग अहिले १३ वटा गाई छन् । विगत तीन वर्षदेखि गाईपालनमा होमिएका शाही दम्पतिहरुको हिजोआज दिनचर्या गाई गोरुसँग बितिरहेको छ । 

अहिले उनीहरु गाई पालन व्यवासयबाट सन्तुष्ट छन् । सामाजिक सञ्जाल फेसबुक, युट्युबजस्ता सामग्री हेरेर गाईपालनमा होमिएका शाही दम्पति अहिले सफलताको यात्रामा लम्किरहेका छन् । प्रायः सामाजिक सञ्जालले नागरिकहरुलाई नकारात्मक सन्देश प्रवाह र अफवाह, विकृति मात्र सन्देश फैदाउने गर्दा नराम्रो असर परेको छ, तर त्यहि सञ्जालले शाही दम्पतिको लागि प्रेरणाको श्रोत बन्नुका साथै सफलताको यात्रामा डोहो¥याको छ ।

 एउटा गाईले दैनिक ३ लिटरभन्दा बढी दूध दिने गरेको छ ।  उनीहरुले दैनिक २० लिटर दूध उत्पादन गर्दै आएका छन् । गमगढी बजारमा उनका दैनिक ३० भन्दा बढि नियमित ग्राहक छन् भने अन्य फुटकर पनि ग्राकह बनाएका छन् । बजारमा नियमित ग्राहकलाई ८० रुपैंया र फुटकर ग्राहकलाई प्रतिलिटर एक सयका दरले दूध बिक्री गदै आइरहेका छन् ।  सदरमुकाम गमगढी बजार लगायत आसपासका क्षेत्रहरुमा दूध बिक्री गर्न जाँदा बालबालिकाले पनि पर देख्दा दूध बाजे भनेर सम्बोधन गर्ने गरेका शाहीको भनाई छ । 

दूध बिक्रीबाट मासिक ४० देखि ६० हजारसम्मको कारोबार गर्दै आइरहेका छन् । घर खर्च, छोराछोरी पठनपाठन गाईपालनबाटै सम्हाल्दै आएका छन् । 

शाही दम्पतिले गाईपालन मात्रै होइन । कृषि तरकारी खेती पनि सँगसँगै अगाडि बढाएका छन् । मौसमी तथा बेमौसमीमा उत्पादन हुने तरकारी हरियो सागपात, काउली, धनियाँ, प्याज टमाटर जस्ता तरकारी उत्पादन गरेका छन् । तरकारी खेतीबाट पनि उनीहरु आत्मनिर्भर बन्दै गएको अदानसिंहकी श्रीमती विस्णुमाया शाहीले बताइन् । 

गाईपालन गर्दा धेरै ख्याल गर्नुपर्ने उनीहरु बताउँछन् । गाईलाई एकै समयमा खुवाउने, दुहुने समय पनि एउटै हुनुपर्दो रहेछ । उन्नत जातका गाईमा ’बाँझोपन’ हुने समस्या बढी छ । गाई समयमा बाली नहुँदा कतिपय किसान घाटा बेहोर्न बाध्य छन् । गर्भाधान गराउँदा गाईले ९० प्रतिशत बाच्छी जन्माउने सम्भावना हुन्छ । कृषि क्षेत्रमा धेरै सम्भावना रहको किसानहरु बताउँछन् । तर, राज्यको कृषिप्रतिको नीति स्पष्ट किसानमैत्री नहुनु र विचौलियाको बिगबिगीले र वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा लगानी गर्न नमान्दा सम्भावना भएको क्षेत्रमा पनि चुनौती धेरै रहेको किसानहरु बताउँछन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।