ताजा अपडेट »

संसदीय दलको नेता हटाउने निर्णय सच्याउन माओवादी सुदूरपश्चिम समितिको निर्देशन

आइतबार, १४ माघ २०८०, १० : ५८
70 Shares

 

काठमाडौँ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले प्रदेश संसदीय दललाई नेता खगराज भट्टलाई  दलको नेताबाट हटाउनले निर्णय अविलम्ब सच्याउन निर्देशन दिएको छ।  प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिएको हो ।

माघ १२ गते बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले भट्टलाई दलको नेताबाट हटाई उनको स्थानमा मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय गरेको थियाे । भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन सरकार परिवर्तन गर्ने भन्नेबारेमा ध्यानाकर्षण भएको भन्दै सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ ।

‘माघ १२ गते नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कल बहादुर रावलको अध्यक्षतामा बसी दलनेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो पार्टी परम्परा–विधिविपरीत केन्द्रीय कार्यालयको निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौँ कार्यकताका मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो। साथै संसदीय दलको समस्यालाई गम्भीरतापूर्वक लिई अविलम्ब समाधानको लागि केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल होस भन्ने आग्रह गर्ने निर्णय गरियो।’ जारी विज्ञप्तिमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।