ताजा अपडेट »
यात्रा अनुभव

बसन्तपुरको जँगल छिचोल्दै जब विष्णु पौडेल उकालो लागे..

शनिबार, २८ पुस २०८०, २० : ४९
540 Shares

बुटवल । बसन्तपुरको जँगलभित्र पहराका बाबियो समाउँदै एमाले उपाध्यक्ष विष्णु पौडेल अघि–अघि हिँड्दै गर्दा पछि–पछि केही युवाहरुसहित नेता खिमलाल भट्टराई थर्थराउँदै उक्लिँदै थिए । त्यो पङ्गतीभन्दा केही तल ढुङ्गामा आड लगाएर उकालो पहरा हेर्दै नेता चित्रबहादुर कार्की मुर्मुरिँदै थिए । पहराका ढुङ्गाहरु पनि उस्तै डरलाग्दा, टेकिएको ठाउँबाट खुट्टा उठाउँदा ढुङ्गा गुल्टिएर पछाडि आउँदै गरेका साथीहरुलाई लाग्ने डर ।  गन्तव्यमा पुग्न अझै कति समय लाग्ने हो अत्तोपत्तो छैन, बाटो कहाँ भेटिने हो थाहा छैन । तरपनि आफू पछाडि लामबद्ध भएर बाबियो समाउँदै झुण्डिएर उकालो चढ्दै गरेका नेता, युवा तथा कार्यकर्तालाई हौसला प्रदान गर्न उपाध्यक्ष पौडेलले बेला बेलामा गीतका भाका हाल्न छाडेका थिएनन् ।

केही संघर्ष, केही रमाईलो, केही नयाँ अनुभूति थियो त्यो यात्रामा सहभागीहरुका लागि । बीच–बीचमा थकान मेट्न नाचगान र कथा–कहानी सुन्दै सुन्दै शनिबार एमाले नेता, युवा, कार्यकर्ताले बुटवल–बसन्तपुरसम्मको यात्रा तय गरे । नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपाल, रूपन्देहीले पर्यटन प्रवर्द्धन गर्न भन्दै बुटवलमा आयोजना गरेको पदयात्रा (हाइकिङ) मा युवाहरुले फरक अनुभवकासाथ एमाले नेताहरुसँग यात्रा गरे । कार्यक्रमका प्रमुख अतिथि नै एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेल थिए । उनी नेता–कार्यकर्तासहित बुटवलको बमघाटदेखि पाल्पाको वसन्तपुरसम्मको उकालो चढे ।

bishnu

बुटवल–३ बमघाट स्थित लुम्बिनी केवलकारको बटम स्टेशनको गेटमा रिवन काटेर पदयात्राको उद्घाटन गरेका उपाध्यक्ष पौडेल केबलकार चढेर पाल्पा बसन्तपुरमा युवाहरुलाई पर्खिन पुग्छन् होला, भन्ने सहभागीहरुको आँकलन थियो । तर, उनी लखर–लखर अघि लागेर जँगलको बाटो सोझिए, ठूलो सङ्ख्यामा युवाहरुको टोली पनि उनी पछि पछि लागे । केही नेता कार्यकर्ताहरु बीच बाटोबाटै फर्किएर केवलकार चढेर बसन्तपुर पुगे । पदयात्राको अन्तिम विन्दु नै बसन्तपुर भएका कारण हिड्न नसक्ने नेताहरु मात्र होइन केही बलिायाबाङ्गा अल्छि युवाहरु केवुलकारमा चढेर केही मिनेटमा बसन्तपुर पुगे ।

उपाध्यक्ष पौडेल उकालो लाग्दै गर्दा फर्की–फर्की बुटवलको दृश्य मोवाइलमा कैद मात्रै गरेनन्, हिँड्दा–हिँड्दै फेसबुकमा पनि पोष्ट्याउन भ्याएका थिए । उकालो बाटोमा अघि–अघि लम्किएका उनलाई मै हूँ भन्ने युवाहरुले पनि भेटाउन हम्मे हम्मे परेको थियो । यात्राको करिब मध्यतिर पुगीसक्दा आधाभन्दा बढी सहभागीहरुको गती सुस्त हुँदै गयो । केही सहभागीहरु ढुङ्गा तथा रुख जरामा बसेर बाटो खर्च ल्याएको चाउँ–चाउँ  बुकाउँदै पानी पीउन थाले । सहभागीहरुको गती र क्षमता अनुसार फरक–फरक समूह विभाजन हुन थाल्यो । उपाध्यक्ष पौडेल भने कुनै थकानविना लखरलखर अघि बढीनैरहे । पछाडि परेका साथीहरुलाई बोलाउँदै हौसला प्रदान गर्न उनीहरुका तस्विर कैद गर्दै, सेल्फी हान्दै अघि बढीरहे । उनलाई पछ्याउँदै केही युवाहरु भने स्याँस्याँ–फ्याँफ्याँ गर्दै सँगसँगै हिँडेर साथ दिइरहेका थिए । यसरी साथ दिनेमा युवा संघ रुपन्देहीका अध्यक्ष बिकास बस्नेतसहितका युवाहरु मात्र थिएनन् एमालेका पाका नेता मध्येका केन्द्रीय सदस्य खिमलाल भट्टराई र जिल्ला नेता चित्रबहादुर कार्की पनि थिए । सँगै हिँडेका एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र के.सी., रुपन्देही प्रचार विभाग प्रमुख हितराज पन्थी, एमाले केन्द्रीय सदस्य गोमादेवी आचार्य, प्रेस चौतारी केन्द्रीय सचिव प्रदिप आचार्य, प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल, कोषध्यक्ष दिनेशकुमार श्रेष्ठ, हुमराज भुसाल, मदन भण्डारी स्पोर्स्टका अध्यक्ष धुर्व आचार्य, पत्रकार सुमन अधिकारी, एमाले युवा नेता गोपाल राना लगायतका व्यक्तिहरु पछि परिसकेका थिए ।

अघि अघि लम्किएको टोली उकालो चढ्दै गर्दा बसन्तपुर पुग्ने बाटो कुन हो अलमलमा पर्यो । सहभागी सबै तितरवितर भएर बाटोको खोजी गर्दै उकालो चढ्ने क्रम भने जारी नै थियो । केही गरे पनि बाटो नभेटिएपछि उपाध्यक्ष पौडेलले सबैलाई एक ठाउँमा जम्मा गराएर शान्त हुन आग्रह गरे । सबै शान्त भएपछि २०३९ सालको स्मरण गर्दै कहाँनी सुनाउन सुरु गरे । ‘२०३९ सालमा म र धनेद्र घिमिरे कामरेड पूर्वी पाल्पाको जँगलमा यसैगरी हरायौं । औषीको रात थियो चारैतिर अध्यारो भएपछि मैले जुक्ति लगाए, आजको रात केही नगरी अब यही सुतौं । मैले यसो भन्दै गर्दा कामरेड धनेन्द्र झन डराउनुभयो तर, मैले हौसला दिएपछि हामी त्यही आँगो फुकेर बस्यौं । भोलिपल्ट उठेर हेर्दा हामी पुग्नुपर्ने गन्त्य त त्यहीनितर (नजिकै) रहेछ ।’ पौडेलको कहानी सुनेपछि  गलल्ल हाँस्दै नेता खिमलाल भट्टराईले भने ‘लौ हामी पनि यही सुतौ ।’ एकछिनको त्यो हाँसोपछि उपाध्यक्ष पौडेलले सही बाटोमा लैजाने बाचा गर्दै आफ्नो पछि लाग्न आग्रह गरे । केहीसमय अघिसम्म हामी हिँड्दै गरेको ठाउँभन्दा उत्तर–पश्चिमतर्फ  केवुलकारको गुण्डुला झुण्डिएको देखिए पनि बाटो बिराएपछि भने अनुमान लगाउँनै गाह्रो हुने गरी विलय भयो । तर, हामी सबैलाई थाहा थियो की, हामी उकालो मात्रै चढेर पुग्दैन, केही पश्चिमतर्फ पनि लाग्नु पर्ने छ ।

बाटो खोज्दै अघि लागेका उपाध्यक्ष पौडेलले झनभन्दा झन ठूलो पहरामा डोर्याउन लागेपछि थकित भएर लत्रिरहेका नेता चित्रबहादुर कार्कीले झर्कीँदै उपाध्यक्ष पौडेलले गलत बाटो ल्याएको गुनासो गर्दै थिए । ‘हामी जानु पर्ने पश्चितर्फ तर उपाध्यक्ष कामरेडले यस्तो अनकान्टार पहरामा ल्याउनु भो ।’–मुर्मुरिँदै कार्कीले भने । पौडेलसँगै अन्य सहभागीहरु पनि पछि लागेपछि उनी पनि त्यही पहरामा झुण्डिएर यात्रा गर्नुको विकल्प भने थिएन । घाँटीमा क्यामेर झुण्ड्याएर लम्किरहेका पत्रकार ईन्त्र खत्रीले पनि पहरा पार गर्न क्यामेरा झोलामा थन्क्याएर बाबियो समाउन लागे । जसोतसो पहरा पार गरेपछि भने पहाडको चुचुरोमा पुग्नै लाग्दा केही गोरेटाहरु भेटिए । सहभागी सबैको सहास आयो ।  उक्त चुचुरमा निस्किएपछि थाहा भयो हामी बसन्पुरको कामाख्या मन्दीरभन्दा करिब ५०० मिटर पूवंतर्फको पहाडमा उक्लिएका रहेछौं । उपाध्यक्ष पौडेलसहितको टोली बसन्तपुर पुग्दा अघि पछाडि छोडिएका साथीहरु पनि हामीभन्दा पहिले नै आएर मासु भातले पेट परिसकेका थिए । केवलकार चढेर आएकाहरु पनि भोकै बस्ने कुरै भएन ।

उपाध्यक्ष पौडेलसहितको टोलीले पनि बसन्तपुरको घाम तापेर खानापनि गर्यो । केही समय औपचारिक कार्यक्रम आयोजना भयो । सो क्रममा पनि उपाध्यक्ष पौडेलले बुटवल–बसन्तपुर यात्राको स्मरण गरे । विस २०३७ सालमा पनि पौडेल बुटवलबाट हिड्दै वसन्तपुर पुगेका थिए । जतिबेला ‘जेल ब्रेक’पछि पाल्पा जाने क्रममा प्रहरी प्रशासनको आँखा छल्न आफू वसन्तपुर आएको पौडेलले बताए । ‘२०३७ भदौ १ गते हामी भैरहवा जेल ब्रेक गरेर भाग्यौं । जेलबाट निस्किएपछि रुपन्देहीबाट पाल्पा जाने शिलशिलामा हामीले दोभान प्रहरी चौकीलाई छल्नुपथ्¥र्यो,’ उनले भने, ‘अत्यन्तै सावधानीपूर्वक पाल्पाका गाउँहरूमा पुग्नुपथ्र्यो । असोजको पहिलो हप्तातिर बमघाटबाट वसन्तपुर भएर पाल्पाका गाउँहरूमा पुगेका थियौं ।’

त्यसबेला भने यात्रामा पौडेलसँग दुईजना मात्रै साथी थिए । हिरा शर्मा र नेतृ शान्ता मानवी  । ‘आजजस्तै हामीहरू बमघाटबाट उकालो चढ्यौं । झाडी र जंगल, छिचोल्दै यहाँ आइपुगेका थियौं,’ उनी थप्छन्, ‘पैदलयात्राका लागि तत्कालीन समयमा अहिलेजस्तो अनुकूलता पनि थिएन । यहाँ त्यसबेला अलि–अलि हरिया मकै पाइन्थे ।’ त्यो बेला किसानमा घरमा पसेर पोलेका मकै हरियो खुर्सानीसँग खाएर झुम्साको बाटो गएको पौडेलले अनुभव सुनाए । पौडेलले पर्यटन प्रवद्र्धनका यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने उनको भनाइ थियो । यी सम्भावनाहरूलाई सही ढंगले सदुपयोग गरेमा रुपन्देही र आसपासका ठाउँ देशकै सर्वाधिक महत्वपूर्ण पर्यटकीय केन्द्र बन्ने उनको भनाइ छ । केवलकारमा चढेर यात्रामा सहभागी हामी सबै बुटवल झर्यौ । बुटवलमा बसन्तपुरमा जस्तो रापिलो घाम थिएन, शरिर भिजाउने सीत परिरहेको थियो, चिसोले ज्यान कथ्याङग्रीने जाडो ।

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।