ताजा अपडेट »

रुसी सेनामा भर्ना भएका सय नेपाली घाइते र हराएको खबर छ ‍: परराष्ट्रमन्त्री साउद

मंगलबार, १० पुस २०८०, १५ : ३८
100 Shares

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको भन्ने उजुरी परेको बताएका छन्। रासससँग कुरा गर्दै मन्त्री साउदले करिब दुई सयजना नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशङ्का गरेका छन्। ती मध्ये सय जनाजति हराएको र घाइते भएको उनले बताएका हुन्।

‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले भने, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’

‘रुसी सेनामा नेपाली युवा भर्ना भएका र हाल केहीको मृत्यु भएको तथा केही युक्रेनमा बन्दी बनाइएको भन्ने कुरा आएको छ, यसमा सरकारले उद्धारका लागि के पहल गरिरहेको छ’ भन्ने प्रश्नमा उनले नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरु रुसी सरकारसम्म पुर्याउनका लागि स्पष्ट सन्देश दिएको बताए।

काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको बताए।‘करिब दुई सय जना काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ। त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘किन भने सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। यो संख्या दुई सयभन्दा बढी रहेको हुन सक्ने हाम्रो अनुमान छ।’ 

यससँगै युक्रेनमा बन्दी बनाइकाका हकमा आफूहरु युक्रेन सरकारको सम्पर्कमा रहेको र युक्रेन हेर्ने नेपाली राजदूतले उद्धारका लागि वार्ता संवाद गरिरहेको उनले बताए। परराष्ट्रमन्त्री साउदले इजरायलमा हमासको आक्रमणमा परी हालसम्म अज्ञात अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिरहेको दाबी पनि गरेका छन्। इजरायलमा हमासद्वारा असोज १० गते भएको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।