ताजा अपडेट »

भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

सोमबार, ०९ पुस २०८०, १३ : ४४
25 Shares

काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राहीको संख्या बढेको छ । विवरण संकलनको क्रम जारी रहेकाले संख्या अझै बढ्ने अनुमान गरिएको छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको संख्या ६७ हजार ७८० पुगिसकेको छ । यो अझै थपिने क्रममा छ । यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्यांकमा झण्डै नौ हजार थपिएका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले संख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए । सुरुमा २८ हजार लाभग्राही कायम भएको थियो । त्यसपछि चार हजार थपिएर ३२ हजार हुनपुग्यो । बढ्दै जाँदा ५९ हजार कायम भएकामा अहिले थपिएर ६७ हजार नाघेको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरामा क्षति पुर्याएको थियो । अहिले सो क्षेत्रका पीडितको अस्थायी आवास निर्माणको काम जारी छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।