ताजा अपडेट »

कलाको कमाइँ !

सोमबार, ०२ पुस २०८०, ०८ : ५४
81 Shares

अम्बरबहादुर गुरुङले आफ्नो निवृत्त जीवन काष्ठकलामा समर्पण गर्दैछन् । उनले २०५० सालदेखि काष्ठकलामा आफ्ना सीप, श्रम र समय खर्चिएका छन् । यतिबेला घरमा आफ्ना काष्ठकलाहरु कलात्मक रुपमा सजाएर राखेका छन् । आफूले बनाएका उक्त कलाहरु काठमाडौंको भृकुटीमण्डपदेखि सहरबजारमा लाग्ने औद्योगिक प्रदर्शनीहरुमा बेच्न पुराएका छन् । तर, सोचेजति आर्थिक प्रगति गर्न भने सकेका छैनन् ।

खुकुरी, खुर्पेटो, अष्ट्रिच चरा, मयुर, हलो–जुवा लगायत विभिन्न व्यक्तिलाई उनले काठमा खोपेका छन् । दुरुस्त उतारेका छन् । त्यतिमात्र हैन काठकै तरी, सिक्री लगायतका बस्तुहरु निर्माण गरेर आफूलाई काष्ठकलामा पारङ्गत बनाएका छन् । काठका केस्रा केस्रा केलाएर उनले आफ्ना सीपलाई मिहिन तरिकाले कूँदेका छन् । लाग्छ, उनको घर नै सिंगो सङ्ग्रहालय हो ।

तानसेन, पाल्पाको दरबार सङ्ग्रहालयमा सजाइएका धेरै काष्ठकलाहरु उनकै सीपबाट सजिएका छन् । यो कुरा अम्बरबहादुरले खुसीसाथ सुनाइरहेका थिए । जिल्ला अदालत, पाल्पाबाट निवृत्त भएपछि उनी २०६० सालदेखि तानसेन नगरपालिका वडा नं. ७, बर्तुङ् चाँपचौरमा स्थायीबासिन्दा बनेका छन् । उनको खास घर दाङको प्रतापकोट, नाउलामा हो । यो अहिले तुल्सीपुर उपमहानगरपालिका वडा नं. ३ मा पर्छ । २५ वर्षसम्म अदालतमा निम्नस्तरको कर्मचारी भई सेवा गरेका उनी खरिदारमा निवृत्त भएका हुन् । २०४८ सालमा अम्बरले प्युठानकी सरितासँग अन्तर्जातीय बिहे गरेका थिए । दुई छोरा र दुई छोरीका अभिभावक अम्बर र सरिताको अमर प्रेम छ ।

उनका जेठा छोरा मोहनसिंहले बर्तुङमा नास्ता पसल चलाएका छन् । कान्छा छोरा शिव, साउदीतिर सुइँकिएका छन् । जेठी छोरी शर्मिला र कान्छी पूर्णिमा, कर्मघरमा उज्यालो छर्न पुगेका छन् । पलाँती र पलाँतिनीका अनुहार देखिसकेका अम्बरकी आमा झुपीले उमेरको ८३ सरद छिचोलिसकेकी छिन् । अम्बरले काठको सुन्दर सारङ्गी बनाएर जीवनको कठिन गीत गाइरहेका छन् । काठको बन्दूकले आफ्ना गरिवीलाई तर्साइरहेका छन् । च्याउको कलात्मक चित्र काठमा कोरेका छन् । उद्यमशीलतासँग काष्ठकलालाई जोड्ने सन्देश प्रवाह गरिरहेका छन् ।

उनकी जहान सरिताले भन्दैथिइन्–बुढाको सीप त लोभलाग्दो छ । जाँगर पनि राम्रो छ । बनाएका चीजहरु बिक्री भए पैसा कमाइँ हुन्थ्यो ! गर्जो टर्ने थियो । टाढा जान सकिँदैन । घरमा किन्ने मान्छे खासै आउँदैनन् । बनाउँदै थुपारेर के गर्ने ? अम्बरबहादुरले सरिताको कुरामा सहि थप्दै भने–सर हाम्रो कलाले कहिले कमाउने होला ? एकपटक नेपाली सेनाले आफ्नो सीप, कलालाई राम्रो मूल्याङ्कन गरेको थियो । राम्रो पैसा पारेको थिएँ ।

अम्बरले आफ्नो सीप, क्षमता र हौसला नमरोस् भनेर घरेलुमा ‘अम्मर हस्तकला फर्म’ दर्ता गरे । पान नम्बर पनि लिए । दिनरात काष्ठकलामा आफ्नो समय दिँदै आएका अम्बरले जीवनमा अमर रहने कला मर्न दिएका छैनन् । अम्बरले सुनाउँदैथिए–मैले जानेको कला अरुलाई सिकाउने रहर छ । यसका लागि सम्बन्धित सरोकारवाला संघसंस्था र सरकारी निकायहरुले सहयोग गरेमा उत्तम हुने थियो ।

देशमा अम्बरजस्ता होनाहार कलाकारको ज्ञान, सीप र क्षमतालाई पुस्तान्तरण गर्न सकेमा नेपाली कलाकारहरु नेपालमै जीवित हुने थिए । अम्बर सायद अमर बन्न सक्ने थिए । बजारीकरण गर्न सकेमात्र पनि उनको जीवनमा अभावले राज्य गर्ने थिएन । खुसीको बजार थाप्ने उनको रहर मर्ने थिएन । अहिले पनि अम्बर विहानदेखि साँझसम्म आफ्नो ६६ वर्षीय जीवन आफ्नै काष्ठकलामा पोखिरहन्छन् । अतीतका पीडाहरुलाई काठमा खोपिरहन्छन् । भविष्यको सपना काठमै खोजिरहन्छन् । यसमा उनकी आमा झुपीको आशीर्वाद र श्रीमती सरिताको साथ एकनाश हौसला बनेर उभिइरहन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।