ताजा अपडेट »

शहरमा धराप बन्दै विद्युतीय पोलका तार : कहाँ हरायो व्यवस्थापन अभियान ?

विहीबार, २१ मंसिर २०८०, २२ : ३०
40 Shares

बुटवल । प्राय सन्ध्याकालिन समयमा व्यस्त हुने बुटवलको कालिका पथमा बुधबार र विहिबार लगातार दुई दिन विद्युत पोलमा आगो दन्कियो । साँझको समयमा कालिका पथस्थित कालिका मन्दिर नजिकै विद्युत पोलमा रहेको विभिन्न ईन्टरनेट प्रदायक कम्पनीका तारहरुमा एक्कासी आगो सल्किएको हो । बुधबार साँझ एक्कासी आगो सल्किएपछि नजिकै रहेको एक सहकारी संस्थामा सामान्य क्षति पुग्यो भने सोही भवनमा रहेको किराना पसलमा भाग्यबस कुनै दुर्घटना हुन पाएन ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगरको दमकल मगाएर ठूलो दुर्घटना हुनबाट रोकिएको थियो । यसैगरी भोलीपल्ट विहिबार साँझ पनि सोही ठाउँको नजिकै विद्युत पोलमा आगलागी हुँदा केही समय विद्युत अवरुद्ध भयो भने, समयमै आगो नियन्त्रणमा आउन सक्दा ठूलो क्षेति हुनबाट बच्यो । बुटवलको व्यस्त स्थान मध्यमै पर्ने कालिकापथ क्षेत्रमा मात्रै दर्जनौं ठाउँमा यसैगरि विद्युत तथा ईन्टरनेटका तारहरु कुनै पनि बेला ठूलो दुर्घटनाको कारण बन्नेगरी धराप बनेर गुजिल्टिएका छन् । यश क्षेत्रमा मात्रै नभई बुटवल, तिलोत्तमा, सैनामैना, देवदह तथा सिद्धार्थनगरसहित रुपन्देहीका अधिकांस बजार क्षेत्रको अवस्था उस्तै छ ।

एक वर्ष अघि सुरु गरिएको रुपन्देहीका मुख्य शहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापन अभियान अहिले सेलाएको छ । स्थानीय सरकारमा निर्वाचित भएपछि जनप्रतिनिधिहरुले आफूलाई चर्चामा ल्याउन सुरु गरेका विभिन्न अभियान जस्तै अव्यवस्थित तार व्यवस्थापनको काम पनि सेलाएको हो । एक वर्षअघि २०७९ कार्तिक २९ गते मँगलबार बुटवल उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख संयोजक रहने गरि बनाएको कार्यदल अहिले सुनसान प्राय छ ।

समितिले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रका तार व्यवस्थापन गर्ने, अव्यवस्थित र अनावश्यक तार हटाउने काम गर्ने निर्णय गरेको थियो । केही समय तामझाम देखाएको उक्त कार्यदलले दुई/चार थान तस्विरसहितका समाचार छापिएपछि भने गति शुन्यप्राय पारेको हो ।  

कार्यक्रममा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केबुल टिभी, इन्टरनेट सेवा प्रदायक संघ लगायतका निकायको उपस्थितिमा बनेको कार्यदल अलपत्र देखिएको छ भने स्थानीय तहका जनप्रतिनिधिहरुले पनि चासो दिन छाडेका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।