ताजा अपडेट »

रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० अर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी

शुक्रबार, २६ जेठ २०८०, १६ : ५९
32 Shares

बुटवल । रुपन्देहीमा करोडौं लगानी गरेका पर्यटन व्यवसायीहरु आर्थिक संकटमा परेका छन् । विश्वव्यापी कोरोना महामारीले संकटमा परेका उनीहरुले यसको अन्त्य भएसँगै पुनः लयमा फर्किने आशा गरेर बसेका थिए । व्यवसायीहरु विश्वव्यापी आर्थिक मन्दीसँगै मुलुकको आर्थिक संकटको मारमा परेका हुन् । यस क्षेत्रको पर्यटन बिकास तथा आर्थिक चलायमानमा टेवा पुग्नेगरी निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा अन्तर्राष्ट्रिय प्रदर्शन स्थल सञ्चालनमा नआउँदा ती योजनहरुलाई लक्षित गरी लगानी गरेका व्यवसायीहरु धरासायी हुन पुगेका छन् ।

बुटवलमै प्रदेश राजधानी समेत रहने आशामा ठूला लगानी गरेका व्यवसायीहरु राजधानी दाङ सरेसँगै ती परियोजनाहरु समेत निल्नु न ओकल्नुको अवस्थामा रहेको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । रुपन्देहीका सामान्य होटल तथा रेष्टुरेन्टदेखि तारे होटलहरु समेत पर्यटकको पर्खाइमा छन् । नाटा लुम्बिनीकी अध्यक्ष रचना भट्टराईका अनुसार नेपालमा भारतीइ पर्यटकहरुको आकर्षण बढ्दो छ । तर, राज्यको नीति र स्वयम् व्यवसायीहरु पनि अपडेट हुन नसक्दा त्यस अनुसारको प्रगति हुन नसकेको बताउछिन् । व्यवसायीहरुले सेवा सुविधालाई स्तारेन्नती गर्नुपर्ने र नयाँ–नयाँ प्रविधिमा अपडेट गर्नुपर्ने उनको सुझाब छ ।

यसैगरी भारतबाट आउने पर्यटकले खुला र स्वतन्त्र रुपले खर्च गर्न पाउने वातावरण नुहँदा पनि पर्यटकको बसाई लामो नहुने गरेको उनले बताइन् । नेपाल सरकारको नीति अनुसार भारतबाट आउने नागरिकले अधिकतम २५ हजार भारतीय रुपैयाँ मात्रै ल्याउन पाउने र उक्त रकमले पर्यटकहरु खुला र आफूखुसी खर्च गर्न पर्याप्त नभएको उल्लेख गरिन् । यसैगरी सीमा क्षेत्रबाट भारतीय नम्बर प्लेटमा आउने कतीय पर्यटकका गाडीहरुमा प्रक्रियागत कमजोरीहरु भएको अवस्थामा उचित सहजिकरण गर्नुपर्नेमा गाडी नै जफत गर्ने तथा अनैतिक रुपमा प्रहरी प्रशासनबाट असुली गर्ने प्रवृत्तिका बारेमा पनि गुनासाहरु आउने गरेको उनले उल्लेख गरिन् ।

होटर तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालका अनुसार रुपन्देहीमा पर्यटन क्षेत्र लक्षित ३० अर्ब बढी लगानी भएका छन् । आर्थिक संकटका कारण हालसम्म १० प्रतिशत बढी होटल तथा पर्यटन व्यवसायी विस्थापित भइसकेका छन् । संघका अध्यक्ष लेखनाथ भण्डारीले राष्ट्रको आर्थिक विकासका लागि मेरुदण्डको रुपमा रहेका होटल तथा पर्यटन व्यवसायीहरु नै दिनप्रतिदिन विस्थापित हुने अवस्था विकराल रहेकोप्रति चिन्ता व्यक्त गर्छन् । आर्थिक मन्दीसँगै घरधनीको चर्को भाडादर, सडक तथा पूर्वाधार निर्माणको काम समयमै सम्पन्न हुन नसक्दा अस्तव्यस्त बनेको शहर, राज्यको लगानीमैत्री नीति नहुनुले व्यवसायी विस्थापित हुने दर बढ्दै गएको उनले उल्लेख गरे ।

यसैगरी सिद्धार्थ होटल एसोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सरकारले ल्याएको नयाँ बजेटमा समेत व्यवसायीहरु खुशी हुने अवस्था नरहेको टिप्पणी गरे । यहाँका महत्पूर्ण र ठूला योजनाहरु निर्माण सम्पन्न भएर पनि सरकारको बेवास्ताका कारण सञ्चालन नहुँदा व्यवसायीहरुले त्यसको फाइदा लिनबाट बञ्चित भएको उनको बुझाई छ । होटल एसोसिएन नेपाल (हान) का केन्द्रीय सदस्य गोपाल रानाले सरकारको आर्थिक नीति र पर्यटन मैत्री नहुँदा समस्या भएको बताउँछन् । नेपालले फाइदा लिन सक्ने र सबैभन्दा बढी भित्राउन सकिने भारतीय पर्यटकहरुले घुम्ना आउँदा २५ हजार रुपैयाँभन्दा बढी रकम बोक्न नपाउने, तथा अन्य विदेश राजष्टबाट नेपाल आउने पर्यटकहरुले समेत रकम बोक्न पाउने सीमा कम हुँदा समस्या भएको उनको बुझाइ छ । यसैगरी यस क्षेत्रमा स्थापना भएका ठूला होटल तथा पर्यटन लक्षित आयोजनाहरुमा अनेकन बहानामा हुने अबरोध, आलोचना वा आक्रमणले लगानी मैत्री वातावरण नभएकोप्रति चिन्ता व्यक्त गर्छन् ।

नेपाल–भारतसँगै जोडिएको सीमानाका, विश्व शान्तीका प्रतिक भगवान गौतमबुद्धको जन्मस्थल, मुलुकको केन्द्र भागमा भएका कारण छोटो र सबै ठाउँलाई समेट्न सक्ने ट्रान्जिट पोइन्टका रुपमा रहेको रुपन्देहीले पर्यटनको क्षेत्रमा यसलाई भरपुर प्रयोग गर्नबाट चुकेको बताउँछन् बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा व्यवसायी नवराज श्रेष्ठ ।

रुपन्देहीको बेलहीयमा अवस्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो ५ महिनाको अवधिमा स्थलमार्ग हुँदे आउने पर्यटकको सङ्ख्या ३५ हजार १४ जना रहेको छ । जसमध्ये भारतीय नागरिक ८७ जना रहेका छन् । भारतीय नागरिकलाई नेपाल प्रवेशका लागि पासपोर्ट अनिवार्य नहुनेहुँदा अध्यागमन विभागमा दर्ता गराउन चाहेकाहरुको मात्रै संख्या उल्लेख गरिएको हो । यद्यपी भारतबाट आउने पर्यटकको संख्या योभन्दा बढी रहेको अध्यागमन विभागले जनाएको छ ।

यसरी भारतहुँदै नपाल आउने पर्यटकको सङ्ख्या बढी लेखिनु यहाँको पर्यटन व्यवसायीहरुका लागि त्यत िसुखद पक्ष भने होइन । भारतहुँदै आउने तेस्रो मुलुकका पर्यटक नेपालमा लामो समय नरहने र नेपालमा खर्च पनि कम गर्नेहुँदा उनीहरुलाई सिधै नेपालमै आउने वातावरणको सिर्जना गर्नुपर्ने पर्यटन व्यवसायीहरु बताउँछन् । भैरहवामा निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको अन्तर्राष्ट्रिय विमानस्थललाई सूचना गर्न सकेमा तेस्रो मुलुकका पर्यटकहरु सिधै नेपाल भित्राउन सकिने उनीहरुको बुझाई छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।