ताजा अपडेट »

स्ववियु निर्वाचन : बुटवल बहुमुखीमा कायम रहला अनेरास्ववियुको विरासत ?

विहीबार, ०२ चैत्र २०७९, ०७ : ५२
2 Shares

बुटवल । स्ववियु निर्वाचनका लागि आज चैत्र २ गते प्रचारप्रसाद गर्न पाउने अन्तिम दिन हो । चैत्र ५ गते हुने निर्वाचनका लागि विभिन्न दल सम्बद्ध विद्यार्थी संगठनहरुले चुनाव नजिकिएसँगै प्रचार प्रसार तथा चुनावी रणनीतिलाई तिव्रता दिएका छन् ।

यसैबीच लुम्बिनी प्रदेशकै पुरानो तथा विभिन्न राजनीतिक आन्दोलनहरुमा नाम जोडिएर आउने बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरु चुनावी माहौल आफ्नो पक्षमा पार्न लागिरहेका छन् । यही क्याम्पसबाट विद्यार्थी राजनीतिमा उदायका व्यक्तिहरु मुलुकको मूल राजनीतिमा नेतृत्व गर्नेतहसम्म पुगेका छन् । त्रिभुवन विश्वविद्यालयको निर्देशिका अनुसार गत फागुन ४ गतेसम्म भर्ना भएका विद्यार्थीले चैत्र ५ गते आफ्नो विद्यार्थी नेता चुन्न मतदान गर्न पाउने छन् । क्याम्पसमा हाल सात हजार एक सय ९ विद्यार्थी मतदाताको रुपमा रहेका छन् ।

यस क्याम्पसमा २०४५ सालदेखि देखिनै स्ववियुमा अनेरास्ववियुले एकछत्र गर्दै आएको छ । यो क्याम्पसमा यसपटक पनि अनेरास्ववियु आफ्नो पुरानो विरासत जोगाउने दाउमा छ । क्याम्पसमा अनेरास्ववियुले दुर्गाबहादुर एमसीको नेतृत्वमा एकल प्रतिष्पर्धामा उत्रिएको छ । लामो समयदेखि एकल रुपमा जित्दै आएको अनेरास्ववियुले यसपल्ट पनि विभिन्न शैक्षिक मुद्दा लिएर चुनावमा होमिएको छ । अनेरास्ववियुले आधुनिक र इ–लाइब्रेरीको सञ्चालन गर्ने, सम्पूर्ण विद्यार्थीको परीक्षाको निम्ति होम सेन्टरको व्यवस्था, क्याम्पसमा कम्तीमा १ जना मेडिकल कर्मचारी र क्याम्पसको छुट्टै एम्बुलेन्स सहितको प्राथमिक उपचार केन्द्र व्यवस्था, सम्पूर्ण छात्राहरुको लागि निःशुल्क सेनेटरी प्याडको ब्यवस्था, क्याम्पसको प्रशासनिक कामलाई बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्ने गरी आवश्यक कर्मचारीको ब्यवस्था लगायतका मुद्दालाई अघि सारेको छ ।

प्रत्येक संकायमा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्तिको ब्यवस्था, क्याम्पसका सम्पूर्ण कामहरु अनलाईन माध्यमबाट गराउनका लागि आवश्यक पहल गर्ने, विद्यार्थी स्वास्थ्य बिमा कार्यक्रम स्ववियु मार्फत पूर्ण रुपमा कार्यान्वयन गर्ने, सुविधा सम्पन्न छात्रावासको ब्यवस्था, परीक्षा नियन्त्रण कार्यालयको शाखा कार्यालय बुटवलमा ल्याउन आवश्यक पहल गर्ने लगायतका एजेण्डा संगठनले राखेको छ । उसले विद्यार्थीको भर्ना शुल्क एकमुष्ट बुझाउनुपर्ने बाध्यकारी नियमलाई हटाई मासिक रुपमा समेत बुझाउन पाउने व्यवस्था मिलाइने विषयलाई पनि चुनावी मुद्दा बनाएको छ ।

रुपन्देहीका केही क्याम्पसमा विवादका कारण चुनावी प्रक्रिया रोकिए पनि बुटवल बहुमुखीसहित पक्लिहवा कृषि क्याम्पस, देवदह आदर्श बहुमुखी क्याम्पस, सहिद नारायण पोखरेल रामपुर क्याम्पस, हरैया बहुमुखी क्याम्पस, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस र सरस्वती संस्कृति क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम तयारीमा विद्यार्थी संगठन जुटेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।