ताजा अपडेट »

एमाले कर्णाली प्रदेश सभामा दलको नेता बने कँडेल, माओवादी केन्द्रमा शर्मा

बुधबार, १३ पुस २०७९, १५ : ३१
25 Shares

काठमाण्डौं । कर्णालीमा सत्ता साझेदार प्रमुख २ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेका छन् । एमालेले यामलाल कँडेल र माओवादी केन्द्रले राजकुमार शर्मालाई सर्वसम्मत दल नेता चयन गरेको हो । दलको नेता टुंग्याउन बुधवार दुवै दलको बैठक बसेको थियो । 

एमाले दलको नेता कँडेल पार्टी स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज समेत हुन् । उनी यसअघि पनि प्रदेशसभा संसदीय दलको नेता थिए । अघिल्लोपटक मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा लडेका उनी माओवादी केन्द्रलाई छाड्नुपर्दा ब्याक’ भएका थिए । नेकपा विघटन भएपछि एमाले र माओवादी केन्द्र अलग–अलग हुँदा एमालेको स्पष्ट बहुमत रहे पनि तत्कालीन माधवकुमार नेपाल खेमाका सांसदको असहयोगका कारण कंडेल मुख्यमन्त्री चुनिन पाएका थिएनन् । यसपटक माओवादी केन्द्रको सहयोगमा पहिलो चरणमै उनी मुख्यमन्त्री बन्ने अपेक्षामा छन् । उनी सुर्खेत २९१० बाट निर्वाचित सांसद हुन् । प्रदेश सभामा एमाले १० सांसदसहित तेस्रो स्थानमा छ ।

रुकुमपश्चिम २ बाट निर्वाचित शर्मा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीका पूर्व अध्यक्ष हुन् । उनी जनयुद्धदेखि नै माओवादी केन्द्रमा आवद्ध थिए । पार्टीमा उनी ‘आर्ट’ नामले चिनिन्छन् । २०७४ सालको स्थानीय निर्वाचनमा शर्मा जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित थिए । दलको नेता चयन गर्न सांसदहरूको सुझाव लिन माओवादी केन्द्रले मंगलवार प्रदेश कमिटीको बैठक बोलाएको थियो । बैठकमा शर्मासहित अन्य ४ जनाले दल नेतामा दाबी गरेका थिए तर बुधवारको बैठकमा शर्मा सर्वसम्मत नेता चयन भएका हुन् । उनको यो पहिलो संसदीय यात्रा हो । प्रदेश सभामा माओवादी केन्द्रका १३ सांसद छन् ।

प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसले पनि शुक्रवार नेता चयन गरेको थियो । कांगे्रस दल नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित भएका थिए । प्रदेश सभामा कांगे्रसका १४ सांसद छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।