ताजा अपडेट »

तिहारका लागि रुपन्देहीमा भारतबाट ६० हजार माला भित्रिसक्यो

शुक्रबार, ०४ कार्तिक २०७९, ०७ : ४१
46 Shares

बुटवल । नेपालमा पुष्प व्यवसाय र उत्पादन फस्टाउँदै गएको भनिएपनि हरेक वर्ष करोडौं मूल्यका फूल तथा माला भित्रिने गरेका छन् । सबैभन्दा बढी फूल तथा मालाको माग हुने तिहारका लागि यो वर्ष पनि रुपन्देहीमा व्यवसायीहरुले भारतबाट माला भित्राइसकेका छन् । उनीहरुका अनुसार रुपन्देहीमा तिहारका लागि मात्रै करिव ६० हजार बढी माला आयात गरी सित भण्डारमा राख्ने काम भैसकेको छ ।

कोरोना महामारीले गत वर्ष कम माग भएपनि यो वर्ष फूल तथा मालाको माग बढ्नेहुँदा तिहारसम्ममा ८० हजार बढी माला भारतबाट नेपाल भित्रिने व्यवसायीहरुको अनुमान छ । सीमा नाकामा फूल आयातका लागि सरकारले केही कडाई गरे पनि विभिन्न माध्यमबाट अवैध तरिकाले समेत फूल भित्रिने गरेको व्यवसायीहरु स्वीकार गर्छन् । बेलहिया भन्सार कार्यालयले भने भारतबाट फूल तथा माला भित्राउने क्रममा अनिवार्य क्वारेन्टिन प्रमाणपत्र लगायतका कानूनी प्रक्रियाहरुलाई कडाईकासाथ पालना गराइएको बताउँछ । कार्यालयले प्लाष्टिकका फूलमाला बाहेक अन्यका लागि अनिवार्य क्वारेन्टि गरी भित्राउन दिने गरिएको कार्यालयका प्रमुख मनिराम पौडेलले बताए ।

यसरी भारतबाट भित्रिने माला प्रतिगोटा ८० देखि ९० रुपैयाँसम्म पर्ने गर्दछ । हरेक वर्ष तिहारमा रुन्पदेहीमा भारतबाट ८०/९० हजार फूलका माला भित्रिने गरेको व्यवसायी किरण श्रेष्ठ बताउँछन् । यो अवधिमा नेपाली कृषकहरुले मूल्य नपाएको तथा व्यवसायीहरुले महङ्गोमा नेपाली कृषकबाट फूल खरिद गर्नुपर्ने बाध्यता रहेको आ–आफ्नै दाबीहरु रहने गर्दछन् । यसैगरी माग अनुसार आपूर्ति तथा गुणस्तर कायम नहुँदा भारतबाट फूल माला भित्राउनु पर्ने बाध्यक्षता रहेको बुटवलका श्रेष्ठ बताउँछन् । यो समयमा व्यवसायीहरु बीचको अस्वस्थ प्रतिस्पर्धाले मूल्यमा एकरुपता नहुँदा उत्पादक, व्यापारी तथा उपभोक्ता सबै पक्षलाई फाइदा नहुने उनको गुनासो छ । विगत ८ वर्षदेखि बुटवल–९ मिलनचोकमा के.को फ्लावर एण्ड डेकोरेशन होमका सञ्चालक श्रेष्ठले यो वर्ष पनि बजारमा मागको केही प्रतिशत बाहेक फूल–माला भारतबाट नेपाल भित्रिने दाबी गर्छन् ।

गत वर्ष ८ हजार बढी माला विक्रि गरेका व्यवसायी श्रेष्ठले ५ बजार बढी माला भारतबाट आयात गरेका थिए भने ३ हजार माला नेपाली कृषकबाट खरिद गरेर विक्रि गरेका थिए । लुम्बिनी फ्लोरिकल कल्चर अफ एसोसिएशनका संस्थापक उपाध्यक्ष समेत रहेका उनले यो वर्ष कोरोना महामारीको प्रभाव नरहेका कारण गत वर्षको तुलनामा बजारमा मालाको माग बढ्ने दाबी गर्छन् । यसैगरी बजाको मागसँगै मालाको मूल्य समेत बढ्न सक्ने उनको अनुमान छ । गत वर्ष न्युनतम ८० रुपैयाँबाट माला बेच्न सुरु गरेका उनले अन्तिममा १५० सम्म परेको उल्लेख गरे । यसैगरी यो वर्ष भने न्यूनतम मूल्य नै सय रुपैयाँ माथि कायम रहने उल्लेख गरे । सरकारले प्याष्टिकका माला विक्रि वितरणमा रोक लगाएसँगै सयपत्री फूलको माला विक्रि बढ्ने उनको अनुमान् छ ।

पूजाआजा र सजावटका लागि भित्र्याइने फूलका लागि नेपाली पैसा मनग्य बिदेसिने गरेको छ । मुलुकमा चाडबाड, मेला तथा उत्सव र मालाकै लागि हुने बजारको माग धान्न फूल आयातमा मासिक ५० लाख रुपैयाँभन्दा बढी रकम खर्च हुने गरेको भन्सार विभागले तयार पारेको विगतका तथ्याङ्कहरुले देखाएको छ ।

स्वदेशी उत्पादनले बजारको माग धान्न नपुग्ने भएकाले बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको बुटवलमा एक दशकअघि देखि फूलको व्यापार गर्दै आएका पूराना व्यवसायी गोपाल शर्मा बताउँछन् । चाडबाडबाहेक अन्य समयमा पनि स्थानीयस्तरमा उत्पादन वृद्धिमा जोड दिनुको साटो नेपाली पुष्पबजार आयतमै निर्भर छ ।

गत वर्ष कोरोना महामारीका कारण फूल व्यापारमा घाटा व्यहोर्नु परेको बताउँदै व्यवसायी शर्माले यो वर्ष पनि नेपालका विभिन्न कृषकहरुबाट फूल अर्डर गरिसकेको र त्यसमा नपुग भएमा भारतबाट भित्राउने उल्लेख गरे । सल्यान, दाङको घोराही, पाल्पाको रामापुर तथा रुपन्देहीको सैनामैना लगायतका कृषकहरुबाट फूल खरिद गर्दै आएका उनले यो वर्ष ती कृषकहरुबाट ५ हजार माला मात्रै ल्याउने तयारी गरेका छन् । बुटवलको ट्राफिकचोकमा गणपति फूल घर सञ्चालन गर्दै आएका उनले गत वर्ष ८ हजार माला विक्रिका लागि राखेकोमा त्यसको करिब आधा जति त्यसै फ्याक्नु परेको उल्लेख गरे । गत वर्षको आधारमा यो वर्ष पनि कम माला अर्डर गरिएको बताउँदे उनले त्यस बाहेकका अवाश्यक परेमा भारतबाट भित्र्याउने उल्लेख गरे । भारतीय माला सस्तो पनि पर्छ, अर्डर गर्ने वित्तिकै उपलब्ध गराईहाल्ने तर, यहाँ कृषकहरु अझै व्यवसायीक हुन नसकेको फूल व्यापारीहरु बताउँछन् ।

रुपन्देहीको तिलोत्तमा–४ मा रहेको क्षितिज नमुना कृषक समूहकी अध्यक्ष नविना भण्डारीले भारतबाट भित्रिएका फूलमालाको मूल्य थोरै पर्नेहुँदा नेपाली कृषक मारमा पर्ने गरेको बताउँछिन् । १० जना महिलाहरु मिलेर १२ कट्ठा जमिनमा फूल खेती गरेका उनीहरुले यो वर्ष वर्षाका कारण पनि तिहारका लागि लगाइएको फूल समयमा नफुल्दा घाटा व्यहोर्नुपर्ने बताएका छन् । तिहारमा माग हुने सयपत्री फुलको ब्याड राख्ने समयमा वर्षा भएपछि खेतीनै ढिला हुनुका साथै केहीदिनअघि परेको वर्षाले फूलफूल्न ढिला गरेको समुहकी अध्यक्ष भण्डारीले बताइन् । भारतीय फूल भित्रिदा नेपाली फूलको व्यापारमा घाटा लागे पनि भारतबाट निर्यात रोक्न यहाँ उत्पादन प्रयाप्त नभएको उनले बताइन् । गत वर्ष उनको समूहले करिब २ हजार माला विक्रि गरेको थियोभने यो वर्ष पनि सोही हाराहारीमा विक्रि लक्ष्य रहेको भण्डारीले बताइन् ।

यसैगरी तिलोत्तमामै रहेको अर्को महिला समूह मनकामना फूल उत्पादक कृषक समूहले यो वर्षको तिहारमा मात्रै सय वटा मालालाई पुग्ने फूल ब्यापार गर्ने लक्ष्य राखेको छ । वर्षाले डबानमा पर्दा यो वर्ष समयमै फूल फूलाउन नसकिएको समूहकी अध्यक्ष माया भट्टराईले बताइन् । गत वर्ष सयदेखि १३० रुपैयाँसम्म माला बिक्री गरेकी उनले यो वर्ष सरकारले प्याष्टिककमा माला आयातमा प्रतिवन्ध लगाउँदा मूल्य बढ्ने अनुमान गरिन् । उनको समूहले विगत ३ वर्षदेखि १२ कट्ठा जमिनमा सयपत्री फूल खेती गर्दै आएको छ ।

रुपन्देहीको सैनामैनामैनामा अवस्थित फोकस मल्टि एग्रो कन्सन एण्ड रिसर्च प्रा.लि.का सञ्चालक राजेश कुंवरले पनि यो वर्ष फूल मालाले मूल्य पाउने भएपनि समयमा उत्पादन गर्न नसकिएको गुनासो गरे । मौसमका कारण उत्पादन समया गर्न नसकिएको बताउने उनले यो वर्ष ४ हजार मालालाई पुग्नेगरी फूल उत्पादन गर्ने लक्ष्य राखिएको बताए । उनको कम्पनीले ८ कट्ठा जमिनमा सयपत्री फूल लगाएको छ । रुपन्देहीमा मात्रै ८०/९० हजार फूलका माला तिहारको समयमा खपत हुन्छ भने यहाँबाट अन्य जिल्लाहरुमा समेत पठाउने गरिएको व्यवसायीहरु बताउँछन् । कतिपयले आफ्नै प्रयोजनका लागि फूल खेती गरेर राखेका हुन्छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।