ताजा अपडेट »

शैक्षिक भ्रमण डायरी: राराको अविष्मरणीय यात्रा

विहीबार, २७ असोज २०७९, १६ : १२
409 Shares

भनिन्छ, जीवन सिकाई हो । जुन सिकाई व्यक्तिको अन्तिम सास रहुन्जेलसम्म निरन्चर चलि नै रहन्छ । यहि सिकाइबाट मानिसहरु अनुभव लिँदै आनन्दको अनुभूति गर्छन् । यात्राको क्रममा उनीहरुले सिकेका, भोगेका र देखेका अनुभवलाई अन्य व्यक्तिसँग सेयर पनि गरिरहन्छन् । सायद यस्तै अनुभव लिनका लागि मानिसहरु भ्रमण जाने गर्छन् । त्यसमा पनि विद्यालय वा क्याम्पसबाट शैक्षिक भ्रमणलाई विद्यार्थीहरुले अझै बढी महत्व दिएका हुन्छन् । विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन शिक्षण क्रियाकलापका क्रममा क्याम्पसहरुले विभिन्न शिक्षण विधिहरु प्रयोग गरेका हुन्छन् । र, प्रयोग गरिनु आवश्यक पनि छ । ती विधिहरु मध्ये अध्ययन एवम् शैशिक भ्रमण पनि एक प्रभावकारी विधि हो ।

‘भ्रमण’ भन्ने वित्तिकै घुम्ने र रमाउने काम भन्ने बुझिन्छ । अहिलेको परिवर्तनशील समयमा बच्चा, वयस्कदेखी वृद्धवृद्धासम्मले फनपार्क घुम्नेदेखि ट्रेकिङ र तिर्थयात्रा गर्ने सम्म रुचि देखाएको पाइन्छ । कुनै नयाँ स्थानमा गएर नयाँ–नयाँ अनुभवहरु सँगाल्ने र ती अनुभवहरु आफ्ना साथीभाइ परिवारका सदस्यहरुलाई बाँड्ने उेद्दश्यले मानिसहरु यात्रामा निस्किएका हुन्छन् । यतिमात्र नभएर विद्यार्थीहरु वा अन्य कुनै व्यक्ति कुनै विषय बस्तुको अध्ययन र प्रतिवेदनका लागि पनि भ्रमणमा गएको पाइन्छ ।

भ्रमणमा जानका लागि केही पूर्व तयारी गरेर जानु आवश्यक मानिन्छ । किनकि तपाई कति टाढासम्मको यात्रामा निस्किदै हुनुहुन्छ । कति दिन यात्राका लागि समय दिन सक्नुहुन्छ । कति जनाको समुहमा जाँदै हुनुहुन्छ । होटल तथा लज व्यवस्थापन गर्नेदेखि ड्राइ फुड लिएर जानेसम्म लगायतका विषयमा ध्यान दिनुपर्दछ । खासगरी कात्तिकदेखि माघसम्मको महिना भ्रमणको लागि उपयुक्त मौसमको महिना मानिन्छ । यद्यपि, लुम्बिनी वाणिज्य क्याम्पसको चौथो सेमेष्टरमा अध्ययनरत साथीहरु अन्तिम अन्तिमतिर भएकोले (भदौ महिना ) अनुकूल समयकाबीच पनि हामी कर्णाली प्रदेशको मुगु जिल्लास्थित रारासम्मको यात्रामा निस्किएका हौं।

पहिलो दिन
भदौ महिना । वर्षायामको समय । वर्षाका कारण पहिरो जाने, बाटोहरु भत्किने, घरहरु पुरिने र यात्रामा निस्किँदा कठिनाइ भोग्नुपर्ने समय । यस्तै अनुकुल समयकाबिच पनि भदौ तेस्रो सातातिर बुटवल स्थित लुम्विनी वाणिज्य क्याम्पसको एमबिएस चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरु शैक्षिक भ्रमण जाने कुरा चल्यो । तर, भ्रमण कहाँ जाने, कसरी जाने भन्ने विषयमा भने केही निधो भइसकेको थिएन । साथीहरु विराज चालिसे, अशोक गौतम, ऋषि पन्थी र सागर विक्रम अर्याल लगायतका साथीहरुले एमबिएस संयोजक इन्द्र चापागाइ सरलाई यसबारे जानकारी गराए ।

साथीहरुबीचको छलफल पछि पश्चिमतर्फ घुम्न जाने योजना बन्यो । साथीहरुको नाम लिस्ट तयार भयो । क्याम्पस प्रमुख डा.तारा प्रसाद उपाध्याय सरसँग सवारी साधन व्यवस्थापन देखि अन्य कुराहरु राखि कर्णली प्रदेशको मुगु जिल्ला स्थित रारा सम्म घुम्न जाने निर्णय भयो । र भदौ ३० गते साँझ करिब ४४ जनाको टोलीसहित बुटवलदेखि हिड्ने निधो भयो । यद्यपि, भदौ २९ गते रातिदेखि नै निरन्तर पानी पर्न थाल्यो । भदौ ३० गते बिहानको झरीले हामी सबैको मन्न खिन्न भयो । किनकी सबै तयारी गरिसकेका थियौं । दिउँसोभर सिमसिम पानी पर्ने, विदो हुने गरिरहेको थियो । दिउँसो ४ बजेतिरदेखि भने पानी विदो भयो । कलेजबाट बेलुका ७ बजे यात्राका लागि निस्कने निर्णय भएको थियो । म बुटवल कलेजमा नै पुग्नुपर्ने भएकोले ५ बजेतिर नै घरबाट निस्किए । बेलुका ६ बजेर २५ मिनेटमा कलेजमा पुग्दा साथीहरु आइपुगेका थिएनन् । ७ बजे निस्कने योजना बनेपनि करिब ८ बजेसम्म निरन्तर साथीहरु आउने क्रम जारी रह्यो ।

सुरुमा कलेजबाट एउटा मात्र बस व्यवस्थापन भएको थियो । हामी सबै जना बसमा अटाएनौं । इन्द्रसरसँग कुराकानी भयो । फेरी तारा सरलाई कल गरेर अर्को सानो गाडीको व्यवस्थापन भयो । यतिबेला रातिको १० बजिसकेको थियो । सबै व्यवस्थापन पछि श्याम सर सहित हामी साथीहरु कलेजबाट करिब १० बजेर २५ मिनेटमा रारा तर्फको यात्रामा निस्कयौं । इन्द्रसर पनि शुभयात्रा भन्दै घरतर्फ लाग्नुभयो । हामी सबै जना पहिलो पटक नै रारासम्मको यात्रामा जादै थियौं । त्यसैले सबैमा उत्साह र जिज्ञासा थियो ।

दोस्रो दिन
भदौ ३१ गते हाम्रो योजना सुर्खेत बास बस्ने थियो । हामी दाङ, बाँके, बर्दियाका जिल्ला पार गर्दै सुर्खेतको भेरी पुलसम्म पुग्यौं । यहाँ पुग्दा बिहान भइसकेको थियो । हामी सुर्खेत बजार ९ बजेतिर पुग्यौं । त्यहा पुग्दा पानी परिरहेको थियो । मन भने खुसी थिएन । किनकि निरन्तरको वर्षाले रारासम्म पुग्न सकिन्न कि भन्ने मनमा खिन्नता थियो । सुर्खेत पुगेर सबै जना अट्ने होटल व्यवस्थापन गर्न केही समय लाग्यो । व्यवस्थापनका साथीहरुले होटल व्यवस्थापन गरेपछि भने सबै होटल पुगेर आराम ग¥यौ । दिउँसोभर निरन्तर पानी परिरह्यो । सबैले रारा जाने बाटो बुझ्न थाल्यौं । पानि परिरहे जान कठिनाइ हुने प्रतिक्रिया पायौं । राराको गन्तव्य तय गरेर हिडेका हामी सबैमा यी प्रतिक्रियाले निराशा गराइदियो ।
साँझपख हामी साथीहरु पानि नै परिरहे पनि रेनकोट लगाएर भुलभुले उद्यान हेर्न गयौं । केही साथीहरुले उद्यानको अवलोकन गरे । तर, म लगायत साथीहरुले भने बन्द भइसकेकाले भित्र प्रवेश गर्न पाएनौं । त्यसपछि सबै साथीहरु मिलेर साँझ खाना खायौं । केहीबेर नाचेर रमाइलो ग¥यौ । र राति पानी नपरे हुन्थ्यो नि कामना गर्दै भन्दै आ-आफ्नो कोठातर्फ लाग्यौ ।

तेस्रो दिन
असोज १ गते विश्वकर्मा बाबाको पूजा थियो । बस र ट्राभल्स चालक र सहचालकले सवारी साधन पूजा गर्नुभयो । सिमसिम पानी परिरहेकै थियो । यद्यपि, हिड्ने बेला भने घाम पानी परेको थियो । अब घाम पो लाग्छ कि भनेर खुसी पनि भयौ । हामी करिब ९ बजेतिर सुर्खेतबाट हिड्यौं । हिडेको केही मिनेटमा नै पानी विदो भएर मधुर घाम देखिन थाल्यो । दुइ वटा गाडी थिए । जसका कारण हामी अघिपछि भएर हिडिरहेका थियौं । हामी यात्राको क्रममा सुर्खेतको सिमाना कटेर दैलेख प्रवेश गर्यांै । सडक साँघुरो थियो । तर, कालोपत्रे थियो । कतिपय ठाउँमा बाटोमा ढुङ्गा, रुख र पहिरोको अवरोध पनि थियो । मनोरम दृष्य थिए ।

करिब ११ बजेर ४० मिनेटमा दैलेखको गुराँस गाउँपालिका वडा नं. १ स्थित पातलखोलामा पुग्यौ । त्यहाँ पुग्दा हाम्रो ट्राभलर्समा रहेका साथीहरु पुगिसकेका थिए । हामीले तारामी होटल एण्ड लजमा खाना खायौ । त्यसपछि हामी यात्रामै लाग्यौ । कर्णालीको तिरैतिर साँघुरो बाटोमा भत्किएका र ढुंगाहरु तेस्रिएका बाटोहरु पार गर्दै झरनाका दृष्यहरु हेर्दै अघि बढ्यौ । करिब १ बजेतिर हामी दुल्लु नगरपालिका प्रवेश गर्यौं ।

आज हामी कालिकोटको सदरमुकाम मान्म बजार बस्ने योजना थियो । यतिबेला मान्मबजार आउन करिब ८४ किलोमिटर थियो । सवा १ बजेतिर भने साघुरो कच्ची सडकमा ढुंगा खसेको रहेछ । ढुंगा हटाउनका लागि केही समय लाग्यो । सबैजना साथीहरु मिलेर उक्त ढुंगा हटाएपछि फेरी यात्राका लागि बाटो खुल्यो । तर, हिडेको एक घण्टा पनि नपुग्दै फेरी कठिनाइ सिर्जना भयो । दिउँसो २ बजेतिर हामी जाने बाटोमा नै ट्रक फसिरहेको थियो । बाटो हिलो दबदबे थियो । बाटो साघुरो नै थियो । यद्यपि अर्को सानो गाडी भने त्यो स्थानबाट पार गरेर अघि गइसकेको थियो । ड्राइभरदाइले बस छेउबाट लैजाने कोसिस गर्नुभयो । धेरै पटक कोसिस गर्दा पनि बस अघि जान सकेन । पछि जोखिम मोलेर नै अथक प्रयासपछि बस निस्क्यिो । यहाँ सबैजना डरायौं ।

कतिबेला मान्म बजार पुगौला भनेर सपना बुनिरहेका हामी । पहिरो र विग्रिएको सडकले मनमा खिन्नता मात्र दियो । त्यसपछि दिउँसो ४ बजेतिर फेरी दैलेखकै एक खोला नजिक पुग्यौं । त्यहाँ पुग्दा सानो जिर्ण पुलमा स्काभेटरले सडकमा खसेको पहिरो पन्छाउँदै रहेछ । सबै गाडीहरु क्रमबद्ध थिए । शहरबाट दशैं मनाउनका लागि कोही घरतर्फको गनतव्य तय गरेका थिए । यो ठाउँबाट निस्किन हामीलाई करिब २ घण्टा लाग्यो । यही समयमा कालिकोटतिरबाट एक विरामी आमालाई लिएर एम्बुलेन्स समेत आएको थियो । अस्पताल पुगेर उपचार पाउन्जेल बाटोमै छट्पटाइरहनुपर्ने कस्तो बाध्यता । मेरो मनमा यस्तै प्रश्न उब्जिए । भौगोलिक अवस्थाका कारण साँझ ७ बजेपछि यस क्षेत्रतिर सवारी साधन चलाउन पाइदो रहेन्छ । यहाँबाट हिड्दा झम्क्क साँझ पर्न लागिसकेको थियो । हामी बल्ल तल्ल दैलेखकै खिड्खिजिउला पुग्यौं ।

बजारबाट अलि अघिपुगेपछि फेरी पहिरो खसेको रहेछ । रातिको समयमा जोखिम मोल्न चाहेनौ । र हामी बजारमै फर्किएर होटल व्यवस्थापन गर्न लाग्यौं । साथीहरुले हामी १३ जना लेडिज साथीहरुका लागि एउटा होटल व्यवस्थापन गरिदिए । एकैठाउँमा बस्न नमिल्ने भएकोले अन्य साथीहरुपनि छुट्टाछुट्टै मिलेर बसे । कतिपयका मोबाइल स्वीच अफ भइसकेका थिए । नेटवर्कको समस्या थियो । यहाँ लाइन पनि रहेनछ । सोलरबाट भने बजार उज्यालो नै थियो । खाना खाएर सुत्दा सबै जनाको लगभग १२ बज्न आटिसकेको थियो ।

चौथों दिन
योजना अनुसार बनाएको यात्रामा परिस्थितिले चुकिसकेका थियौं । असोज २ गते विहानै हिड्ने सल्लाह थियो । सबै उठेर खाजा खाएर तयार हुँदा ८ बजिसकेको थियो । हिजो खसेको पहिरो पनि हट्न भने बाँकी नै थियो । हामीहरु पहिरो हट्न समय लाग्ने निश्चित भएपछि कर्णाली खोलाको बगरमा गयौं । सुन्दर पहाडहरुको बिचमा बगेको सुन्दर कर्णाली । पहाडी जिल्लामै जन्मिएर हुर्किएकालाई नौलो नलागेपनि ठाउँअनुसारको विशेषता, रहनसहन, भेषभुषा बोल्ने शैली फरक थियो । लोभ्याने खालको बगर थियो । यहाँबाट करिब साढे १० बजेतिर हामी हिड्यौं । केही समयपछि हामी कालिकोट सिमानातिर पुग्यौ ।

कालिकोट जिल्ला पुगेपछि मनै लोभ्याने लामो आर्कषक झरनाका दृष्य देखिए । टिनले छाएका घरहरु आउन थाले । भिरालो ठाउँमा मार्सी धान झुलेको देखियो । यात्राकै क्रममा अर्को सानो गाडी बिग्रिएको खबर पायौँ । हामी मान्म बजार पनि पुगेका थिएनौ । गाडी हामी भन्दा पछि थियो । यो गाडीमा करिब १७ जना साथीहरु थिए । करिब १ बजेतिर मान्म बजार भन्दा तल गाउँमा पुग्यौ । बाटो पक्की नै थियो । बाटो घुमाउरो र उकालो जस्तो थियो । यहाँ पुग्दा अन्य सवारी साधनहरु क्रमबद्ध लाइनमा थिए ।

अगाडि ट्राफिक प्रहरीको रोहवरमा पालै पाले स्काभेटरले तानेर ट्रक, बस निकालिएको रहेछ । दिउँसो तीन बज्न लाग्यो । सबैले हाम्रो गाडी पनि स्काभेटरले तानेर लैजाऔं न त भन्ने सल्लाह गर्यौं । तर, ड्राइभर दाइले जोखिम मोल्न चाहानुभएन । हामीलाई त रारा पुग्न थियो । ढिला हुने भयो भन्ने थियो । सवारी साधन जस्तो विषयमा जोखिम मोल्नु राम्रो पनि होइन । उहाँले यात्राका क्रममा हरेक निर्णयहरु सहचालकसँग सल्लाह गरेर लिएको देखेँ । यो उहाँको सबल पक्ष लाग्यो ।

यसपछि भने २ घण्टा लगाएर केही साथीहरु मान्म बजारसम्म हिड्दै गए । केही साथीहरु अटोमा र केही साथीहरु अन्य गाडीमा मान्म पुगे । साँझ परिसकेको थियो । केही साथीहरु भने बसलाइ नै लिएर माथि पुग्ने भनेर अठोेटमा थिए । म र मेरो साथी नितु भने एउटा हाइसमा चढेर मान्म पुग्यौ । यो स्थानमा धेरै साथीहरु छुट्टाछुट्टै हिड्न बाध्य भयौ । नेटवर्क नभएकोले को साथीहरु कता कता पुगे भन्ने यकिन हुन सकेन । दिउँसो नै माथि आइसकेका साथीहरु फेरी साँझ तल झरेर सानो गाडीमा अन्य साथीहरुलाई लिएर आए । र पछि बस पनि माथि सम्म नै आइपुग्यो । फोनमा कुराकानी हुन नपाएपछि धेरै जनासँग सम्पर्क हुनबाट बञ्चित भयौं । एक अर्कामा समन्वयात्मक हुन सकेनौं । जसले गर्दा यहाँ केही कठिनाइ सबैले भोग्नुपर्यौ । होटल बुक गरि राति खाना खाएर हामी सुत्यौँ ।

पाँचौं दिन
असोज ३ गते विहान सबै तयार भइसकेपछि करिब साढे ९ बजेतिर कालिकोटको सदरमुकाम मान्म बजारबाट हामी हिड्यौं । आज भने सबै साथीहरुमा केही उत्साह पनि थियो । पानी परेको थिएन । बाटो त साँघुरो नै थियो । तर, पक्की थियो । यद्यपि, कालिकोटको बाटो निकै डरलाग्दो । अप्ठयारो भिर र पखेरा । साँझ परेपछि केही भइहाल्यो भने पनि कसैले थाहा पाउन नसक्ने भिर । आज रारा पुग्ने अठोटले हामी हिड्ेका थियांै ।

जब हामी जुम्ला जिल्ला प्रवेश गर्यौं । निकै आर्कषक पहाडहरु देखिन थाले । आहा ! जुम्ला कति राम्रो सबैको मुखारविन्दुबाट यहि शब्द निस्किन थाल्यो । सबैले मोबाइलले पहाडहरुका सिन खिच्न थाले । ठाउँ ठाउँमा स्याउका बोटहरु भेटिन थाले । देख्दै टिपु टिपु लाग्ने रसिला स्याउ । निश्चल रुपमा बगिरहेको कर्णाली नदीको दृष्य । समतल फाँटमा धानका बाला झुलिरहेका । हरियो सल्लाका रुखहरु ।

दिउँसो २ बजेतिर हामी जुम्लाको सिंजा गाउँपालिका वडा नं.१ काटै पुग्यौँ । यहाँ बाटोमै होटल मिड प्वाइन्ट एण्ड रेष्टूरेण्ट रहेछ । जहाँ हाम्रो अर्को गाडीको साथीहरु पुगेर खाजा नास्ता गर्दै थिए । साथीहरु केही छिनमा निस्किए । हामीलाइ पनि भोक लागेको थियो । चिया खाने साथीहरुले सुरुमा चिया खाए । र पछि चाउचाउ पकाएर भुजासँग सबै मिलेर खायौ । त्यसपछि हाम्रो यात्रा निरन्तर अघि बढ्यो । अर्को गाडीमा रहेका साथीहरुसँग नेटवर्कका कारण खासै सम्पर्क हुन सकेन । उनीहरु अघि अघि हामी पछि पछि भयौ । रारा सम्म पुग्न बाटो अझै धेरै नै थियो । साँझपख हुन लाग्यो । हामी मुगु जिल्लाको नजिक नजिक प्रवेश गर्न थाल्यौ । त्यसपछि हामीलाइ चिसो हुन थालेको महसुस भयो । चौरमा भेडा च्याङ्ग्रा एकैठाउँ बसेको दृष्य देखिन थाले । क्याम्प जस्तै देखिने पालहरु पनि देखिए । भेडा च्याङ्ग्राहरु देख्दा मन प्रफुल्लित भयो । यस्तै दृष्यहरु हेर्दै साँझ परिसक्यो ।

हामी रारा राष्ट्रिय निकुञ्ज पार गर्दै गन्तव्य तफ नै लाग्यौं । यसपछि भने हामीलाइ रारा पुग्न अझै कति छ भन्ने यकिन हुन सकेन । कच्ची सडक । अप्ठयारो भिरपखेरा । घुमाउरो बाटो । घुम्ती मोडहरु । रातिको समय । वनजंगल । पानी पनि पर्न थाल्यो । हिलो बाटो । यसपछि भने सबैको फेरी मन आत्तिन लाग्यो । हामी रारा पुगिदैन कि । आज गाडीभित्र नै बस्नुपर्ने होकी भन्ने प्रश्नहरु मनमा उब्जिए । अर्को गाडीमा भएका साथीहरुलाई फोन गर्दा लागेन । उनीहरु कता पुगे हामी कति टाढा छौं भन्ने यकिन पनि हुन सकेन । करिब ९ बजेतिर हाम्रो गाडी एक ठाउँमा फस्यो । जति प्रयास गरेपनि गाडी निस्किएन । राम्रोसँग गाडी स्टार्ट पनि हुन सकेन । हामी सबै जनाको मन फेरी आत्तियो । हामी कहाँ छौ भन्ने थाहा नै भएन । अर्को गाडी कहाँ पुग्यो । साथीहरु कहाँ छन् । उनीहरु पनि यस्तै समस्यामा त छैनन् । केही सम्पर्क हुन सकेन । श्यामसरले लिस्ट नै हेरेर कल गरेपनि कसैको फोन लागेन ।

तर, केही बेरपछि माथितिरबाट एउटा बाइकमा दुई जना रेस्क्यु रेस्क्यू भन्दै आए । यति बेला धेरै खुसी भयौ । उहाँहरुको प्रयासमा फेरी बस निकाल्ने प्रयास गर्यौं तर बस निस्किएन । हजुरहरुको साथी रारा बेस्क्याम्पमा हुनुहुन्छ । यहाँ बस रोकिएको देखेपछि हामी आएका हौं । धेरै छैन हिडेर पनि जान सकिन्छ भनेपछि मनमा खुसी छायो । सबैले झोला बोकेर करिब ४५ मिनेटको बाटोमा हिडेर उहाँहरुको होटल सम्म पुग्यौँ ।
यहाँ हामी दुई वटा होटलमा बास बस्यौँ । हामी बसेको होटलमा हामीले खाना खाएर सुत्दा १२ बजिसकेको थियो । हामी लेडिज साथीहरु सबै जना आँटीमा नै सुत्यौ । यो पनि एउटा मिठो पल थियो । जहाँ सबैजना एकै ठाउँमा अटायौँ ।

छैटौं दिन
असोज ४ गते हामी विहानै उठ्यौं। किनकि हामी आजै रारा पुगेर फर्किने योजना बनाएका थियौं । हामी सबैलाई फर्किनका लागि ढिला भइसकेको थियो । आज हामी धेरै खुसी थियौं । घुम्न र हेर्नकै लागि तय गरेर आएको कर्णाली प्रदेशको मुगु जिल्ला छायाँनाथ नगरपालिकामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल, राराताल हेर्न जादै थियौं । जुन ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ। १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए । ।

रारा तालबारे सुन्दै र पढ्दै आएकी म पहिलोपटक रारा जान पाउँदा उत्साहित थिए । यहि राराताल हेर्न तालको बेसक्याम्पबाट करिब ७ ः ४५ बजे तिर हिड्यौ । केही साथीहरु घोडामा चढेर अघि बढे । म लगायत केही साथीहरु हिड्दै गयौ । बाटो राम्रो नै थियो । तर, घोडा हिडिरहने, बेला बेला पानी पर्ने भएकोले कुनै–कुनै ठाउँमा भने हिलो थियो । हिड्ेको ४५ मिनेटमा हामी स्वर्गकी अप्सरा भनेर परिचित रारातालको छेउमा पुग्यौ । रारा नजिकै कोणधारी हरियो वन, चारैतिर ठूलो चौर, माथि नीलो आकाश, सेतो बादल । चिसो हावासँगै मनोरम दृश्यले सबैको थकान भुलाइदियो । राराको नजिकै पुग्दा पनि अझै ‘कस्तो होला रारा ताल ?’ मनमा यस्तै जिज्ञासा थियो । मनमा उमंग र उत्साह पनि थियो।

दिनभरिमा आफ्नो रुप फेरिरहने राराताललाई सबै साथीहरुले आफ्नो मोबाइल र क्यामरामा कैद गर्न पाउँदा निकै खुसी देखिन्थे । यहाँपुगेपछि रारा तालको सुन्दरताको व्याख्या शब्दमा वर्णन गर्न कठिन जस्तो लाग्यो । स्वर्गकी अप्सरा त्यसै भनिएको रहेन्छ । हामीले तालहरु त देखेकै थियौं । तर, यो तालको विशेषता निकै फरक रहेछ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेठदेखि असोज महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिने रहेछ । कहिले हिउँले ढाक्ने । अझै अर्को विशेषता त यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइने रहेछ ।

यति सुन्दर तालमा आएपछि सबैजना मोबाइल, क्याम्रामै तश्विर कैद गर्न व्यस्त भयौ । साथीहरु घोडामा चढ्ने थाले । नेपालको झण्डा समातेर राराताल छेउमा फरफराउन थाले । हामीहरु गुप्र फोटोहरु लियौं । केही समय हामीले यहि ताललाइ दियौं । त्यसपछि रारातालबाट करिब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिने रहेछ । स्थानियको ३ घण्टाको बाटो भयतापनी करिब १६ जना पुरुष साथीहरु मात्र मुर्माटपमा जाने निश्चित गरेर साथीहरु मुर्माटपका लागि हिडे । यद्यपि, केही साथीहरु बिचबाटोबाट पनि फर्किए । स्थानियको ३ घण्टाको बाटो भयतापनी हाम्रो साथीहरु भने ४, ५ घण्टाको पैदल यात्रा पश्चात मुर्माटप पुगेका रहेछन् । धेरै साथीहरु भने उक्त मुर्मागाउँमा गएनौं । ३७२६ मिटर उचाईमा रहेको मुर्मा टपबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृंखलाको मनोरम अवलोकन गर्न सकिन्छ ।

हामीहरु आजै फर्किने योजना बनाएर बेसक्याम्प झरौं भनेर हिड्यौं । यतिबेलासम्म त मलाइ रमाइलो मात्र लागेको थियो । किनकी घुम्न जानेले त आर्कषक मनोरम दृष्यमा मन लोभ्याने मात्र हो । तर, एकै दिनमा यस क्षेत्रको भौगोलिक अवस्था, मानिसको दैनिकी के कस्तो छ सजिलै बुझ्न नसकिने । यहाँको कथा वास्तविक पीडा के छन् थाहा नहुने । यत्तिकैमा घोडा लिएर आफ्नो जीविकोपार्जन गर्न हिँडेका सन्त कुमार कामीले गीत गुनगुनाउन थाले ‘रारा ताल निकुञ्ज पर्यो, गन्दी पर्याे किल्ला, सुख शान्ति केही जुम्मै छैन, हाम्रा मुगु जिल्ला । राइजोमा …। ” यसपछि भने मेरो मन चसक्क भयो ।

फेरी मैले अर्को गीत गुनगुनाउन आग्रह गरे । त्यसपछि सन्त कुमारले ‘विदेशीले किल्ला हान्यो, हाम्रो मुगु जिल्ला, यो किल्ला हटाउन मिल्ला कि नमिल्ला’ राइजोमा भन्दै आफ्नो पीडा लुकाएर देशको माया झल्काउँदै ओठमा मिठो मुस्कान सहित नाच्दै गीत सुनाए । यसपछि मैले उनलाई पछ्याएर केही गफ गर्न थाले । यहाँ के कस्तो सुविधा होस् भन्ने लाग्छ भने प्रश्न गर्नासाथ सन्तकुमार दुखेसो पोख्न थाले – ‘बाटो ठिक छैन, खाने रासन पाइँदैन समयमा, बिरामी भयो भने हस्पिटल पाउँदैन, हस्पिटल छ डाक्टर छैन,डाक्टर छ औषधि छैन ।” यी शब्दले साच्चिकै मन पोल्यो । उनले आफ्नो मात्र होइन समग्र मुगुबासीको आवाज बोलिरहेका थिए ।

मुगुको मात्र नभई समग्र देशको गौरव बोकेको पर्यटकीय स्थलको रुपमा परिचित यस क्षेत्रमा विदेशी पर्यटक कसरी आउन सक्छन् । जहाँ राम्रो बाटो छैन, सुविधा सम्पन्न होटल एण्ड लज छैनन् । टूर गाइडको व्यवस्था छैन । यस्तै प्रश्न मनमा उब्जिए । उनले आफ्नो जीविकोपार्जन यहि घोडाबाटै मान्छे लैजाने र ल्याउने गरेर गर्दा रहेछन् । यत्तिकैमा उनले भने-कहिले हुन्छ, कहिले रित्तै पनि फर्किनुपर्छ । यहाँ घोडामा चढेर हिड्दा शुल्कमा भने एकरुपता रहेनछ । कसैले रु. ५ सय लिने, कसैले रु.२ सय ५० लिने, कसैले बेसक्याम्पबाट आउँदा जाँदा रु. १ हजार पनि लिने । सबैले छुट्टाछुट्टै शुल्क लिने । यसपछि भने सन्तकुमारसँगको कुरा टुङ्गाएर आ-आफ्नो बाटो लाग्यौं ।

बसमा रहेका लगभग साथीहरु तल बेसक्याम्प झरिसकेका थियौं । श्याम सर भने साथीहरुसँग नै मुर्माटप जानुभएको थियो । हामीहरु झोलाहरु तयार गरेर बस्यौं । अमृत पौडेल लगायएतका साथीहरु बस बिग्रिएको स्थलसम्म पुगे । हामी कति बेला बस बन्छ भनेर कुरिरह्यौं । अबेरसम्म बस नबनेपछि साँझमा हिड्ने अवस्था थिएन । त्यसपछि भने हामी पवि क्षेत्री लगाएतका साथीहरु स्याउ बगैँचा हेर्न गयौं। रसिला स्याउ देख्दा मनमा यसै उमङ्ग छायो । स्याउ टिपेर पनि खायौं । यहाँ बारीबाटै प्रतिकेजी ३० रुपैँया र बेसक्याम्पसम्म पुराएबापत प्रतिकेजी रु.३५ रुपैया पर्दो रहेछ । हामीले बेसक्याम्पसम्म स्याउ ल्यादिनु भनेर उकालो लाग्यौं । स्याउ बगैँचाकी दिदीले साँझ नै डोकोभरी स्याउ बोेकेर आइन् । सबैले आ-आफ्नो हिसाबले स्याउ किन्यौं । साथीहरु बस बनेपछि राति करिब ११: ३० बजेतिर आए । आज पनि हामी रारा नै बस्न बाध्य भयौं । मुर्मा गएका साथीहरु पनि बेलुका आइपुगेका थिए । साँझ खाना खाएर हामी सुत्यांै ।

सातौं दिन
अर्को दिन बिहानै झोलाहरु बोकेर बस स्थलसम्म आइपुग्यौ । बाटो ओरालो भएकोले जाँदाभन्दा आउँदा सजिलो गरि आयौं । सानो गाडी बेसक्याम्पसम्म नै पुगेको थियो । उक्त गाडी पनि बस स्थल सम्म आइपुग्यो । सबैजना हिड्ने बेला फेरी बस चलेन । यस्तै समयमा साथी टिकाराम भट्टराइसँग मुर्माटपको बारेमा कुरा चल्यो । उनले मुर्मागाउँको बारेमा आफुले देखे, भोगेको रमाइलापल सुनाए । यहाँदेखि ताल धेरै आकर्षक देखिने कुरा पनि शेयर गरे ।

यसपछि भने साथी झरना अर्याल घर आउन आत्तिइन् । उनी ताल्चा एअरपोर्टबाट नेपालगञ्जसम्म जाने टिकट कन्फर्म गरेर हिड्दै ताल्चा पुगिन् । हामी मिस्त्री आएर बस बनेपछि हिड्यौ । हिँडेको केही समय नहुँदै हामी बाटोमा ट्रक फसेकाले एक घण्टाजति रोकियौं । हामी करिब १ बजेतिर जुम्लाको भुलभुले आइपुग्यौ । यहाँ हामीले मार्सी चामलको भात, सेमीको दाल, लेकाली अचार, पास्सेको सागसँग खाना खायौं । हामी जुम्लाको सिंजा उपत्यका जाने कुरा थियो । यद्यपि, फर्किन ढिलो भएका कारण हामी गएनौ ।

अर्को गाडीका साथीहरुसँग नेटवर्क नभएकोले खासै सम्पर्कमा हुन सकेनौं । एअरपोर्टबाट नेपालगञ्ज जान हिडेकी साथी विभिन्न कारणबस प्लेनबाट जान सकिनन्। त्यसपछि फेरी साथी अब कसरी आउछिन् भन्ने चिन्ता लाग्यो । पछि उनी एक सरकारी कार्यालयको गाडीमा आउदै गरेको खबर सुनाएपछि हामी ढुक्क भयौं। आज कालिकोटको नाग्म बजारसम्म पुगेर बास बस्ने निधो भयो। अर्को गाडीका साथीहरु भने मान्म बजार बसेका थिए। हामी कालिकोटको तिलगुफा १ नाग्म बजारको एक होटलमा बस्ने भयौं । झरना पनि हामी आउने वित्तिकै आइन् । यहाँ पनि नेटवर्क नै आउने रहेन्छ । मोबाइल फोनमा कसैसँग कम्यूनिकेशन हुन सकिएन । खाना खाएर हामी सुतिहाल्यौ ।

आठौैं दिन
६ दिनको दिनसम्म घर फर्किने योजना बनाएर हिँडेका हामी । कालिकोटमै आठ दिन भइसकेको थियो । यस दिन पनि हामी बिहान हिड्हिाल्यौ । यसदिन भने हामी खासै अप्ठयारोमा परेनौं । जाँदा जस्तो फर्किदा भने कसैमा उत्साह थिएन । घर अब सजिलै फर्किन्छ भन्नेमा भने खुसी थियौ । किनकि धेरै अप्ठयारो बाटो पार पनि गरिसकेका थियांै । रातिको ११ बजेतिर हामी सुर्खेत आइपुग्यांै । हामी एक होटलमा खाना खाएर सुत्यौ । अर्को गाडीका साथीहरु भने अघि गइसकेका थिए ।

नवौं दिन
यस दिन हामी विहानै हिडेर कोहलपुर आएर खाना खायौं । यतालागेपछि हामीलाई गर्मी पनि हुन थाल्यो । हुन त सोचे जस्तो जाडो त मुगुमा पनि थिएन । यद्यपि, यता आउँदा घाम चर्किएको थियो । कपिलवस्तु आएपछि सबैलाइ अब आइपुगियो जस्तो लाग्यो । सैनामैना आएपछि त मेरो मन पनि प्रफुल्लित भयो। अब त घर आइपुगियो । यात्राका क्रममा सहज मात्र होइन । कठिनाई दुःख, झेलियो भने, मात्र अझ बढी सम्झना हुन्छ । हामी सबैले यस्तै मिठा र सम्झनयोग्य पलहरु लिएर आयौं । यस्तै गफगाफ गर्दा गर्दै मुर्गिया पनि आइपुग्यो । म सबै साथीहरुलाइ बाइ बाइ भन्दै झोला बोकेर बसबाट ओर्लिए…।

वास्तवमै, कर्णाली प्रदेशको जनजीवन, जनगुनासो र अवस्था बुझ्न केही समय छुट्याउनुपर्छ । हामी निरन्तर बसको यात्रामै भयौं । ९ दिन सम्मको यात्राले हामी सबैलाइ धेरै पाठ सिकायो । सैद्धान्तिक शिक्षासँगै व्यवहारिक र शैक्षिक भ्रमण विद्यार्थीका लागि महत्वपूर्ण विषय हुन् । हामी रारासम्म पुग्नुले पर्यटन प्रवद्र्धनसँगै आर्थिक क्षेत्रमा पनि पक्कै सहयोग पुगेको छ । मुगुबासीले प्रकृतिले दिएको अनुपम उपहारको संरक्षण र सम्बर्द्धन गर्ने भने रारातालले मुगु जिल्लाको मात्रै नभएर देशको अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ । यसका लागि सरकारले त्यहाँसम्म जाने बाटो सजिलो र छिटो बनाउनुपर्दछ । बस्नका लागि होटल तथा लजको राम्रो व्यवस्था पनि हुनुपर्छ । यस क्षेत्रमा मोवाइल फोन र इन्टरनेटको पनि भरपर्दो व्यवस्था हुन जरुरी छ ।

रारा घुम्न जाँदै हुनुहुन्छ भने यी कुराहरुमा ध्यान पुर्याउन आवश्यक छ :
मुलुकको यति सुन्दर स्वर्गकी अप्सरा भनेर चिनिने रारा एकदिन अवश्य जानुपर्छ । तर, जानका लागि आफूले केही तयारी गरेर जानु आवश्यक छ । सकेसम्म स्कारपियो या अन्य सानो सवारी साधनमा जाने ।
ड्राई फुड, पानी र औषधिको व्यवस्थापन गरेर जाने । साथै एन्ड्रोइड मोबाइल मात्र नभइ नोकिया वा अन्य कम्पनीको सानो मोडेल मोबाइल लिएर जाने । पावर बैंकको व्यवस्थापन पनि गर्ने ।
अकस्मात घर वा स्वास्थ्य समस्या भएको खण्डमा घर आउनुपर्ने भएमा ताल्चा एअरपोर्टबाट टिकटका लागि आवश्यक खर्च व्यवस्थापन गरेर जाने । आवश्यक समन्वय वा टिकटबारे बुझिराख्ने ।
गाडीको टायर लगाएतको प्राविधिक जाँच राम्रोसंग गराएर मात्र यात्रामा निस्कने जाने । केही इन्धन व्यवस्थापन गरेर हिड्ने । सकेसम्म स्थानीय उत्पानहरुको उपभोग गर्ने ।
करिब एक हप्ताको समय छुट्याएर रारा जानुपर्छ । यात्राको क्रममा सादा खाना रु. २ सय देखि देखि चिकेन खाना रु.४ सय ५० सम्म पायौं । सोही अनुसार खर्च व्यवस्थापन गर्नुपर्छ ।
अविष्मरणीय यात्राको व्यवस्थापनका साथीहरु, क्याम्पस प्रमुख डा.तारा प्रसाद उपाध्याय सर, एमबिएस कोर्डिनेटर इन्द्र चापागाई सर, श्याम सर सहित क्याम्पस परिवार प्रति हार्दिक आभार !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।