ताजा अपडेट »

पश्चिम नवलपरासी बन्यो पहिलो कोभिड-१९ विरुद्धको पूर्ण खोप जिल्ला

मंगलबार, १० साउन २०७९, ०७ : ३५
36 Shares
मंगलबार, १० साउन २०७९
36 Shares

परासी । पश्चिम नवलपरासी जिल्ला नेपालमै पहिलो कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा भएको छ । कोभिड-१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको सोमबार बसेको बैठकले जिल्लालाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरेको हो । कोभिड-१९ विरुद्धको खोप सुनिश्चित जिल्ला भएको घोषणा गर्दै समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेले ७ वटै पालिकामा रहेका १२ वर्षभन्दा माथिका सबै नागरिकहरुले खोपको मात्र पूरा गरेपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको बताए ।

जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका छन् । कोभिड विरुद्धको पूर्ण खोप घोषणामा नवलपरासी जिल्ला नेपालमै पहिलो बन्न सफल भएको उनले बताए । साउन ५ गतेभित्र सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेपछि सोमबारबाट जिल्ला नै पूर्ण खोप सुनिश्चित जिल्ला भएको हो । घोषणका लागि पूरा गर्नुपर्ने सबै प्रकृयाहरु पूरा गरेको भन्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशानलयले प्रमाणित गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लामा कोभिडविरुद्धको पहिलो श्रृङ्खलाको दोस्रो मात्रा सबै नागरिकहरुले पूरा गरेको स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पंथीले बताए । ९९ प्रतिशतले पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच नियमित खोपतर्फ पनि सोमबार नै जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको छ ।

जन्मेदेखि १५ महिनाका बालबालिकाहरुले लगाउने १३ प्रकारका सबै खोप लगाएपछि जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् । नियमित खोपतर्फ पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको नवलपरासी भने नेपालमा पहिलो होइन । यसअघि अन्य जिल्लाहरु नियमित खोपमा पूर्ण खोप घोषणा भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । १६ देखि २३ महिनाका बालबालिकाहरुले खोप पाए/नपाएको बारे गरिएको सर्वेक्षणमा १५ महिनासम्मका बालबालिकाहरुले पूरा खोप लगाएको पाइएपछि पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरिएको हो । नियमिततर्फ ति उमेर समूहका कुल ४ हजार ८ सय ७ जना सबै बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।