ताजा अपडेट »

‘बाटो कृष्णे’: जसले १८ महिना खटेर, लाखौं लगानी लगाएर सडक बनाए

सोमबार, ०२ साउन २०७९, १८ : ०२
6 Shares

गुल्मी । अहिलेको पिँढी वा टोलले नै घर वरपरको गोरेटो बाटो निर्माणमा समेत सरकारको मुख ताक्छ । सरकारी पक्षले कहिले कँही जन श्रमदानका लागि अनुरोध ग¥यो भने पनि छल्ने, अटेरी गर्ने गर्दछ । तर, पुरानो पुस्ताले निकै लामो दूरीका सडकमा वर्षौंसम्म बिना पैसा अर्थात् जनश्रमदान गरेका प्रशस्तै उदाहरणहरु छन्।

तीनै उदाहरण मध्येको एक हो गुल्मीको रिडी रुद्रवेणी वामीटक्सार खर्वाङ्ग सडक। जुन सडक खन्दा आफ्नो पसिना बगाउने र घरको काम माया मार्ने हजारौं गुल्मेलीहरु छन् । तर, सोही सडक खण्डमा आफुलाई तोकिएको गन्तब्य सम्म गाडी नपुराएसम्म आफुले घरमा पाईला नटेक्ने र सडक मै बास बस्ने प्रतिज्ञा गर्ने एक जना गुल्मेली ओझेलमा छन् । ती हुन् गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ रुपाकोटका ५८ वर्षीय कृष्णप्रसाद भण्डारी ।

जसले २०५६ साल भदौ १५ गते देखि २०५७ चैत्र १५ गतेसम्म रुद्रवेणी वामीटक्सार सडक खण्डको उल्लीखोला देखि भुवाचिदी सम्म ठुला गाडी चल्ने सडक नबनाएसम्म आफुले घर त्याग्ने र सडक मै बसेर काम गर्ने प्रतिज्ञा गरेका थिए । सोही सडक निर्माणको सुरुदेखि अहिलेसम्म सक्रिय सत्यवती गाउँपालिकाका निर्वतमान गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल सुरु देखि त्यस सडक निर्माणमा लाग्ने आफूहरु मध्ये रुपाकोटका कृष्णप्रसाद भण्डारीको योगदान अतुलनिय रहेको बताउँछन् ।

आफूहरु २०३७ साल देखि उक्त सडकमा खट्ने पाको पुस्ता भएको र ती मध्ये रुपाकोटका कृष्णप्रसाद भण्डारीले त प्रतिज्ञानै गरेर डेढ वर्षसम्म घर नै त्यागी सडक मैं बसेर काम गरेको ढकालले स्मरण गरे । उनकाअनुसार पहिला रिडीदेखि रुद्रवेणी सडक खुलेको थिएन । तानसेन रिडी हुँदै तम्घास जाने सडक खण्ड अन्तरगत बलेटक्सार हुँदै उल्लीखोलामा २०३७ सालमा ट्याक्टर ल्याइएको थियो । त्यहाँ देखि सोता गाउँ, मजुवा र भुवाचिदीसम्म ट्याक्टर र साना गाडीहरु मात्रै चल्दथे। जसका कारण आमा जनतालाई त्यस सडकको सुविधाले छुन सकेको थिएन । त्यही समस्यालाई मध्ये नजर गरि सोता गाउँका कृष्णप्रसाद भण्डारीलाई गाउँबासीले उल्लीखोला देखि भुवाचिदी सम्मको सडक निर्माण गर्ने जिम्मा दिएका थिए ।
‘त्यति बेलासम्म सरकारी निकाय कतैबाट पनि सडक निर्माणका लागि पैसा आउँदैन्थ्यो’–भण्डारी भने –‘हामीले साना गाडीहरुबाट न्यूनतम शुुल्क उठाएर उल्लीखोला देखि मजुवा सम्मको सडक निर्माण गर्ने कार्य सुरु गरियो । फलतः २०५७ साल चैत्र १५ गते भुवाचिदीमा ठुलो गाडीका रुपमा बस लैजान सफल भयौं । अहिले मृत्यु भई सक्नु भएका त्यति बेलाका जिल्ला सभापति कोशल पोखरेलको प्रमुख आतिथ्यतामा दशौं हजारको सहभागितामा बस पुराईएको थियो ।’

सडकका लागि सम्पत्ति नै लिलाम
‘उक्त सडक निर्माणमा भण्डारीलाई २५ लाख ऋण लाग्यो । सडकमा काम गर्ने रुकुम रोल्पा सम्मका मजदुरहरुले घेरेपछि मैले उनिहरुलाई पैसा चुक्ता नहुने बेलासम्म राशन उधारो दिएको हुँ, सोता गाउँकै किराना पसल ब्यवसायी वेदप्रसाद भण्डारीले भने –‘समाजका लागि मरि मेट्ने, त्यसरी प्रतिज्ञा गरेरै मोटरबाटो खन्न अगुवाई गर्ने कृष्णप्रसाद भण्डारीको इमान्दारिता र समाजप्रतिको उत्तरदायित्वलाई देखेर मैले उधारो रासन दिएको हुँ जुन अहिलेपनि उहाँले एकडेढ लाख तिर्न बाँकी छ।’

उनले समाजका लागि यसरी आफ्नो ब्यक्तिगत समस्या र लालच त्यागरेर खट्ने कृष्णप्रसाद भण्डारी जस्ता मानिसहरु समाजमा विरलै पाईने बताए। रुपाकोट सोता गाउँमा घरभई लामो समय सम्म धुर्कोटको एक विद्यालयमा पढाएर हाल घर बसेका नारायणदत्त भण्डारी आफू ध्ुर्कोटमा रहँदा र पछि आँपचौरमा आउँदा पनि सोता गाउँको कृष्णप्रसाद भण्डारीले सडक निर्माणमा पुराएको योेगदानको चर्चा गर्दा आफुलाई गर्व लाग्ने गरेको बताए ।

कृष्णप्रसादको नाम ‘बाटोकृष्ण’ थियो त्यतिबेला । जसलाई नचिन्ने विरलै थिए तर अहिले सायद चिन्न छाडे होलान् तर, यो सडकले कृष्णप्रसादलाई चिनाई रहने छु’–उनले भने । सोता गाउँकै तरानाथ भण्डारी कृष्णप्रसाद भण्डारी जस्तो समाजमा यति ठुलो योगदान गर्ने ब्यक्तिलाई सरकारको तर्फबट सम्मान हुन नसकेको प्रति गुनासो गर्दछन् । ‘उहाँले हिजो यो सडक खन्नका लागि मात्र होईन, अहिले पनि कोही बिरामी भए मध्येरातमा पनि बिरामी बोकेर हिड्नु हुन्छ । कतै सडक अवरुद्ध भए पनि उहाँ नै पुग्नु हुन्छ, उहाँलाई आफ्नो र घर परिवारको मतलव छैन, समाजका लागि हरदम मरि मेट्नु हुन्छ। यस्ता मानछे अहिले पाईन्छ ? भण्डारीले यस्तो प्रति प्रश्न गरे ।

सोही गाउँ घर भै मजुवाको ज्ञानोदय माध्यामिक विद्यालयम ४० बर्ष सम्म पढाएका र हाल सोही स्थानमा रहेको टिकाराम मानका बहुमुखी क्याम्पसमा पढाउँदै आएका ६९ वर्षिय घनश्याम न्यौपाने भन्छन्–‘कृष्णप्रसाद भण्डारीका बारेमा मैले कतै सुनेर भन्दै छैन । सुरु देखि आफैले प्रत्यक्ष देखेर भन्दैछु । समाजका लागि मरि मेट्ने नेपाल आमाले यस्ता छोरा छोरीहरु विरलै जन्माउँछन् । तीनै विरलै मध्येका एक हुनु कृष्णप्रसाद भण्डारी । उहाँले त भन्नु हुन्न तर, उहाँले त्यति बेला यो सडक खन्दा ४० देखि ४५ लाखसम्म ऋण लगाउनु भएको छ । त्यही सडक खन्दा घर जग्गा नै लिलाममा पर्नु भयो । हुन त कठै कृष्ण भन्नेहरु होलान् तर, उहाँको दुःख –समस्या बुझ्ने कोही छैनन । म करिव १५ बर्ष सम्म यस भेगको श्रोत ब्यक्ति भएर काम पनि गरेको हुँ ।

उहाँले शैक्षिक क्षेत्रमा पनि ठुलो योगदान पुराउनु भएको छ । यहाँको सडक, वन खानेपानी सबै क्षेत्रमा उहाँले पुराएको योगदानले हामी नतमस्तक छौं तर सरकारी निकायले उहाँलाई वास्तै गर्दैन । आजकै कुरा गरौं, माथी शिद्धबाबातिर पहिरो गएर गाडी आवत जावत हुन नसके पछि उहाँ पुगेर आउनु भयो । अहिले भर्खर यस गाउँका कोही बिरामी भए पनि बोकेर अस्पताल पुराउनु हुन्छ ।’ अहिले छोरा छोरीले कमाउने भएर घर बनाउन सुरु गरे पनि कृष्णप्रसादको घर अलपत्र रहेको न्यौपानेले बताए । उनले सामाजिक सेवामा यति ठूलो योगदान पुराउने कृष्णप्रसाद जस्ता ब्यक्तिालाई राज्यले सम्मान गर्न नसकेको प्रति दुःख ब्यक्त गरे ।

उनै कृष्णप्रसाद भण्डारी भन्छन् –‘मैले विगतमा समाजका लागि के गरें ? भन्ने बिषय ठूलो होईन । अब यस रुद्रवेणी वामीटक्सार सडक सुविधा सम्पन्न बनोस भन्ने कु्रा नै मेरो लागि ठुलो कुरा हो । मैले सुरुदेखि नै नारा बनाएको थिएँ –‘सडक नै जिवन हो, जिवन नै सडक हो’ सडक विना विकास सम्भव छैन । मेरा लागि एमाले, कांग्रेस, माओवादी सबै पार्टी समान हुन । उहाँहरुले यस मोटरबाटो राम्रो बनाउन अझ लागि पर्नु प¥यो

सुन्छु प्रभासदेखि जोर्तेसम्म सुरुङ्ग मार्गको अध्ययन हुँदैछ रे’ त्यो पनि बनोस् र यो सडक सुविधा सम्पन्न होस, मेरो रुपाकोटबासी सहित यस भेगका हजारौं जनताले सुविधा भोग गर्न पाउनु यहि मेरो कमना छ ।’ उनले उक्त सडक खन्दा ७० हजारमा ख¥यान बेचेको ४ लाख ८० हजारमा सोतास्थित घर र ३ लाख ४० हजारमा गाडी बेचेको र त्यसले पनि नपुगेरु करिव १८ लाख अझै ऋण तिर्न बाँकी रहेको सुनाए । तर, कृष्णप्रसाद सहित हजारौं गुल्मेलीहरुले २०५० को दशक सम्म जनश्रमदान गरेर खनेको उक्तल सडकमा त्यस यता राज्याबाट खनाईएको रक मभने वालुवमा पानी खन्याए जस्तै गरि दुरुपयोग हुँदै आएको छ ।

रुद्रवेणीदेखि वामीटक्सार सम्म करिव ४० किलोमिटर सडक निर्माणमा राज्यले हाल सम्म प्रतिकिलो मिटर दुई करोड बढी खर्च गरेपनि सडकको अविगत उस्तै छ । सोता गाउँदेखि मुजवा लगाएत ठाउँ ठाउँमा पिच गरिए पनि बन्दै उप्कीदै गर्दैछ । सडकका पाँच वटा ठाडा खोलाहरुमा पुल नहुँदा वर्षायामा सडक घण्टौंसम्म जाममा पर्ने गर्दछन् । सत्यवती गाउँपालिकाका उनै पारिश्वर ढकालका अनुसार ५ वर्षअघि सर्वे गरिएका त्यस सडकका पाँच वटा पुलहरुको काम सुरु नहुँदा हालै काठमाण्डौमा पुगेर पुनः सर्वेका लागि अनुरोध गरेर ढकाल लगाएतको टिम फर्किएको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार