ताजा अपडेट »

गुल्मीका २६ वर्षिय बोडी बिल्डर मनोज

आइतबार, ०१ साउन २०७९, १६ : ५३
18 Shares

गुल्मी। ‘बैदेशिक रोजगारः अनेकन उभार’ का रुपमा नेपालीहरुले सफलता हासिल गर्दै आईरहेका छन् । गुल्मी कै युवाहरुको हकमा पनि कसैले कोरियामा रोजगारीका लागि गएको बेला अध्यानलाई पनि अगाडी बढाउँदै त्यहीबाट पिएचडी हासिल गरेका छन् । कसैले बैदेशिक रोजगारकै क्रममा अन्तराष्ट्रिय धावकको उपाधि सम्मको सफलता हासिल गरेका छन् ।

त्यस्तै पछिल्लो चरण अर्का गुल्मेली युवाले पनि हालै बैदेशिक रोगजार कै क्रममा आफुलाई बोडि बिल्डरका रुपमा स्थापित गरेका छन् । रेसुङ्गा नगरपालिका वडा नम्वर –४ जोगिथुम पनाह निवासी २६ वर्षिय मनोज दर्लामी मगरले मलेशियामा भए्रको बोडी बिल्डीङ्ग प्रतियोगितामा भाग लिई आफुलाई प्रोफेशनल बोडि बिल्डरका रुपमा स्थापित गरेका हुन् । उनले मलेशियाको जोहरबारुमा हालै सम्पन्न भएको एफआईएफ ईन्टरनेशनल मलेशिया बोडिबिल्डीङ्ग कम्पीटेसन– २०२२ को अन्तिम राण्डका ८ जना मध्ये प्लेस–२ उपाधी जितेका छन् ।

२०२२ जुलाई १० तारिखमा सम्पन्न भएको उक्त प्रतियोगितमा प्लेस–१ का रुपमा चाईनिज मुलका मलेशियन युवा जेस्कोले उपाधी जितेका थिए । प्लेस–२ उपाधीको ट्रफी र मेडल हाता पारेको खुशीयालीमा बोडी बिल्डर विजेता दर्लामी लेख्छन्–‘ दिन रात मेहनत पछिको खुशी’ । निश्चय नै उनले दैनिक १२ घण्टा कम्पनीको डिउँटी सकेर न्युनतम समय निकाल्दै त्यहाँका संभ्रान्त युवाहरु संग बडि बिल्डीङ्ग प्रतियोगितामा भिड्नु चानचुने कुरा थिएन । बैदेशिक रोजगारका लागि मलेशिया गएको उनि अहिले ९ बर्ष भई सक्यो । बडि बिल्डीङ्गका लागि नियमितरुपमा अथक प्रयास गरेको पनि ६ बर्ष पुगेको मनोज बताउँछन् ।

‘मैले सोचेकै थिईन् ’ इस्मा गाउँपालिका–२ को पालुखा माविका विद्यार्थी हुन् उनि । ‘अध्यान कै क्रममा बिदेश गएर पैसा कमाउने सपना शिवाय मैले अरु केही सोंचेको थिईन’ दर्लामी भन्छन्–‘ म एक सामन्य किशान परिवारको छोरा हुँ । स्वदेशमा रोजगारीको अभावमा आम नेपाली युवाहरु झैं म पनि बैदेशिक रोजगारका लागि आज भन्दा ९ बर्ष अघि मलेशिया आएको हुँ । यसरी बडि बिल्डरर्स वा अन्य केही बन्छु भनेर त सोंचेकै थिईन् ।’ उनि पनाहस्थित आमा तारा दर्लामी र बाबु डेमबहादुर दर्लामीका जेठा छोरा हुन् । तीन भाई छोरा र एक छोरी मध्ये मनोज गाउँमा छँदा सामन्य पातलो शरिर भएक युवा थिए । मनोज भन्छन्–‘ मलेशिया आएर मोटाएर पनि म यहाँ जिम गर्न जाँने बेलामा जम्मा ५५ केजी तौलको थिएँ ।

अहिले सामन्य अवस्थामा मेरो वजन ७५ केजी भन्दा माथी छ । उनि यसै महिना भित्र घर आउने बताउँदै स्वदेशमा बोडि बिल्डीङ्ग कै क्षेत्रमा व्यवसायिक रुपले लाग्ने ईच्छा प्रकट गरेका छन् । त्यसका लागि उनले काठमाण्डौस्थित मनबहादुरा राना मगर, सागर, यम लगायतका थुप्रै ख्याती प्राप्त बोडि बिल्डर्स संग सम्पर्क राखेको बताए । ‘म उहाँहरु सिनियर दाजुहरुको सम्पर्कमा छु , गएपछि भेट्छु र मलाई थप गाईड गर्नुहुनेछ भन्ने कुरामा बिश्वस्त छु’–उनले भने । उनि मलेशियाको जोहरबारु स्थित जेसिवाई एचडिडी टोक्नोलोजी एसडीएन बिएडी ( प्रालि ) का कम्पनीका कामदार हुन् । उनले मलेशियामा अन्तराष्ट्रिय स्तरको बोडि बिल्डर्सको उपाधी जिते पछि यता घर परिवार र छिमेकीहरुले सामाजिक सञ्जालमा खुशीयाली प्रकट गरेका छन् ।

छिमेकी इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले मलेशियामा मनोज दर्लामीले प्राप्त गरेको सफलता सुन्दा आफु सहितका छिमेकीहरुलाई निकै खुशी लागेको बताउँदै उनलाई स्वदेश मै प्रोफेशनल बोडि बिल्डरका रुपमा स्थापित गर्न के सहयोग गर्नु पर्ला ? भन्ने जिज्ञाषा राखेकी छन् । त्यस्तै छल्दीटारका युवा तथा मुसिकोट नगरपालिका–३ जनजागृति माविका शिक्षक प्रकाश क्षेत्रीले गुल्मेलीको गौरवका रुपमा उनलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् ।

पनाहका समाज सेवी तथा नेपाली सेनाका अवकास प्राप्त सुवेदार लालबहादुर दर्लामीले मनोजले नसोचेकै सफलता हासिल गरेको भन्दै खुशी ब्यक्त गरे । मनोजकी आमा तारा दर्लामी भन्छिन्–‘ गए देखि पैसा पठाएको पठाई छ । जेठो छोरा हो , उसैको भरमा छौं हामी । फोन पनि गरिरहन्छ । त्यसरी नाम कमायो भन्छन् । कसरी टाईम निकाले होला ? के पैसाले पुगे होला ? ’ तम्घसका बासीन्दा ( बक्सर खेलाडी ) तथा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष प्रितम काउछाले नयाँ पुस्तामा तम्घास बसपार्कका प्रदिप श्रेष्ठले पनि बोडि बिल्डर्स प्रतियोगितामा भाग लिएको सुनेको तर गुल्मीबाट पुरानो पुस्तामा व्यवासायिक रुपमा लागेको आफुले थाह नपाएको बताए ।

केहि दिनअघि मात्र बैदेशिक रोजगारकै क्रममा अन्तराष्ट्रिय धावकको उपाधी जितेर आएका गुल्मीको धुर्कोट गाउँपालिका– ३ का युवा नारायण श्रेष्ठलाई जिल्ला विकास समिति गुल्मीले सवागत अभिनन्दन गरेको थियो । बैदेशिक रोजगारकै शिलशिलामा कोरिया पुगेका गुल्मीदरबार गाउँपालिका–१ बलिथुमका घनश्याम ज्ञवालीले पनि त्यहााँट पिएचडी हासिल गरेर बैदेशिक रोजगारबाट पैसा मात्र होईन, अन्य धेरै कुरामा पनि जिवन सफताको उभार ल्याउन सकिन्छ भन्ने उदाहरण देखाएका छन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार