ताजा अपडेट »

बाइसे-चौबिसे राज्यको ईतिहास बोकेको पाल्पा दरबार संग्राहलय (फोटो फिचर)

विहीबार, २३ असार २०७९, ०८ : ०५
56 Shares

पाल्पा । पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । छिमेकी देश भारत, चीन, जापानसहित देशका विभिन्न स्थानबाट समेत दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

सङ्ग्रहालयभित्र लुम्विनी प्रदेशभित्रका विभिन्न जातजाति भाषाभाषीले परम्परागत रुपमा प्रयोग गर्दै आएको घरेलु सामग्री राखिएको छ । यस्तै बाइसे–चौबिसे राज्य, सेन राज्य, नेपाल एकीकरणका ऐतिहासिक जानकारी, नेपाल–अङ्ग्रेज युद्ध ताका प्रयोग भएका घरेलु सामग्री समेत सङ्ग्रहालयभित्र राखिएको छ ।

सङ्ग्रहालयले विविध जाति, भाषा, इतिहास र भूगोलको तथ्य र जानकारी समेटेकाले पर्यटकलाई यसले आकर्षण गरेको सङ्ग्राहलय प्रमुख चन्द्र वलीले बताए । सङ्ग्रहालयभित्र मुख्य गरेर, मगर, थारु, खसआर्य, नेवाः (नेवार), कुमाल समुदायको परम्परागत भेषभूषा, कला र संस्कृति तथा रहनसहन झल्किने सामग्री राखिएका छन् ।

पाल्पा दरबार सङ्ग्रहालयको अवलोकनका लागि पछिल्लो ८ महिनामा २०८ जना सार्क मुलुकका मुख्य गरी भारतबाट पर्यटक आएका छन् । यस्तै, १०८ जना जापान, चीन, कोरियाबाट, २० हजार ८४५ जना नेपालका विभिन्न स्थानबाट आएका छन् ।

यही अवधिमा देशका विभिन्न स्थानबाट सात हजार १३९ जना विद्यार्थीले सङ्ग्रहालयको अवलोकन गरेका छन् । सङ्ग्रहालय अवलोकनका लागि विद्यार्थीलाई छुटसहित २० रुपैयाँ, स्वदेशी नागरिकले प्रतिटिकट रु.५०, सार्क मुलुकका नागरिकले प्रतिटिकट रु.१५० र विदेशी नागरिकले प्रतिटिकट रु.२५० तिर्दै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।