ताजा अपडेट »

होली पर्वको सामाजिक सांस्कृतिक महत्व

विहीबार, ०३ चैत्र २०७८, १४ : ३९
242 Shares

होली पर्व अर्थात रङ खेल्ने पर्व, खानपान भन्दा पनि रङसँगै खेलेर आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने अनौठो पर्व अनि वसन्त ऋतुलाई स्वागत गर्ने पर्वको रुपमा नेपालमा हर्षोल्लासका साथ मुलुकभर मनाइन्छ । खासगरी यो पर्व नेपालमा छिमेकी मुलुक भारतबाट आयतित भएको मान्न सकिन्छ । तथापि कतिपयले नेपाली पर्व नै हो भनि दाबि गरेको पनि पाइन्छ ।

होली पर्व नेपालमा विशेष गरी तराइ क्षेत्रबाट विस्तार भएकाले नेपालकै मौलिक पर्व मान्ने गरिएको हुन सक्दछ । वास्तवमा यो मौलिक नेपाली पर्व भने होइन । होली पर्वको इतिहास सम्बन्धी मिथक, कथनहरुको आधार विश्लेषण गर्दा होली पर्व हिन्दु धर्मसँग सामिप्यता राख्दछ । तथापि यो पर्व आम नेपाली समुदायको सामाजिक, साँस्कृतिक, मनोवैज्ञानिक पक्षको एक अभिन्न पाटोको रुपमा स्थापित भइसकेको छ ।

होली पर्व शुरुवातको ऐतिहासिकता सम्बन्धमा अनेकन मिथक तथा जनश्रुतिहरु पाइन्छन् । हिन्दु धार्मिक कथनका अनुसार कृष्ण ज्यादै चञ्चले र उट्पट्याङ स्वाभवका थिए । युवा अवस्थामा कृष्णको दौतरीहरु राधा र गोपिनीहरु थिए । अनेक थरी उट्पट्याङ गर्ने क्रममा एक दिन कृष्णले राधाको सुन्दर, सफा मुहारमा झुक्याएर रङ दलिदिएछन् । भनिन्छ, कृष्णले उतिबेला पलासको फूलबाट रङ बनाएर प्रयोग गरेका थिए रे । राधाको अनुहार भरी रङ लगाउँदा राधा–कृष्णको भागदौड भएछ । उक्त क्रियाकलाप भइरहँदा धेरैले रमाइलो मानेछन् । यससँगै कृष्ण र राधाको माया–प्रेम बसेको कथन छ । यसैले माया प्रेमको प्रतिकको रुपमा यो पर्व मनाउने परम्परा बसेको भन्ने विश्वास गरीन्छ ।

अर्को कथन अनुसार महिसासुर राजा हिरण्यकशीपुले आफूलाई सर्वशक्तिमान ठान्दथे । हिरण्यकसीपुले व्रह्माबाट यस्तो अद्भूत वरदान पाएक थिए की उनलाई न त मानिस, न त जनावर ? न त दिन, न त रात ? न त कुनै अस्त्र–सस्त्र ? जमिन, हावा, पानी ? कसैले, कतै, काँही, केही गरी मार्न नसक्ने वरदान पाएका थिए । तर उनकै छोरा प्रह्लाद भने विष्णुका भक्त थिए । केही गरी प्रह्लादलाई आफ्नो वसमा ल्याउन नसकेको झोंकमा उनलाई मार्नको निम्ति अग्नीप्रतिरोधक क्षमता वरदान पाएकी आफ्नी बहिनी होलीकालाई आदेश दिएछन् । होलिका प्रह्लादलाई काखमा बोकेर दनदनी बलेको आगोको भुंग्रोमा हाम फालिन् । क्षणभरमै होलीका आगोमा भष्मा भइन् तर प्रह्लाद सकुशल आगोबाट बाहिरीएछन् । सोहीबेला नरसिंह अवतार लिएर विष्णु प्रकट भइ हिरण्यकसीपुलाई पनि मारेछन् ।

होलीकाले आफूले पाएको अग्नीप्रतिरोधक शक्तिको वरदानलाई दुरुपयोग गरेको हुनाले जलेर मर्नु परेको विश्वास गरीन्छ । वास्तवमा उनीले पाएकी वरदान उनी एक्लै अग्नीमा होमिएको बेला मात्र लागु हुन्थ्यो भन्ने विश्वास गरीन्छ । यसप्रकार, असत्य माथि सत्यको विजय भएको यही घट्नाको स्मृतिमा उल्लाख मनाउन “सत्य डग्दैन असत्य टिक्दैन” भन्ने मान्यताका साथ यो पर्व शुरुवात भएको भन्ने कथन पनि व्यप्त रहेको छ । होली पर्वको ऐतिहासिक पृष्ठभूमिबाट यसको धार्मिक महत्व रहेको तथ्य प्रष्ट हुन्छ ।

प्रस्तुत दुइ कथनहरुले होली पर्वको ऐतिहासिक पृष्ठभूमिलाई विरोधाभासको स्थिति सिर्जना गरे तापनि दुवैले हिन्दु धर्मसँग सामिप्यता राख्ने प्रष्ट संकेत गर्दछन् । होली पर्वको उद्गम स्थल भारतभूमिमा यस पर्वलाई विभिन्न स्थान र भाषा अनुसार विविध नामले सम्बोधन गर्ने तथा मनाउने शैलीमा पृथकता पाइन्छ । महाराष्ट्रमा स्थानीयहरुले यसलाई सीम्गा वा सीम्गो पनि भन्दछन् । हरियानामा दुलन्दी भनेर पनि मनाइन्छ । उक्त दिन भाउजुले देवरलाई हात हाल्न, पिट्न छुट हुनेछ । देवरले भाउजुलाई वर्ष दिनभर जान–अञ्जानमा सताएको पैंचो तिर्ने स्वरुप भाउजुले देवरलाई पिट्न पाउँने प्रचलन रहीआएको छ ।

पश्चिम बंगालतिर यसलाई डोल पूर्णिमा पनि भनिन्छ । पञ्जाबीहरु यस पर्वलाई होला–महोल्ला भनेर पनि भन्ने गर्दछन् । वसन्त ऋतुको आगमनको संघारमा मनाइने भएकाले “वसन्त पर्व” अनि रंगहरुको पर्व भएकाले “रंगपञ्चमी” पनि भनिन्छ । हरेक वर्ष फाल्गुन पूर्णिमामा मनाइने भएकाले नेपालमा यो पर्वलाई “फागु पर्व” वा “फागू पूर्णे” भनेर पनि भनिन्छ । लामो ऐतिहासिकता बोकेको पुरानो पर्वको रुपमा मनाइने होली पर्वले नेपाल र भारत बीचमा पारस्पारिक साँस्कृतिक सम्बन्ध विकासमा समेत महत्वपूर्ण टेवा पु¥याएको छ ।

नेपालमा अबिर–रङ को प्रयोग होलीको अवसरमा मात्र हुन्न । विजय उत्सव होस या जुनसुकै खुशीयालीको क्षणहरुमा रातो अबीरको टिका लगाउने प्रचलन सँस्कारकै रुपमा स्थापित भइसकेको छ, भन्नु अतिशयोक्ति नहोला । तथापि, होलीमा एक अर्कामा लागाइने अबीर रङको पृथक महत्व रहन्छ । होलीको दिन नयाँ साथी संगीहरुसँग नयाँ सम्बन्ध स्थापित गर्ने पर्वको रुपमा पनि मनाउने यसको ऐतिहासिक मान्यता हो । त्यसैगरी आपसी वैमनस्यता एवम् वैरभाव हटाइ मित्रवत सम्बन्ध पुनःस्थापित गराउने अवसरको रुपमा पनि यो पर्वलाई मनाइने भएकाले यसको गहन सामाजिक महत्व रहेको छ । यो पर्व रंग र साथीसंगीहरुसँगको खेलेरै मनाइने भएकाले मनमा हर्ष, उमंग र खुशीयालीका साथ रमाइलो छाउँदछ, यसले व्यक्तिको मनोवैज्ञानिक पक्षमा समेत सकारात्मक प्रभाव पार्दछ ।

होली पर्व भनेको रङ खेलेर मनाउने पर्व हो । अजकल उबेला कृष्णले राधालाई लगाइदिएको जस्तो पलाँसको फूलको प्राकृतिक रङहरुहरु नभइ विभिन्न रासायनिक पदार्थयुक्त कृत्रिम रङहरुको प्रयोग हुन्छन् । हाम्रो स्वास्थ्यको निम्ति यस्ता कृत्रिम रङहरुको नकारात्मक प्रभाव अवश्य रहन्छ । असावधानीको कारण आँखा, कामको भित्री भागमा रङ पर्ने तथा छालाको एलर्जी हुने तथा स्वाशप्रस्वाश सम्बन्धी समस्या आइपर्न सक्ने प्रवल सम्भावनाहरु रहन्छ । त्यसैले होलीमा यस तर्फ सबैले ध्यान दिनु आवश्यक छ । विशुद्ध रङ खेलेर खुशीयाली मनाउने पर्वमा अजकल अत्याधिक मादक पदार्थहरु खाने–पिउन तथा भल्गर नाचगान गर्ने प्रचलन समेत थपिएको पाइन्छ । यस्ता विकृत पक्षहरु सुधार गर्नु आवश्यक छ ।

नेपालको पहाडी क्षेत्रमा फाल्गुन पूर्णिमाको दिन र तराईमा त्यसको भोलिपल्ट होली खेल्ने प्रचलन छ । तर आजभोलि युवाहरु होलीको अघिल्लो दिनबाटै रङ खेल्न शुरुवात गर्ने गर्ने गर्दछन् । त्यसैगरी पहाड र तराईको दुवै दिन होली खेल्ने र कसैकसैले भोलिपल्ट समेत गरी तीन चार दिन सम्म होली खेल्ने गर्दछन् । यसले होली पर्वको मौलिकतामा प्रभाव पार्दछ । त्यसैगरी स–साना बालबालिकाहरु पनि निस्फिक्री होली खेल्ने गरेको देख्न पाइन्छ । साना नानीहरुलाई सकभर होलीको रङ खेल्न नदिनु नै बुद्धिमानी हुनेछ । यदि खेलाउनै परेमा अभिभावकको प्रत्यक्ष निगरानीमा थोरै समय खेलाएर पूर्ण सरसफाइ गरीदिनु बेस हुन्छ ।

होलीमा अत्याधिक रङहरुको प्रयोग हुने भएकाले त्यसले हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने सम्भावना अधिक रहन्छ । होलीको बेला लामो समय सम्म हाम्रो शरीरमा रङ रहन्छ । डर्माटोलोजिष्टहरुका अनुसार लामो समय हाम्रो छालामा रङ रहनाले नकारात्मक प्रभाव पार्ने संभावना थप बढेर जान्छ । होलीमा रङहरुको खतरा मात्र रहन्न । यो पर्वसँगै अन्य थुप्रै जोखिमहरु थपिएर आउँदछन् ।

हाम्रो समाजमा होली पर्वको धार्मिक, सामाजिक एवम् साँस्कृतिक महत्व र उपादेयता रहँदा रहँदै पनि यस सँगै थुप्रै विकृति, विसंगतिहरु भित्रिएका यथार्थ हाम्रो सामु प्रष्ट छन् । होली पर्व आफैमा विकृत नभइ होली मनाउने गलत शैली वा असावधानीका कारणले यस्ता समस्याहरु जटिल हुने गरेका छन् । दुखद पक्ष, नेपालमा होलीको दिन घरको छतबाट लडेर अनि सावरी साधन दुर्घट्नामा परेर ज्यान गुमाउनेहरु प्राय वर्षेनी थपिँन्दै आएको पाइन्छ ।

असभ्य र अपमानजनक तवरले होलीमा रङ हालिदिने, अपरिचितहरुलाई रङको लोला वा फोहोर पानी हान्ने विकृति उत्तिकै रहेको छ । होलीमा रमाइलोका नाउँमा मादक पदार्थ सेवन गरी जथाभावि गर्ने, यस्ता गलत काम गर्नेहरुलाई प्रहरी वा सामाजिक कारबाहीमा पर्दै आएको तथ्य पनि प्रशस्तै छन् । यस्ता कमजोरीहरुलाई हामी प्रत्येक सजग नागरिकहरुले परित्याग गरी होलीको असल पक्षहरुको सन्देश प्रवाह गर्नु जरुरी छ ।

होली पर्वको आरम्भ रङको माध्यमबाट आपसी माया–प्रेम बढाउने पर्वको रुपमा स्थापित भएको देखिन्छ । यो पर्वको धार्मिक, सामाजिक, साँस्कृतिक एवम् मनोवैज्ञानिक महत्व त छँदै नै छ, साथै यो पर्व प्रकृतिसँग समेत समाहित छ । वसन्त ऋतुसँग साक्षात्कार वा स्वागत गर्ने पर्वको रुपमा मनाइन्छ । होली अथवा रङहरुको पर्वलाई विकृतिसुन्य गरी सावधानीका साथ आफन्त साथीभाइ बीच माया, मित्रता अनि सद्भाव अभिवृद्धि गराउने, नयाँ–नयाँ साथीसंगीको सम्बन्ध विस्तार गर्ने, आपसी भेटघाट हाँसखेल रमाइलो गरी विगतमा तोडिएका सम्बन्धलाई पुनः जोड्ने सेतुको रुपमा हर्षोल्लासका साथ मनाउनुमा नै होली पर्वको मौलिकता, सार्थकता अनि औचित्य रहनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।