ताजा अपडेट »

बुटवल उपमहानगरको आगामी नेतृत्व: एमालेलाई चूनौती, कांग्रेसलाई अवसर !

आइतबार, २९ फागुन २०७८, १७ : ३६
4 Shares

बुटवल । चुरे पहाडको काखमा र तराईको सङ्गमस्थलमा रहेको बुटवल पश्चिम नेपालकै व्यापारिक र शैक्षिक केन्द्रको रूपमा परिचित छ । बुटवल व्यापारिक र शैक्षिक केन्द्रको रुपमा मात्रै परिचित छैन । त्यसको अलवा राजनीतिक आन्दोलन,परिवर्तन र वृत्तमा पनि उत्तिकै अब्बल र चर्चित मानिन्छ । बुटवललाई लुम्बिनी प्रदेशको राजनीतिको केन्द्रका रुपमा समेत लिइन्छ ।

वि.सं. २०१६ मा बुटवल खस्यौली नगरपालिका स्थापना भएपछि हालसम्म १३ जनाले यस नगरपालिकाको नेतृत्व प्रदान गरिसकेका छन्। वि.सं. २०१७ मा बहुदलीय व्यवस्था विघटन भएपछि बुटवल खस्यौली नगर पञ्चायतको रूपमा रहेको थियो। बहुदलीय व्यवस्था पुनःस्थापना भए पश्चात् यसको नाम बुटवल नगरपालिका राखिएको थियो।

बुटवललाई २०७१ सालमा नगरपालिकाबाट उपमहानगरपालिमा घोषणा गरिएको थियो । उपमहानगरपालिका घोषणा भए पछि र देश संघीयतामा गएपछि पहिलो पटक सम्पन्न निर्वाचनबाट बुटवलको बागडोर सम्हाल्ने अवसर शिवराज सुवेदीको हातमा पुगेको थियो ।

अहिले पनि स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै बुटवलको १४ औँ नेतृत्व कसको हातमा जाला भनेर विभिन्न अड्कलबाजी सुरु भएका छन् । राजनीतिक दलहरुले बुटवलको १४ औँ नेतृत्वको रुपमा उपमहानगरको सत्ताको बागडोर आफ्नो पक्षमा पार्नका लागि आफ्नो गतिविधिलाई तीव्रता दिएका छन् ।

यी हुन् बुटवलको १४ औँ नेतृत्वका दाबेदार
एमाले र कांग्रेस दुबै दलका नेताले टिकट आफ्नो पक्षमा पार्नका लागि ‘लबिङ’ बढाएका छन् । दुबै दलमा विभिन्न गुट उपगुट रहेकाले आफ्नो गुट उपगुटबाट आफ्नो पक्षमा टिकट हात पार्न उनीहरुले सक्रियता बढाएका हुन् । यद्यपी नेकपा एमालेबाट माधव कुमार नेपाल समूह बाहिरिएकाले कांग्रेसको तुलनामा एमालेमा गुटबन्दी भने कम छ ।

एमालेबाट अहिलेका मेयर शिवराज सुवेदी पुनः उम्मेद्वार बन्ने मनस्थितिमा देखिन्छन् । यद्यपी उनले सार्वजनिक रुपमा भने अहिलेसम्म केहि बेलेका छैन् । मेयर सुवेदीले साँेचे जस्तो राम्रो काम गर्न नसेको र काम भन्दा कुरा धेरै गर्ने गरेको भन्दै पार्टी भित्रको एउटा समूह उनलाई पुनः मेयरमा दोहोर्याउन नहुने पक्षमा छन् ।

यस्तै एमालेबाट उपमहानगर प्रमुखमा उपमेयर गुमादेवी आचार्य, एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, गोपाल राना, बाबुराम भट्टराईगायतका नेताहरु आकांक्षी छन् । गोपाल रानाले यसअघिको निर्वाचनमा पनि मेयर पदका लागि दाबी गरेका थिए । अन्तिम समयमा मेयरको टिकट सुवेदीले हात पारेका थिए । विगतमा सुवेदीलाई मेयर पदमा उमेद्वार बन्नका लागि सहयोग गरेका हिसाबले पनि रानाले टिकट पाउनु पर्ने उनी पक्षीय नेता कार्यकर्ताहरुले बताउने गरेका छन् ।

यद्यपी उपमेयर रही गुमादेवी आचार्यले पनि अब मेयरमा उठ्ने पालोको दाबी छोड्न नसक्ने देखिन्छ । सरल र स्वस्च्छ छवि भएका बाबुराम भट्टराईलाई पनि एमालेका नेता कार्यकर्ताहरुले नै विकल्पका रुपमा प्रस्तुत गर्ने गरेका छन् । यद्यपी आगामी निर्वाचनमा टिकट पाएको अवस्थामा एमालेबाट बलियो उम्मेद्वारका रुपमा रानालाई नै हेर्ने गरिएको छ ।

यता, नेपाली कांग्रेसबाट पनि गत निर्वाचनमा मेयरमा पराजित खेलराज पाण्डेय फेरि पनि उम्मेद्वारी बन्ने मनस्थिीतमा छन् । उनले सार्वजनिक रुपमै मेयरको टिकट पाउनु पर्ने दाबी गर्दै आएका छन् भने सोही अनुसार नै आफ्नो गतिविधीलाई समेत अगाडी बढाएका छन् ।

उनीसँगै कांगे्रसबाट क्षेत्रीय सभापति हरि लम्साल, उद्योगी तथा महाधिवेशन प्रतिनिधि चुन्नु पौडेल, व्यवसायी सुरेन्द्र श्रेष्ठ, हरिबहादुर आचार्यले उपमहानगर प्रमुखमा आकांक्षा व्यक्त गरेका छन् । आकांक्षीहरु धेरै भएका कारण पार्टी भित्रको गुट उपगुटको कारण बुटवलमा टिकट मिलाउनका लागि कांग्रेसलाई सहज भने छैन् । यद्यपी बुटवलमा मेयर जित्नका जनतामा लोकप्रिय रहेको नेतालाई अगाडी सारे मात्रै जित सहज हुने कांग्रेस नेताहरुले बताउँछन् ।

गत निर्वाचनमा पराजित भएपछि पनि जनताका घर घरमा जाने र बुटवलका धेरैसँग पाण्डेको राम्रो सम्बन्ध भएकाले भोट क्रस गर्न सक्ने भएकाले पनि उनलाई निकट दिनु पर्ने कांग्रेसका धेरै नेताहरुको भनाई छ । यसकारण आगामी निर्वाचनमा टिकट पाएको अवस्थामा कांग्रेसबाट बलियो उमेद्वारका रुपमा पाण्डेलाई हेरिएको छ ।

एमालेलाई चूनौती, कांग्रेसलाई अवसर !
गत निर्वाचनमा एमाले र कांग्रेसका बीच मतान्तर कम भएकाले १४ औँ नेतृत्वको लागि हुने निर्वाचन एमालेलाई चूनौती र नेपाली कांगे्रसलाई अवसरको रुपमा हुने सक्ने देखिएको छ । बुटवलमा माओवादी केन्द्र र एमालेबाट विभाजन भएर निर्माण भएको एकिकृत समाजवादीको जनाधार कम भएकाले प्रमुख पदमा एमाले र कांग्रेसका बीच नै प्रतिष्पर्धा हुने निश्च्ति प्रायः छ ।

गत निर्वाचनमा नेपाली कांग्रेसले र माओवादी केन्द्रले तालमेल गर्दा समेत एमालेले बुटवलको प्रमुख, उपप्रमुख सहित अधिकांश वडामा जितको झण्डा फराएको थियो । यस पटक पनि कांग्रेस माओवादीलाई उपमेयर र एकीकृत समाजवादीलाई केही वडा अध्यक्ष दिएर भए पनि चुनावी तालमेल गर्ने पक्षमा छ ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेका शिवराज सुवेदीलले कांग्रेसका खेलराज पाण्डेयलाई २ हजार ३९८ मतान्तरसहित पराजित गरेर बुटवलको १३औँ नेतृत्व आफ्नो हातमा लिए । सो निर्वाचनमा एमालेका सुवेदीले २३ हजार २४९ र माओवादी केन्द्रको समेत समर्थन पाएका कांगे्रसका उम्मेदवार पाण्डेले २० हजार ८५१ मत लिएका थिए । यस्तै उपमेयरमा पनि एमालेकै गुमादेवी आचार्यले जित निकालेकी थिइन् भने नेकपा माओवादीका जगत पोखरेल पराजित भएका थिए । पोखरेल अहिले भने एमालेमै आवद्ध छन्।

अहिले नेपाली कांगेस बुटवलमा एमालेबाट विभाजन भएर बनेको एकृकित समाजवादी, माओवादी केन्द्र लगायतका दलसँग तालमेल गर्दैै एमाले विभाजनको फाइदा उठाउँदै नेतृत्व हात पार्ने दाउमा छ । २०४९ मा कांग्रेसबाट मेयरमा सूर्यप्रसाद प्रधान र उपमेयरमा रामप्रसाद खनाल विजयी भएका थिए। यस्तै २०५४ सालको निर्वाचनमा एमालेका भोजप्रसाद श्रेष्ठले नतिजालाई उल्ठाउन सफल भए । त्यसपछि कांगे्रसले बुटवलमा कुनै पनि निर्वाचन जित्न सकेको छैन।

बुटवल उपमहानगरपालिका पूर्व मन्त्री एवम् एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र समेत हो । उपाध्यक्ष पौडेल अहिले पार्टी विभाजन भएकाले त्यसको फाइदा विपक्षलाई जान नदिनका लागि आफू नजिककोलाई भन्दा पनि लोकप्रिय नेतालाई अघि सारेर भएपनि बुटवलमा फेरि विजयको झण्डा फराउन चाहन्छन् । एमाले उपाध्यक्ष पौडेल स्थानीय तहको निर्वाचनमा पार्टी बुटवलमा पराजित भएको खण्डमा संघीय निर्वाचनमा आफूलाई समेत समस्या पर्ने भएर बुटवलमा जसरी नि पार्टीलाई जिताउनै पर्ने चूनौतीमा छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण बुटवल आफ्नो निर्वाचन क्षेत्र नभए पनि बुटवलको बागडोर आफ्नो पार्टीको हातमा लिएर जिल्लामा शक्तिशाली हुन चाहन्छन् । उनको यही आंकाक्षाकै कारणले गत निर्वाचनमा उनकै जोडबलमा कांग्रेस र माओवादीबीच तालमेल भयो । तर, उनी सफल हुन सकेनन्। २०७४ सालमा सफल हुन नसकेका खाँण अहिले एमाले फुटको मौकामा बुटवलमा एमालेको विरासत भत्काउने रणनीतिमा छन् । एमालेको पकड क्षेत्र मानिँदै आएको बुटवलमा कांग्रेसले जिते सँधै पराजित हुने क्षेत्रमा पार्टीलाई जिताएको भनेर जसको अवसर उनै खाँणलाई मिल्ने छ ।

खाँणले आफू निकटकोलाई काखा र अर्को पक्षलाई पाखा राख्ने गरेको आरोप कांग्रेसकै नेता बताउँछन । रुपन्देहीमा संस्थापन इतरको बाहुल्यता छ । खाँण संस्थापन समूहका हुन् । यद्यपी यस पटक खाँण आफू निकटको भन्दा पनि जनताले विश्वास गर्नेलाई टिकट दिएर भए पनि सँधै पराजित हुने क्षेत्रमा पार्टीलाई जिताएको जस लिन चाहान्छन्।

नेकपा एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले भने बुटवलमा एमाले हार्छ भन्ने कुरा कल्पना भन्दा पनि बाहिरको कुरा भएको बताउँछन् । बुटवलमा नेकपा एमालेको संगठन एकदमै बलियो रहेको र पार्टी विभाजनले क्षेत्र नम्बर दुईमा केही असर नगरेकाले जित निश्चित रहेको दाबी गर्दछन् ।

‘बुटवलमा एमालेको संगठन निकै बलियो छ । वडा, टोलसम्मै हाम्रो संगठन क्रियाशिल छ । पार्टी विभाजनको असर केही परेको छैन । केही साथीहरुले मात्रै पार्टी छाड्नु भएको छ । छोडेका भन्दा धेरै नेकपा एमालेमा आउनु भएको छ । यसपटक गत निर्वाचन भन्दा पनि धेरै मतान्तरले बुटवलमा एमालेले जित्छ । यहाँ एमाले हार्छ भन्ने कुरा त कल्पना भन्दाको पनि बाहिरको कुरा हो । ’–उनले भने ।

यता, नेपाली कांग्रेस बुटवलका सभापति खेलराज पाण्डेले यस पटक बुटवलमा कांग्रेस हार्ने छुट नभएको बताउँछन् । विगतमा भएका कमिकमजोरीलाई सुधार गर्दै बुटवलमा कांग्रेसले जित्ने दाबी गर्दछन् ।

‘गत निर्वाचनमा केही प्राविधिक कारणले गर्दा विजय हुन सकिएन । यस पटक विगतका सबै कमिकमजोरी सुधार गर्दै बुटवलमा हामी जित्छौँ । गत स्थानीय तहको निर्वाचनमा पराजित भए पनि निर्वाचित भएका मेयर भन्दा धेरै जनताको घरदैलोमा पुगेरै विगतमा भन्दा संगठनलाई समेत बलियो बनाएका छौँ । – उनले भने ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।