ताजा अपडेट »

प्यूठान दुर्घटना : जन्तीको लावालस्कर, फर्केपछि लस्करै दाह संस्कार

आइतबार, २३ माघ २०७८, ११ : २१
6 Shares

बुटवल । शुक्रबार साँझ ८ बजेको समयमा प्युठानको गौमुखे गाउँपालिका–६ लिवाङ्गबाट जिपमा विवाहको बाजा तालको गीत घन्काउँदै र जन्तीहरु मध्ये युवाहरुले हात नचाउँदै हर्षखुशीका साथ सोही जिल्लाको नौवहिनी गाउँपालिका-६ साविक लुङ गाविस-८ को मौरीझारेटोलस्थित बेहुली लिन पुगेका थिए । दुर्भाग्य उसै दिन राती बेहुली लिएर फर्किएका जन्ती चढेको जीप दुर्घटना हुँदा मृत्यु भएका ८ जना मध्ये अधिकांसको शव लहरै दाहसंकार गरिएको छ ।

शुक्रबार साँझ ८ बजे पछि जन्ती पर्छियो । जग्गेमा बेहुला बेहुलीलाई राखेर सिन्दुर सजाउने देखि ढोगभेट कार्य सकियो । जन्तीहरुलाई खानपिन गराईयो । २० बर्षीया बेहुली रिमा जिसीका जेठा बाबु डम्वरबहादुर जिसी भन्छन्–‘रातको समय पानी पनि परेको छ , आज नजानुहोस, भोली विहानै बटाउँला भनेर निकै कर गरियो । जन्तीहरुले मान्दै नमाने पछि राती १० बजेर ५५ मिनेट जाँदा यहाँबाट विदा गरेका हौं । रातको साढे १ बजे दुर्घटनाको खबरले हामी भावविहल भएका छौं । ’ लुङगाउँका समाज सेवी अम्मरबहादर केसीका अनुसार गोविन्दबहादुर जिसीका दुई छोरा चार छोरीहरु मध्ये बेहुली रिमा माईली छोरी हुन् । जेठीको विवाह भएको छ । हिजो दिदीको विवाहमा लोकन्ती बनेर हिडेकी साईली छोरी १८ बर्षीया विपना जिसीको पनि त्यस दुर्घटनामा परि मृत्यु भएको छ । अर्की लोकन्ती वेहुलीकी भाउजु सावित्रा जिसी दुर्घटनामा परि गम्भीर घाईते छन् । दुई बहिनीले गाउँकै विद्यायमा कक्षा १० मा पढ्दै थिए ।

यहि क्रममा लिवाङबाट केहि दिन अघि रिमालाई माग्न आए । केटा केटीको मनपरापर भए पछि बाबु आमले छोरी दिने निर्णय सुनाएर माघ २१ विवाहको लगन जुराईयो । सोही अनुरुप हिजो हर्षित र गर्वित बेहुलीका बाबु आमा , हजुर आमा लगायतले आर्शिवाद दिदै टिकाटाला गरेका थिए । दुभाग्य: वेहुली छोरी घाईते भए पनि अर्की छोरी विपनालाई गुमाउँदा बाबु आमा लगायतको परिवारजन अर्धमुर्छित भएका छन् । लिवाङ्गका वासीन्दा तथा वेहुलाका छिमेकी सुरेश बिश्वकर्माका अनुसार यता २५ बर्षीया बेहुला दानबहादुर खड्काले पनि एउटी सहोदर दिदी नन्दी खड्का सहित सबै नजिकका आफन्त गुमाएका छन् ।

उनका अनुसार श्रीमान श्रीमति र छोरी सहित एकै परिवारका तीन जना मृत्यु भएका बसन्त खड्का , बसन्ती खडका र उनकी ११ बर्षीया छोरी एलिसा वेहुलाका मामाकी छोरी तर्फका दिदी भिनाजु र भाञ्जी हुन् । मृतक बसन्त खड्का नेपाली कांग्रेस गौमुखे गाउँपािलका गाउँ कार्या समित उपसभापति पनि थिए । बिश्वकर्माका अनुसार मृतक नन्दी खड्का वेहुलाकी काकी हुन् । लुङ गाउँका समाज सेवी अम्मरबहादुर केसीले गएराती विजुवार अस्पतालबाट वेहुलीकी मृतक वहिनी विपनाको शव बुझेर अन्त्यष्टि गर्न थालिएको बताए ।

उता लिवाङ्ग गाउँका मृतक ७ जनाको शव पनि पोष्टमार्टम गरियो । बिश्वकर्मा भन्छन्-‘लिवाङ गाउँका मृतक सात जना मध्ये जीप चालक बलबहादुर बुढा मगरको शव मगर समुदायको धर्म संस्कार र उनीहरुको परम्परागत घाट अलि माथी लगेर दाहसंस्कार गरिएको छ । अरु ६ वटा शव झुम्रिकखोलाको लिवाईदोह घाटमा लगेर लहरै दाहसंस्कार गरिएको छ । दुर्घटनामा परि बेहुलाका सहोदर भाई नरेश खड्का गम्भीर घाईते छन् । बेहुला र बेहुली सहित पाँच जना घाईतेलाई बुटवल रिर्फर गरिएको, ती मध्ये बेहुलाको अवस्था सामन्य रहे पनि बेहुलीको हात चुँडिएको र अवस्था गम्भीर रहेको प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

बिश्वकर्माका अनुसार बेहुली भित्राउन घर सजाएर बसेका र भोज भतेरको तयारी गरिरहेका बेहुलाका बाबु आमा घरै थिए । दुर्भाग्यः बेहुला र बेहुली यति बेला अस्पतालको शैयामा छट्पटाएका छन् । एउटी छोरी केशरी खड्कालाई गुमाए पछि बेहुली भित्राउन सजाईको त्यो घर काज किरियाको कुनोमा परिणत हुँदैछ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार