ताजा अपडेट »

सिमा-नाकाहरुमा थप कडाई गर्छौ : प्रजिअ रेग्मी

शुक्रबार, ०३ मंसिर २०७८, २० : ४४
10 Shares

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले देउखुरी क्षेत्रमा कोइलाबास भन्सारदेखि लिएर भारतसँग जोडिएका थुप्रै नाकाहरु रहेकाले शान्ति सुरक्षाको सतर्कता बढाउने र थप कडाइ गर्ने बताए । राप्ती प्रेस मञ्च र राप्ती गाउँपालिकाले शुक्रबार गाउँपालिकाको कार्यालय मसुरीयामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताए । रेग्मीले समग्र दाङ जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्ने जिम्मेवारी आफ्नो भए पनि प्रहरी दरबन्दी न्युन भएका कारण शान्ति सुरक्षामा भने अनुसारको काम गर्न नसकिएको पनि बताए ।

त्यसैगरी प्रजिअ रेग्मीले नागरिकसँग भएका जिज्ञासा तथा समस्या निर्धक्कका साथ राख्न सुझाव समेत दिए । उनले प्रहरी युनिट भित्र गलत क्रियाकलाप गर्ने प्रहरीलाई समेत तुरुन्त कानुनी दायरामा ल्याउने बताए । त्यस्तै कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले समग्र देउखुरी क्षेत्रकै विकासमा अतुलनिय योगदान पुर्याउन आग्रह गर्दै, लमहीमा व्यवस्थित अटो भिलेज स्थापना गर्नको निम्ति सम्बन्धित निकायसँग पहल गर्न अनुरोध गरे ।

कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघ लमहीका कोयाध्यक्ष केशवराज पोख्रेलले सहमति र सहकार्यबाट यस क्षेत्रको विकास गर्न सकिने बताए । उनले कार्यक्रममा विकासमा सबै एकजुट भएर अगाडी बढ्नु पर्ने धारणा व्यक्त गरे । बजार व्यवस्थापनमा स्थानीय सरकारले चासो नराखेको भन्दै लमहीका स्थानीय व्यापारीलेहरुले कुरुप बन्दै गएको लमही बजार व्यवस्थापनमा चासो दिन आग्रह गरेका छन् ।

सुर्खेतबाट सरुवा भइ दाङ आएका दाङ प्रमुख जिल्ला अधिकबारी हिरालाल रेग्मीलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै लमहीका स्थानीय व्यापारीहरुले लमही नगरपालिकाले पूर्वपश्चिम राजमार्गमा रहेको लमही बजार व्यवस्थापनमा कुनैपनि चासो नदेखाएको भन्दै बजार व्यवस्थापनमा सक्रिय भूमिका खेलिदिन प्रमुख जिल्ला अधिकारी रेग्मीलाई ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय व्यापारीहरुले सवारी पार्किङ्क व्यवस्थापन नहुदाँ दिनप्रति दिन दुर्घटना बढ्दै गएको भन्दै, व्यवस्थित पार्किङ् लमही बजारमा मौलाउँदै गएको छाडा पशुचौपाय व्यवस्थापनमा चासो दिन आग्रह गरेका हुन् । कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका उपाध्यक्ष केशवराज पोख्रेल, रेडियो हाइबेका प्रबन्धक केपी घिमिरेलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण देउखुरी उद्योग बाणिज्य संघ लमहीका प्रेस संयोजक प्रिया स्मृती गजमेरले गरेका थिए ।

त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलेको कामलाई निरन्तरर्ता दिने बताए । तत्कालिन प्रजिअ रामवहादुर कुरुम्बाङले दाङको तुलसीपुर, घोराही र लमहीमा पुगेर आफूले सेवा प्रदान गर्दै आएका थिए ।

सोही तालिका अनुसार प्रत्येक शुक्रबार लमही, तुलसीपर बुधबार र अन्य दिन घोराही क्षेत्रमा रहेर आफूले सेवा प्रदान गर्ने बताए । शुक्रबार इलाका प्रशासन कार्यालय लमहीमा कार्यकक्ष स्थापना गरी प्रमुख जिल्ला अधिकारीको रुपमा सेवाको शुरुवात गरेका हुन् । उनले तीनवटै क्षेत्रमा रहेर जनताको सेवामा लाग्ने प्रतिवद्धता जनाए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी