ताजा अपडेट »

कार्यवाहक प्रधानमन्त्री खाँणलाई निवास अगाडि पिर्के सलामी !

आइतबार, १४ कार्तिक २०७८, २१ : ५५
12 Shares

बुटवल । गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आउँदा १५ किलोको मालाले आलोचित बनेका गृहमन्त्री बालकृष्ण खाँण यस पटक पनि आलोचित बनेका छन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि आइतबार जिल्ला भ्रमणमा आएका खाँणले राष्ट्रिय झण्डा बिना निवासमै सलामी लिएर आलोचित बनेका हुन् ।

भ्रमणको क्रममा तिलोत्तमा नगरपालिका स्थित आफ्नै निवासमा सलामी लिएका थिए । खाँणलाई हवल्दारको नेतृत्वमा रहेको नेपाल प्रहरीका जवानले सलामी दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । राष्ट्रिय झण्डालाई साक्षी राखेर सम्मानित व्यक्तिलाई सलामी दिने प्रचलन भए पनि त्यसलाई समेत बेवास्ता गर्दै झण्डा बिनानै खाँणलाई पिर्कामाथि राखेर सलामी दिनुले प्रहरी प्रशासनकै नैतिकतामा समेत प्रश्न उठेको छ । आइतबार दिउँसो पार्टी कार्यकर्ता तथा पारिवारिक भेटघाटका लागि तिलोत्तमा स्थित आफ्नो निवासमा आएका बेला नेपाल प्रहरीले उनलाई सलामी दिएको थियो ।

कुनै औपचारिक कार्यक्रम तथा सभा समारोह त थिएन नै राष्ट्रिय झण्डामुनि उभिएर सलामी दिने प्रचलनको समेत पालना गरिएको थिएन । कानूनविद तेजप्रसाद कंडेलका अनुसार यसरी सलामी दिने विषयलाई नेपालको कानूनले गलत वा सहि भनेर कुनै व्यख्या नगरेको भए पनि नैतिक प्रश्न भने उठ्न सक्छ । राज्यको सम्मानित अङ्गमा रहेका व्यक्तिलाई राष्ट्रिय सम्मान स्वरुप सलामी दिने प्रचलन भए पनि कुन सन्दर्भ र कुन समयमा सलामी लिनु उपयुक्त हुन्छ भन्ने नैतिक प्रश्नको विषय भएको उल्लेख गरे ।

भिडियो : सामाजिक सञ्जालबाट
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।