ताजा अपडेट »

तुइनसँगै काटिएको स्वाधिनता

शनिबार, १९ भदौ २०७८, १३ : २३
10 Shares

देशलाई नेताले कङ्गाल बनाए । जनताको भनिएको शासन आएको वर्षौ भयो । जनताका छोराछोरी शासक भएको धेरै भइसक्यो । यस बीचमा जनतालाई हजार सपनाहरु देखाइए । प्रतिवद्धताहरु व्यक्त गरिए । तर परिवर्तन भएको यत्रा वर्षसम्म पनि जनता आधारभूत आवश्यकता पुर्ती गर्न सक्ने अवस्थामा छैनन् । हातमुख जोड्नकै लागि विदेशीनु परेको छ ।

कर्णाली र सुदुर पश्चिम प्रदेशका त अधिकतम युवाहरु भारत गएर मजदुरी गर्नु परेको छ । यसरी भारततर्फ जाँदा भारतका सीमा सुरक्षा बलले बेलाबेलामा ज्यानै जानेसम्मका घटना घटाउने गरेका छन् । हो, तिनै पीडित पात्रहरु मध्ये एक थिए दार्चुलाका जयसिंह धामी । त्यस दिन उनी रोजगारीका लागि भारत हिडेका त थिएनन् तर महाकाली तरेर भारत भूमि हुँदै नेपाल नै जान लागेका थिए । पुलको अभावमा तुइनको सहारामा महाकाली तर्न खोजे । त्यसैबखत भारतीय सीमा सुरक्षा बल एसएसबिले उनको प्राण पखेरु लियो । त्यसकारण साउन पन्ध्र सदाका लागि हाम्रो स्वाधिनता चिरहरण भएको दिनका रुपमा इतिहासमा दर्ज भयो ।

स्पष्ट भाषामा भन्नुपर्दा उनको हत्या गर्यो भारतले । अनि लासलाई नदिमा बग्न बाद्य पार्यो । दम्पट पार्यो । हत्या भएको यत्तिका दिनसम्म पनि उनको लास भेटिएको छैन । उनका परिवार शोकाकुल अवस्थामा रहेका छन् । परिवारको एकमात्र आर्थिक आर्जन गर्न सक्नेको देहावसानपछि उनको परिवार मरितुल्य भएको छ । जीवनका बाँकी दिनहरु कसरी काट्ने भन्ने अन्यौल छ । धामीका जीवनसँगै उनको परिवारको सपना बगेर गएको छ ।

कुनै पनि मृत्युलाई एक अत्यन्त पीडादायी दुर्घटना मात्र मानेर परिवारको बिचल्लि समाधान नहुँदो रहेछ । आफन्तको मृत्यू सहनु घरपरिवार, इष्टमित्र सबैको लागि एक दुःखद क्षण रहन्छ नै । यसका अतिरिक्त मृत्युले निम्त्याएका अनेकन् असरहरु मध्य महिलाहरु माथि पर्ने आर्थिक समस्या पनि एक प्रमुख हो । सामान्यतः कमाउने पुरुष नै नरहेपछि परिवार आर्थिक रुपमा टुुहुरो हुन्छ । धामीको श्रीमती जस्तै अधिक महिलाको अर्थोपार्जनको कुनै विकल्प हुदैन । त्यसैले धामीको मृत्यु हुनु भनेको दुःख, पीडाका अतिरिक्त परिवारको आर्थिक श्रोतको मूल सुक्नु सरह हो ।

यसर्थ महाकालीको तुइनसँग उनी व्यक्ति मात्र मरेनन् । नेपाल आमाको एक छोराको हत्या भयो । उनी मारीए । उनको मरण सामान्य हैन । उनको हत्या त हाम्रो देशको स्वाधिनतासँग जोडिएको छ । सार्वभौमसत्ता, स्वतन्त्रतासँग गासिएको छ । हो, त्यसैले यो मृत्यु हैन । यो एक पाशविक हत्या हो । भारतीय सरकार हत्याको लागि जिम्मेवार छ । अझ ठूलो कुरो त उनीसँगै नेपालको स्वाधिनता पनि बगेर गयो । स्वाधिनताको चिरहरण गरियो ।

अझै गम्भिर विषय त नेपाल सरकार पीडितलाई न्याय दिलाउने चासो देखाएन । न्याय त अझ परकै कुरा भयो । भारत सरकारसँग एक शब्द सोध्नसम्म गरेन । नेपाल भित्र रहेको मोदीको दुतलाई बोलाएर घटनाबारे एक आखर सोध्ने आँट गरेन । यसकारण यस घटनाले हामी सबैलाई थप मर्महात बनायो । आम नागरिकलाई अभिभावक विहिन आभाष भयो । फलानोको हत्या भयो भन्ने भन्दा पनि हामी सबैलाई गलपासो लागे जस्तो अनुभुति भयो ।

भाषणमा, नक्सामा, नेपालका पुस्तकमा हाम्रा नेताहरुले नेपाल एक स्वाधिन देश हो भनी छाप्न, लेख्न लगाए । सानै उमेरदेखि सरकारहरुद्वारा जारी यस्ता आधिकारीक दस्तावेजहरु सही ठानी सबैले पढे । र विश्वास गरे कि नेपाल वास्तवमै एउटा स्वाधिन देश हो भनेर । तर अपसोच जबजब धामीहरुलाई भारतका एसएसबिले तुइन चुडालेर खोलामा बगाइ पासविक हत्या गर्छ अनि नेपालीहरु सोच्न वाद्य हुन्छन् कि हाम्रा पुस्तकमा भएको स्वाधिनता एक मिथ रहेछ भनेर । एक काल्पनिक कहानी रहेछ भनेर । नेपालीहरु यो पनि बुझ्दैछन कि नेताहरुले सत्ता र विपक्षिमा हुँदा स्वाधिनताको अकाट्य परिभाषालाई फरक किसिमले बुझ्ने, बुझाउन र व्याख्या गर्दा रहेछन् ।

अब गम्भिर प्रश्न उठ्छ कि दलीय स्वार्थको आखामा स्वाधिनताको परिभाषलाई सीमित पारेपछि देश कसरी स्वाधिन बन्ने । ओली सरकारले भारतसँग राष्ट्रियताको सवालमा अडान लिदा अन्य दलहरु त्यसलाई समर्थन नगर्ने । त्यसैगरी देउवा सरकारले चिनसँगको सिमा विवाद समाधानका लागि कार्यदल गठन गर्दा विपक्षिहरुले समर्थन नगर्ने । अनि को उत्पत्ति भएर हाम्रो स्वाधिनता जोगाउने हो र भन्या ? स्वाधीनता भन्ने कुरा भाषणमा मात्र सीमित पार्ने बस्तु पक्कै हैन । यो त सबै दलहरु एक भएर व्यवहारमा उतार्नु पर्ने विषय हो । सत्ता बाहिर रहँदा आफ्ना कार्यकर्तालाई जोसीलो पार्न राष्ट्रियता, स्वाधीनताका विषयमा चर्का भाषणबाजी गर्नेहरु सरकारमा जाँदा भारतले गरेको हत्यासम्मको कुरामा बेखबर देखिन्छन् ।

स्वाधीनताको अर्थ आफ्नै अधीन वा आत्मनिर्भतामा रहेको; पराधीन नभएको; स्वतन्त्र; स्वच्छन्द भन्ने हुन्छ । यस्तै प्रकृतिको स्वतन्त्रता भएको देशलाई स्वाधीन राष्ट्र भनिन्छ । भारतले हामी माथि हत्या गर्ने कुकृत्य गर्दासमेत नेपाल सरकार मौन बस्छ भने हाम्रो स्वाधिनता खै ? हाम्रो सार्वभौमसत्ता कस्को हातमा छ ? प्रत्येक दिन विदेशी इशारामा काम भइरहेको अवस्थामा सरकार र दलहरु चुप रहनु वा आफ्नो सहजता हेरी समर्थन वा विरोध गर्नुले स्वाधीनता भन्ने विषय नेपालका दलहरुका लागि खोक्रो नारा रहेछ भन्ने छर्लङ्ग भएको छ । उनीहरुको रुप उदाङ्गो भएको छ । पराधीन मानसिकता बोकेका नेपालका नेताहरुले जति भाषण गरेपनि उनीहरु आँफै परिवर्तन नभएसम्म स्वाधीनता देखाउने दात सिवाय अरु केही हुन सक्दैन । धामी हत्या जस्तै दैनिक जसो हस्तक्षपहरु हुँदै जाने हो भने देश पराधीन मात्र हैन सिरियाकरण हुदै विश्वमानचित्रको इतिहासमा सीमित रहन पनि सक्छ ।

अन्त्यमा, धामी हत्या र नेपाली भूमिमाथि भारतीय सेनाको हेलिकप्टर बाराम्वार उडिरहे पश्चात वास्तवमा स्वाधिन देशको नागरिक भन्न लज्जाबोध भइरहेको छ । हो, हाम्रो परराष्ट्र मन्त्रालयले कडा रूपमा कुरा उठान गरे पनि भारत सुन्दैन । उल्टै अझै पेल्छ । हामी माथि दमनको निती लिन्छ । तर कुटनीतिक हिसाबले कम्तिमा तुइन किन काटेको भनेर परराष्ट्र मार्फत तथ्य त सोध्न सक्नुपर्यो नी । न्याय दिलाउन नसके पनि भारतले हत्या गर्नुको यथेष्ट कारण त दिन सक्नुपर्यो नि । नेपाल सरकारले यत्ति बोल्दैमा उनीहरु लड्नै आएछन भने हामी पनि वलिदानी दिउला बरू । आखिर मर्नु त रैछ हामीलाइ एसएसविको हातबाट । जय स्वाभिमान । जय स्वाधिनता ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।