ताजा अपडेट »

आठ हजार हेक्टरमा सिँचाइ सुविधा

शुक्रबार, ०४ भदौ २०७८, १२ : ४६
18 Shares

रुकुम । रुकुम (पूर्व) मा विस्तारै सिँचाइ सुविधाको पहुँच बढ्दै जान थालेको छ । आकाशे पानीका भरमा खेती गर्दै आएका जिल्लाका कृषक पछिल्लो सिँचाइ सुविधाबाट लाभान्वित भएका छन् । केही समयअघिसम्म जिल्लामा सिँचाइका आयोजना थिएनन् । जिल्लामा कूल क्षेत्रफलको २० हजार २६५ हेक्टर खेतीयोग्य छ ।

ती मध्ये आठ हजार हेक्टरमा सुविधा पुगेको छ । बाँकी खेतीयोग्य जमिनमा भने सिँचाइ सुविधा पुर्याउने प्रयास भइरहेको जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयका प्रमुख योगेन्द्र महतोले जानकारी दिए । कार्यालय र विभिन्न सङ्घसंस्थाका सहयोगमा जिल्लाको आठ हजार हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको उनले जानकारी दिए ।

एक सय ६२ हेक्टर क्षेत्रफलमा भने मर्मत गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०७५/७६ बाट आव २०७८/७९ सम्ममा ६८७ हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य राखेको छ । उनका अनुसार अहिलेसम्म जिल्लाको छिपखोला, इपीघारी, दादिङ, महत, कोर्जा, खाराबाङ र कोलमा सिँचाइको सुविधा पुर्याइएको छ ।

कार्यालयबाट सञ्चालित आयोजनाबाट मात्रै जिल्लाका ८०० घरधुरी सिँचाइ सुविधाबाट लाभान्वित भएका छन् । अन्य सङ्घसंस्थाबाट सञ्चालित आयोजनाबाट लाभान्वित घरधुरीको विवरण भने नभएको उनको भनाइ छ । कार्यालयले भने ती ठाउँमा लिफ्ट, पोखरी बनाएर र नहर बनाएर सिँचाइको व्यवस्था गरेको छ । यस्तै कार्यालयले कूल खेतीयोगय जमिनको १९ हजार १७५ हेक्टरमा सिँचाइको सुविधा पुर्याउने लक्ष्य राखेको छ । विस्तृत आयोजना प्रतिवेदन तयार गरेर क्रमागत बजेटमार्फत सिँचाइ सुविधाको व्यवस्था गरिने जनाइएको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।