ताजा अपडेट »

रुपन्देही अभिभावक संघबारे अभिभावक नै बेखबर, दशकसम्म एउटै नेतृत्व

सोमबार, १८ साउन २०७८, २१ : ४७
41 Shares

बुटवल । शैक्षिक विकृतिका विरुद्ध खबरदारी गर्दै अभिभावकहरुको आवाज उठाउनका लागि रुपन्देहीमा ‘अभिभावक संघ’गठन भएको दशक पुगेको छ । जिल्लाका निजी तथा सामुदायिक सबै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई समेट्नेगरी गठन भएको संघको गतिविधिबारे अधिकांश अभिभावकहरु भने बेखबर नै छन् ।

गठन भएको एक दशकसम्म पनि संघले जिल्लाका स्थानीय तह तथा विद्यालय स्तरमा आफ्नो उस्थिति देखाउन सकेको छैन । रुपन्देहीका केही पालिकाहरुमा संगठन विस्तार भएपनि उनीहरुका क्रियाकलापहरु नगन्य नै छ ।

विश्वव्यापी कोरोना महामारीसँगै शैक्षिक गतिविधिहरुमा देखिएका समस्या तथा विकृतीहरुले अभिभावक संघको महत्व थप बढे पनि उसको भूमिकामा भने प्रश्नहरु उठेका छन् । शिक्षामा गुणात्मक परिवर्तन ल्याउन र बालबालिकाको शैक्षिक, बौद्धिक, सांस्कृतिक, सामाजिक विकासको उपयुक्त वातावरण बनाउन समन्वय र रचनात्मक योगदान पुर्याउने उद्देश्यले गठन गरिएको अभिभावक संघ नै लामो समय एउटै नेतृत्वमा चलिरहँदा संस्थाको औचित्य माथि नै प्रश्न उठेका छन् ।

जिल्लामा रहेका पौने ३ लाख बढी विद्यार्थीहरुका अभिभावकहरुको साझा संस्था भनिएको संघको गतिविधिका बारेमा अधिकांश अभिभावकहरुलाई जानकारी नै छैन । कुनै एक व्यक्तिको पेवा जस्तै देखिएको अभिभावक संघले अधिकारका आवाजहरु उठाउँदै आएको दाबी गरे पनि अभिभावकहरुले संघ भएको अनुभूती गर्न पाएका छैनन् ।रुपन्देहीमा गत २०७६/७७ को तथ्याङ् अनुसार बालविकासदेखि कक्षा १२ सम्म २ लाख ७९ हजार ७४१ विद्यार्थी रहेका छन् । ती विद्यार्थीका केही अभिभावकहरुले मात्रै संघ बारे जानकार छन् ।

यस क्षेत्रमै सबैभन्दा बढी विद्यार्थी भएको बुटवलको कालिका मानवज्ञान माविका शिक्षक अभिभावक संघ अध्यक्ष इन्द्रमणी अर्यालले रुपन्देही अभिभावक संघले आफूहरुसँग कुनै विषयमा छलफल तथा समन्वय नगरेको प्रतिक्रिया दिए । विद्यालयमा रहेका साढे ६ हजार विद्यार्थीका अभिभावकहरुको अध्यक्ष तथा संघलाई नै जानकारी नहुने गरी बनेको अभिभाव संघले सबैलाई समेट्न नसकेको अर्यालले बताउँछन्।

‘भेला तथा सम्मेलनहरुमा आसन ग्रहण गर्ने बाहेक अध्यक्षको (रुपन्देही अभिभावक संभका अध्यक्ष) अरु काम देखेको छैन ।’–उनले भने, ‘संघले जिल्लामा रहेका सबै सामुदायिक तथा निजी विद्यालयका अभिभावकहरुलाई समेट्न पर्ने हो तर त्यसो भइरहेको छैन ।’ अभिभावक संघको नाममा केही सिमित व्यक्तिहरुले आर्थिक लाभ लिने बाहेकका काम नभएको उनको प्रतिक्रिया छ । विगत ६ वर्षदेखि विद्यालयको अभिभावक संघमा सदस्यदेखि हाल अध्यक्षसम्म आईपुग्दा रुपन्देही अभिभावक संघ बारे आफूलाई जानकारी नभएको उनले बताए ।

यसैगरी तिलोत्तमा नगरपालिका–५ मा अवस्थित शान्ति नमूना माध्यमिक विद्यालयकी शिक्षक अभिभावक संघ अध्यक्ष जमुना तिवारीले पनि रुपन्देही अभिभावक संघको गतिविधि बारे जानकार नभएको बताइन् । ३ हजार बढी विद्यार्थीहरुले अध्ययन गरिरहेको शान्ति नमूनामा विगत २ वर्षदेखि अभिभा संघको अध्यका रुपमा काम गर्दै आएकी उनले हालसम्म जिल्लामा गठित अभिभावक संघ बारे आफूलाई कुनै पनि कुरा जानकारी नभएको उल्लेख गरिन् ।

रुपन्देहीकै सैनामैना नगरपालिका–१ मा अवस्थित सैनामैना नमूना माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष धुर्वप्रसाद भट्टराईले पनि हालसम्म जिल्ला स्तरमा अभिभावकहरुको भेला भएको बारे आफूलाई जानकारी नभएको बताए । विगत ८ वर्षदेखि उक्त विद्यालयमा अभिभावक संघको सदस्यहुँदै अध्यक्षको जिम्मेवारी सम्भालेको २ वर्ष भइसक्दा पनि जिल्लामा गठन भएको संघ बारे आफूलाई जानकारी नभएको उनले बताए । अभिभावक संघ बारे अनविज्ञता प्रकट गर्दै उनले उक्त संस्थाको नाममा हालसम्म कुनै छलफल तथा समन्वय नभएको बताए ।

स्थापनादेखि नै अध्यक्ष भएका रुपन्देही अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवालीले भने संघमा आवद्ध हुन र नेतृत्वका लागि अभिभावकहरुले चासो नदेखाउने गरेको बताउँछन् । आफूले नेतृत्व हस्तान्तरण गर्न चाहे पनि अहिलेसम्म कुनै पनि अभिभावकले अघि नसर्दा संघमा आफूले नै नेतृत्व गर्नुपर्ने बाध्यता सुनाए । अभिभावक संघहरुको छाता संस्था नेपाल अभिभावक महासंघको केन्द्रीय सदस्य समेत रहेका ज्ञवालीले जिल्लाका स्थानीय निकायहरुमा समेत संघलाई बिस्तार गर्ने प्रयास असफल भइरहेको बताए ।

जिल्लाका अधिकांश विद्यालयका अभिभावकहरुले संघले आफूहरुलाई भेला तथा छलफलका लागि कुनै पनि समन्वय नगरेको बताए पनि ज्ञवालीले भने संघप्रति अभिभावकको चासो कम हुने गरेको बताउँछन् । ‘समस्या परेको बेलामा मात्रै अभिभावक संघ सम्झने प्रवृत्ति छ ।’–अध्यक्ष ज्ञवालीले भने, ‘नेतृत्व लिन र संघमा आएर काम गर्न कसैले खोज्दैन, आर्थिक लाभ प्राप्त गर्ने संस्था नभएर पनि होला अभिभावकहरुको चासो नहुँदा संगठन विस्तार गर्न सकिएको छैन ।’

शैक्षिक संस्थाहरुमा तथा विद्यार्थीहरुमार्फत पनि अभिभावकहरुलाई निम्तो गर्दा समेत कम उपस्थिती हुने गरेको उनले बताए । समय–समय सचेतनाका कार्यक्रमहरु गरिरहेको बताउँदै उनले कार्यसमितिहरुबाट नै पैसा उठाएर संस्था चलाइरहेको बताए । संघको वरिष्ठ उपाध्यक्षमा नित्यानन्द ज्ञवाली, उपाध्यक्ष झविन्द्र पौडेल, महासचिवमा नारायण नेपाल र कोषाध्यक्षमा यज्ञ ज्ञवाली रहेका छन् ।

सचिव रहेका हेम थापा अभिभावक संघ लुम्बिनीको अध्यक्ष भएपछि महासविचबाटै काम गर्नेगरी सो पद खाली रहेको अध्यक्ष ज्ञवालीले बताए । अन्य कार्यसमितिहरुका बारेमा भने रेकर्ड नै हेर्नु पर्ने उनले बताए । कति सदस्य समिति छ भन्ने बारेमा पनि संघको खातामा रहेको रेकर्ड हेर्नु पर्ने उनको प्रतिक्रिया थियो । वि.स. २०६८ साल तिर संस्था स्थापना भएको उनले जानकारी दिए ।

https://www.globalaawaj.com/archives/125208
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।