ताजा अपडेट »

नेपाल व्यायाम मन्दिर र धर्मश्री शारीरिक सुगठन प्रतियोगिता

बुधबार, ०६ साउन २०७८, १९ : ३०
26 Shares

विभिन्न विद्वानहरुले मानव शरीरको तुलना फलामसँग गरेका छन् । फलामबाट निर्मित कुनै बस्तुहरु लामो समयसम्म प्रयोगविहीन अवस्थामा राखिए भने विस्तारै त्यसमा खिया लाग्न शुरु हुन्छ । ठिक त्यसैगरी यदि व्यक्तिले हाम्रो शरीरको विकासको माग अनुरुप व्यायाम र उचित खानपान गर्दैन भने मानव शरीर विस्तारै विस्तारै कमजोर हुँदै जान्छ र यसले प्रदर्शन गर्ने क्षमता पनि ह्रास आउँन थाल्छ । यिनै मान्यताहरुलाई आत्मसात् गर्दै नेपालमा पनि मानिसहरु स्वास्थ्य शरीरका लागि शारीरिक सुगठनका अभ्यास गर्दै आएको पाइन्छ ।

नेपालमा शारीरिक सुगठन खेलको चर्चा गर्ने र प्रजातन्त्रका सेनानी तथा अमर सहिद धर्मभक्त माथेमाको नाम समावेश गरिएन भने त्यो अधुरो अपुरो हुन्छ । नेपालमा शारीरिक सुगठनका पिता मानिएका धर्मभक्त माथेमाले नै यस खेलसँग नेपाली जनमानसलाइ परिचित गराए । बि.स १९३० को दशक तिर स्वतन्त्रता सेनानी धर्मभक्त माथेमाले काठमाण्डाै ओमबाहाल स्थित आफ्नै फुपुको घरको आगनमा डम्बल र बारबल प्रगोग गरी व्यायाम गर्ने तरिकाको शुरुवात गरेका थिए । शारीरिक सुगठन खेलको बिकासमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरले सन् २०४२ सालबाट उनको स्मृतिमा सर्वाधिक पुरस्कार राशीको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

नेपाल व्यायाम मन्दिर स्थापना
वि.सं. २०१० सालमा नेपाल व्यायाम मन्दिरको नाममा काठमाडौंमा व्यायामशाला खोलियो । सामुदायिक स्तरबाट खोलिएको यो नै नेपालको पहिलो व्यायामशाला हो । नेपाल ब्यायाम मन्दिरले शुरुमा खिचापोखरी भुरुङ्गखेल हुदै २०२५ सालको सेरोफेरोबाट ज्याठामा जीमखाना सञ्चालनमा ल्याएको थियो ।हाल नेपाल व्यायाम मन्दिर रहेको ज्याठाको जग्गा प्राप्तिको पछाडी लामो कथा रहेको नेपाल व्यायाम मन्दिरका वर्तमान अध्यक्ष नारायण प्रधान बताउँछन् । तत्कालिन व्यायाम मन्दिरका सञ्चालक स्व.द्वारिका दास श्रेष्ठ र लोक विलास बज्राचार्यले जनरल बहादुर शमशेर जबरासँग व्यायामशाला संचालनका लागि जग्गा चन्दा माग गर्न जाँदा वि.सं. २०११÷२÷५ गते ‘व्यायाम सञ्चालन गर्न’ भनी बकसपत्र प्राप्त भयो ।

केहि समयपछि केही व्यक्तिहरु नापीहुँदा सो जग्गाको कित्ताकाट गरी आफ्ना नाममा नामसारी गर्ने प्रपञ्च समेत गरे । पछि खेलप्रेमी युवाहरुले नारा जुलुस लगायत नापी कार्यालय घेराबन्दि समेत गरे । कहिले मातपोत कार्यालयका कर्मचारीहरुले मिसिल हराएको भन्ने कहिले अनेक बहानाबाजी गरेर लामो समय दुखः दिएको प्रधान बताउँछन् । उनकै नेतृत्वमा लामो प्रयास पछि वि.सं. २०४५ सालमा तत्कालिन अञ्चालाधिश धर्म बहादुर थापाको ठाडो आदेशमा मालपोत कार्यालयले हराएको भनिएको मिसिल फेला पर्यो । वि.सं. २०६७ मा तत्कालिन मालपोत अधिकृत प्रेम बहादुर खपाङ्गीले उक्त जग्गा नेपाल व्यायाम मन्दिरका नाममा हुने लालपुर्जा जारी गरेको नारायणले बताए ।प्रत्येक नेपाली शारीरिक सुगठन खेलाडीको सपना रहेको धर्मश्री प्रतियोगिता वि.सं. २०४२ सालबाट प्रारम्भ गरिएको थियो ।

धर्मश्री प्रतियोगिताको नामाकरण र प्रारम्भ कसरी भयो त ?
बि.सं. २०४२ सालमा श्रीलंकाको कोलोम्बोमा आयोजित २१औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै पहिलो पटक खेलाडी सरोज कुमार श्रेष्ठ सहभागीता जनाए। उनलाइ बिदेशीमा सँगालेको अनुभवका साथै त्यहाँको खेलको भव्यता देखेर सोहि अनुसारको नेपालमा पनि प्रोफेसनल बडी बिल्डिङ्ग प्रतियोगिता गर्न पाए हुन्थ्यो भन्ने लालशा जाग्यो । नेपालमा उति बेलासम्म राष्ट्रिय खेलकुद परिषदले मात्र एमेच्योर बडी बिल्डिङ्गको राष्ट्रिय प्रतियोगिताको वार्षिक रुपमा आयोजना गर्थो ।

नेपाल व्यायाम मन्दिरका अध्यक्ष समेत रहेकासरोजले राष्ट्रिय स्तरको प्रोफेसनल बडी बिल्डिङ्ग प्रतियोगिता आयोजना जोहो गर्न थाले । पञ्चायती व्यवस्था बहाल रहेको उक्त बेला सरकारी क्षेत्र भन्दा बाहिरबाट राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको आयोजना गर्ने कुरा फलामको च्यूरा चपाए सरह थियो । प्रतियोगिताका लागि पटक पटक सरकारी अनुमति लिने प्रयासहरु विफल भएको श्रेष्ठ बताउँछन् । त्यहीहबेला शहिद दिवसको औपचारिक कार्यक्रममा शहिद धर्मभक्त माथेमा सहित अन्य तीन अमर शहिदहरुका तस्बिर राखेर कार्यक्रम गरियो । जस्मा संयोगबश धर्मभक्तको सुगठित शरिर प्रदर्शन गरेको तस्विर परेछ ।

त्यसपछि सरोज लगायत नेपाल व्यायाम मन्दिरका अन्य साथीहरु सल्लाह गरे । शहिद धर्मभक्त माथेमा बडीबिल्डर पनि हुन्। उनको मुलुकमा व्यवस्था परिवर्तनमा समेत अतुनीय योगदान समेत गरेका छन् ।उनकै नाममा प्रतियोगिताको आयोजना गर्दा देशका लागि जीवन उत्सर्ग गर्ने शहिद प्रति थप सम्मान पनि हुने र सरकारी अनुमति लिन पनि सहजता हुने भएकाले प्रतियोगिताको नाम धर्मश्री राख्ने तय गरिएको धर्मश्रीका प्रस्तावनाकार सरोजले बताए । शहीदलाई सम्बोधन गर्ने शहीद स्मारक फुटबल लिग २०११ सालदेखि आयोजना भएको थियो ।

तर सम्मान स्वरुप शहीदको नामबाट नै नेपालमा खेल प्रतियोगिता आयोजना गर्ने श्रेय भने धर्मश्री शारारिक सुगठन प्रतियोगितालाई जान्छ । ४१/४२ साल तिर एउटा राष्ट्रिय प्रतियोगिगता भएपछि अर्को वर्ष प्रतियोगिता नहुने प्रतिकुल अवस्था थियो। काठमाडौ भएका विभिन्न हेल्थक्लबहरुले पालैपालो सञ्चालन गर्न सहमती अनुरुप विं.सं. २०४२ सालमा प्रथम पटक नेपाल व्यायाम मन्दिरबाटै अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको जग हाल्ने कामको थालनी भएको थियो ।

पहिलो धर्मश्री प्रतियोगिता
वि.सं २०४२ साल जेष्ठ ३० गते आयोजित प्रथम धर्मश्री शारीरिक सुगठन प्रतियोगिता तिन तौल समूहमा मात्रै प्रतिस्पर्धा गराएर विजेता छानिएको थियो । प्रतियोगिता आयोजना गर्दा रकमको अभावले टोलमा नाटक गर्दा प्रयोग गरिने ड्रम र बाँसको सहायताले स्टेज तयार परिएको सरोज श्रेष्ठ बताउँछन।

धर्मश्री प्रतियोगिता अन्तरक्लब स्तरियप्रतियोगिता भएको हुदां राष्ट्रिय प्रतियोगिताहरुमा स्वर्ण र रजत पदक प्राप्त गर्ने खेलाडीलाइ सहभागी हुनबाट बन्देज लगाइएको थियो । सो प्रतियोगितामा ज्ञानेन्द्र नकर्मी र किरण राजभण्डारी लगायतका खेलाडी बिजेता बनेका थिए । त्यस प्रतियोगितामा बासु श्रेष्ठ, सुशिल खड्का, सुदर्शन मान सिंह लगायतका खेलाडीहरु सहभागी भएका थिए ।

दोश्रो धर्मश्री प्रतियोगिता
पुर्व सहमती बमोजिम अन्य हेल्थ क्लबहरुले संचालन गर्नका लागि तयार नभए पछि पुनः वि.सं २०४३ सालको दोश्रो अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिता पनि नेपाल व्यायाम मन्दिरले नै आयोजनामा गर्यो । जस्मा राजन कुमार श्रेष्ठ, दिनेश राजभण्डारी र ज्ञानेन्द्र नकर्मीलगायतका खेलाडी बिजेता भएका थिए । त्यस प्रतियोगितामा शैलेश के शी, भुषण डंगोल, डिल्ली खड्की, बिजय मानान्धर, पुर्ण चन्द्र, बिकास प्रधान, सुर्य मानान्धर र चन्द्र सुब्बा लगायतका खेलाडीहरु सहभागी भएकाथिए ।

तेश्रो धर्मश्री प्रतियोगिता
वि.सं २०४३ सालको दोश्रो अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भएपछि लामो यस प्रतियोगिताले निरन्तरता पाउन सकेन । २०४८ सालमा ज्ञानेन्द्र नकर्मीको नेतृत्वमा नेपाल व्यायाम मन्दिरको नयाँ कमिटी गठन गरियो ।

नवगठित कमिटीको पहलमा विं.सं. २०५० सालमा तेश्रो संस्करण धर्मश्रीको आयोजना भयो । यसै संस्करणबाट खुल्ला रुपमा सबै तौल समूहका विजेता खेलाडीहरु बीच प्रतिस्पर्धा गराएर धर्मश्रीको विजेता चुनिँदै आएको छ । यहि साल देखि बिजेता खेलाडीलाइ १५ हजार नगद पुरस्कार दिन थालियो, जुन बि स २०५४ सालसम्म यथावत रह्यो ।रविन्शन शाक्यले २०५० सालमा भएको तेश्रो अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिता उपाधि चुम्न सफल भएका थिए ।

चौथो धर्मश्री प्रतियोगिता
सागर ताम्राकारले विं.सं. २०५३ सालमा भएको चौथो धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको बिजेता बनेका थिए । ललितपुर मंगलबजार निवासी सागरले ७५ केजी तौल समूहमा प्रथम हुदै उपाधि चुमेका थिए । २०५३ सालमा भएको चौथो धर्मश्री अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा उनलाई उपाधिसंगै १५ हजार नगद पुरस्कार दिने घोषणा गरियो । तर उक्त पुरस्कार रकमपछि उनले दुई किस्तामा गरेर बुझेको सागर बताउँछन् ।

पाँचौ धर्मश्री प्रतियोगिता
२०५४ सालमा भएको नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको पाँचौ धर्मश्री अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिता ७० केजी तौल समूहमा प्रथम स्थान प्राप्त गर्दै लालबहादुर गुरुङले उपाधि जितेका थिए । सो प्रतियोगितामा १० जिल्लाबाट ५३ जना सहभागी भएका थिए ।

प्रत्येक बजन समूहबाट १्१ जना गरि ६ जना विजेताहरूको अन्तिम चरणका लागि छनोट गरियो । जसमध्ये ५५ केजी तौल समूहमा सचित प्रधान, ६० केजी तौल समूहमा बिरु महर्जन, ६५ केजी तौल समूहमा प्रकास प्रजापति, ७० केजी तौल समूहमालालबहादुर गुरुङ, ७५ केजी तौल समूहमा सुदर्शन डंगोल र ७५ केजी भन्दा माथि तौल सम्ममा नरेश महर्जन छनौट भए । अन्तिम प्रतिस्पर्धामा सबै प्रतिस्पर्धीलाई पछि पार्दै लालबहादुर गुरुङ पाँचौं धर्मश्रीको उपाधि उचाल्न सफल भए ।उनले उपाधिसँगै १५ हजार नगद पुरस्कार समेत प्राप्त गरे । दोस्रो भएका बिरु महर्जनले ८ हजार र तेस्रो सचित प्रधानले ५ हजार नगद प्राप्त गरे ।

छैठौ धर्मश्री प्रतियोगिता
वि.सं. २०५५ को छैठौं संस्करणदेखि धर्मश्री प्रतियोगितालाइ खुल्ला राष्ट्रिय स्तरमा स्तरोन्नती गरियो । त्यस पछि राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत पदक प्राप्त गर्ने खेलाडीलाई समेत सहभागी हुन पाउने नियम बनाइयो । कपिलबस्तु निवासी जीवन गिरिले छैठौ धर्मश्री खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठनमा आफ्नो वजन समुहमा विजयी हुदै उपाधि समेत चुम्न सफल भए । विजेता भए बापत उपाधिसँगै नगद ३० हजार पुरस्कार पाएको उनले बताए ।

सातौं र नवौ धर्मश्री प्रतियोगिता

वि.सं. २०५७ सालमा भएको सातौं र २०५९ मा भएको नवौ राष्ट्रव्यापी धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि नरेश महर्जनले चुमे । उनले उपाधीसँगै नगद ५० हजार समेत हात पारेका थिए ।

आठौ धर्मश्री प्रतियोगिता

वि.सं. २०५८ सालमा भएको सातौं राष्ट्रव्यापी धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि हरीस श्रेष्ठले जितेका थिए ।नृत्यका औधी सौखिन हरिश प्रतियोगिताहरुमा म्युजिकल राउण्डमा उनको नृत्यशैलीमा गर्ने प्रस्तुतीले खेल हेर्न आएका दर्शक मात्र होइन उनका प्रतिष्पर्धीहरु र निर्णायकहरु समेत दङ्ग पर्ने गरेको अग्रज रमेशनाथ खनाल बताउँछन् ।

दशौं र एघारौं धर्मश्री प्रतियोगिता
वि.सं. २०६२ सालमा सानू गुरुङ व्यायाम मन्दिरद्वारा आयोजित दशौं धर्म श्री खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधिसँगै नगद पुरस्कार एक लाख हात पार्न सफल भए ।

सोही प्रतियोगितामा उपविजेताहरु क्रमशः दोस्रो भएका राम दाहालले ५० हजार, तेस्रो श्याम श्रेष्ठले ४० हजार, चौथो सचित प्रधानले ३० हजार, पाँचौ हरिस श्रेष्ठले २५ हजार र छैठौ अनिल श्रेष्ठले २० हजार प्राप्त गरेको थिए । सोही प्रतियोगिताको एघारौं संस्करणम २०६४ सालमा पुनः सानु विजेता बनेर लगातार दुई पटक धर्मश्री उपाधि जित्ने पहिलो खेलाडी बन्न सफल भए । यसअघि नरेश महर्जनले सातौँ र नवौ संस्करण जितेका थिए ।

बाह्रौं धर्मश्री प्रतियोगिता
वि.सं. २०६८ सालमा नेपाल व्यायाम मन्दिरद्वारा आयोजित बाह्रौ धर्म श्री खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको विजेता लोकेन्द्र परियार बने। ७५ केजी तौल भन्दा माथिको समुहबाट खेलेका लोकेन्द्रले आफ्नो समूहमा स्वर्ण पदक विजेता बन्दै अन्तिम प्रतिष्पर्धामा उपाधि कब्जा गर्न सफल भए । विजेता भएका उनले उपाधिसहित नगद पुरस्कार १ लाख ५० हजार हात पारे । ६५ केजीबाट अन्तिम चरणमा सहभागी बनेका श्याम श्रेष्ठले उपविजेता हुदै ७५ हजार तथा ६० के जी मा सचित प्रधानले तृतिय हुँदै ५० हजार नगद प्राप्त गरेका थिए ।

तेह्रौं धर्मश्री प्रतियोगिता
वि.सं. २०७१ सालमा भएको १३ औं धर्मश्रीमा राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि महेश्वर महर्जनले जितेका थिए। उनि ७५ केजी तौलबाट विजेता हुँदै उपाधि चुम्न सफल भएका थिए ।उपाधिसंगै महेश्वरले २ लाख नगद पुरस्कार हात पारे । समग्रमा रामबहादुर दाहाल दोश्रो, अर्जुन वर्णवाल तेश्रो, ज्ञाननारायण महर्जन चौथो, सचित प्रधान पाँचौं र रुजेश शाही छैटौं भए । उनीहरुले क्रमशः १ लाख, ७५ हजार, ६० हजार, ५० हजार र ४० हजार नगद पुरस्कार पाए ।

चौधौ धर्मश्री प्रतियोगिता
नेपाल व्यायाम मन्दिरद्वारा आयोजित चौधौं धर्मश्रीको उपाधि अर्जुन बर्णवालले जितेका थिए । ८० केजी तौल समूहका विजेता समेत रहेका अर्जुनले उपाधि, ब्यानेट सहित अर्जुनले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । दोश्रो भएका महेश्वरले २ लाख रुपैयाँ पाए । ७५ केजी तौल समूहका विजेता उमेर राई समग्रमा तेस्रो भएको थिए । उनले १ लाख प्राप्त गरे ।७० केजी तौल समूहको विजेता रामहरी खनाल चौथो भएका थिए । ६५ केजीका विजेता रामबहादुर दाहाल पाँचौं, संजीव कुमार श्रेष्ठ (६० केजी) छैटौं र रत्नश्री पोखराका कमल भन्डारी (५५ केजी) सातौं भएका थिए । रामहरीले ८०, रामबहादुरले ७५, सञ्जिवले ६० र कमलले ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

पन्धौ धर्मश्री प्रतियोगिता
वि.सं. २०७५ सालमा नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको पध्रौं धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलन बिक्रम सिजापतिले हात पारेका थिए । प्रतियोगिता अन्तर्गत ८० केजीभन्दा माथिको तौल तौल समूहमा प्रतिष्पर्धा गरेका मिलन समूहको विजेता बनेर फाइनल प्रवेश गरेका थिए ।

फाइनलमा मिलनले ६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसँगै मिलनले पाँच लाख रुपैयाँ हात पारे ।त्यस्तै महेश महर्जन द्वितीय भए भने रामबहादुर दाहालले तेस्रो स्थान हात पारे । यसैगरी प्रवेश श्रेष्ठ चौथो, सञ्जीव श्रेष्ठ पाँचौं, आशिष देवाजु छैटौं र सुरेश खत्री सातौं भएका थिए । उनीहरुले क्रमशः २ लाख, १ लाख, ९० हजार, ८० हजार, ७५ हजार र ६० हजार रुपैयाँ प्राप्त गरेका थिए । समूह विजेताले ३० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

प्रत्येक नेपाली शारीरिक सुगठन खेलाडीको सपना रहेको धर्मश्री शारीरिक सुगठन प्रतियोगिता हालसम्म निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ । तर, गत दुई वर्ष भने कोभिड महामारीका कारण प्रतियोगिता सञ्चालन गर्न नसकिएको आयोजक संस्थाका अध्यक्ष नारायण प्रधानले बताए ।

https://www.globalaawaj.com/archives/121703
सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार