ताजा अपडेट »

राहत संकलन तिव्र, राहादीको संयोजकत्वमा समिति गठन

आइतबार, १२ साउन २०७६, १८ : ३१
8 Shares

साउन १२,
ग्लोबल आवाज
बुटवल । गुल्मीको सत्यवती गाउँपालिका वार्ड नं.२, ३ र ४ पहिरोका कारण विस्थापितहरुका लागि कञ्चन गाउँपालिकामा आर्थिक तथा जिन्सि सामाग्री संकलन गरिएको छ । ठुलो लुम्पेकको सिंदी, बझाडी, ग्याझा, कसिन्थला, दांसिया, काहुले गस्कोट, झर्लेतुङ, खास्टुङ र लिम्घाको भिरकुना काफलडाँडा लगायत स्थानमा बाढी पहिरोका कारण सयौ घरपरिवार बिस्थापित भए छन् ।

प्रगती मगर युवा क्लब, कञ्चन-४, कञ्चन आमा समूह, नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखा र लायन्स क्लब अफ कञ्चन हरैयाको अगुवाइमा शुरु गरिएको राहत संकलनमा कञ्चन गाउँपालिका वार्ड नं. १ र २ गजेडी दानापुरमा ३० क्विन्टल चामल र वार्ड नं. ३,४ र ५ रुद्रपुरमा ४६ क्विन्टल चामल, १/१ क्विन्टल दाल र प्याज, ४२ किलो नुन, १८ लिटर तेल र १ लाख ४६ हजार २ सय ५० रुपैया आर्थिक रकम संकलन भएकोछ । संकलित रकम मध्ये २३ हजार ५ सय बराबरको थप चामल तथा दाल तेल र नुन खरिद गरिएको प्रगति मगर युवा क्लबका दिलबहादुर थापाले जानकारी दिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट पनि राहत संकलन भएको स्थानिय ब्रिजेश गुप्ताले जानकारी गराएका छन् । ‘हामीले संकलित राहतलाई कञ्चनको तर्फबाट एकद्वार प्रणालीको आधारमा राहत संकलनमा सहभागी संस्थाहरुका प्रतिनिधीहरु घटना स्थलमा गई स्थानिय जनप्रतिनिधी मार्फत हस्तान्तरण गर्ने छौं ।’–कञ्चन गाउँपालिकाका पुर्ब जनप्रतिनिधी गिर बहादुर थापाले भने ।

राहत संकलनका लागि राहादीको संयोजकत्वमा समिति गठन

यसैगरी गुल्मी जिल्ला घर भै हाल तराईका बिभिन्न जिल्लाहरुमा बसाई गर्दै आएका गुल्मेलीहरुको बुटवल बेलबासमा भएको भेलाबाट गुल्मेली सम्पर्क समाजका सल्लाहकार होम बहादुर राहादीको संयोजकत्वमा १७ सदस्यिय राहत संकलन समिति गठन गरिएको छ । जसको सदस्यमा धन बहादुर राहादी, बेन प्रसाद थापा, हिम बहादुर थापा, यम बहादुर थापा, गिर बहादुर थापा(रुद्रपुर), बेन प्रसाद राहादी(कपिलबस्तु), धनी श्रीस (मुर्गिया), ईश्वरी तरामु(सेमलार), केशरी राना(भैरहवा), राम प्रसाद भट्टराई (देवदह), गुणदेव कुवर(बुटवल), निर बहादुर पुलामी(सैनमैना), बिक्रम तरामु(मणिग्राम), अमर सिंजापती(सुनवल, नवलपरासी), हिरा तरामु(तामनगर) र पिताम्बर पुन(बेलबास) रहेका छन ।


सो राहत संकलन समितिले तराईका विभिन्न स्थानहरुबाट संकलित भौतिक, आर्थिक, खाद्यान्न र जिन्सी सामग्रीहरुको बुटवल केन्द्रमा जम्मा गरि एकद्वार प्रणालीको माध्यमबाट प्रभावित क्षेत्रमा पठाउने कार्यको संयोजन गर्नेछ भने देश बिदेशमा रहेका सबै नेपालीहरुबाट सक्दो आर्थिक तथा भौतिक सामग्रीहरु राहत स्वरुप उपलब्ध गराउन आव्हान गरेको छ ।

होम बहादुर राहादीको अध्यक्षतामा बसेको भेलामा ईश्वरी तरामु, यम बहादुर थापा, लुम्पेकी संजालका संयोजक बेन प्रसाद थापा, जित बहादुर राहादी, गुण देव कुवर, टेक बहादुर राहादी र धर्मपुर माध्यमिक बिधालय, सत्यवती–३ का भुतपुर्ब प्रधानाध्यापक लोक बहादुर राना लगायतले बाढी प्रभावित क्षेत्रको बस्तुस्थितिका बारेमा बताउँदै विपदको समयमा मानविय सेवामा लागि पिडितहरुलाई राहत दिएर उद्धार गर्न आव्हान गरेका थिए भने पिताम्बर पुनले भेलाको संयोजन गरेका हुन् । कञ्चनमा संकलन भएको राहत सामाग्री सोमबार भोली प्रभावित क्षेत्रमा पठाइने लायन्स क्लब अफ कञ्चन हरैयाका शसी सापकोटाले जानकारी गराएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।