ताजा अपडेट »

विपद् व्यवस्थापनमा विशेष जोड दिन आवश्यक

सोमबार, १४ असार २०७८, २१ : ५६
12 Shares

भनिन्छ, विपद् र दुर्घटना बाजा बजाएर आउँदैनन् अर्थात् दर्दनाक र क्षतिपूर्ण घटना, दुर्घटना वा विपद् पूर्व सूचना र जानकारी दिएर आउँदैनन्। र, जसको पूर्व तयारी गर्न र सतर्कता अपनाउन सकिँदैन । हो अचानक र अप्रत्यासित कुनैपनि घटनाहरुको तयारी गर्न सकिँदैन। तर, वर्षेनी आउने बाढी,पहिरोका विपद् बारे भने न त पूर्व जानकारी नै आवश्यक पर्दछ न त तत्कालनै केहि समाधान गर्न सकिन्छ । यो त आफैँमा पूर्व जानकारी भएको र सावधानी अपनाउनु पर्ने विषय हो । नेपालमा वर्षेनी बाढी–पहिरोका कारण सयौं घर, हजारौं जनता विस्थापित हुँदै आएका छन् । कैंयौंले अनाहकमा ज्यानै गुमाएका छन् । हरेक वर्ष वर्षाद्को सयमा आउने बाढी–पहिरोले मानवीयसँगै अरबौंको भौतिक क्षति गर्दै आएको छ । तर,यसको रोकथाम, नियन्त्रण, विपद्पछिको व्यवस्थापनमा पूर्वतयारी र सावधानी भने न्यून तथा औपचारिकताका लागि मात्रै छ ।

नेपाल पहाडी र हिमाली भूभाग बढी भएको राष्ट्र हो । यहाँको पहाडमा पहिरो गइरहन्छ भने हिमालमा हिम पहिरो । त्यस्तै पहाडमा पर्ने पानीले थोरै रहेको तराईमा बाढी आउने गर्दछ । जसले सयौं हेक्टर क्षेत्रफलको बाली,उब्जाउ माटो, घरबस्ती, चौपायाँ र मानवजातीलाई बगाउने गर्दछ । वर्षेनी पहाडमा जाने पहिरो र तराइमा आउने बाढीले निरन्तर विपद् निम्ताइरहेको छ । मानवीय र भौतिक तथा आर्थिक क्षति गराइरहेको छ । अझै यो क्रम र क्षतिको मात्रा बढ्दै गएको छ । पहिले–पहिले पहाडको ग्रामिण भेगमा मात्रै जाने पहिरो अहिले विकसित शहरमा वा शहरलाई क्षति हुनेगरी जाने गरेको छ । त्यस्तै तराइका शहरहरु पनि डुवानमा पर्न थालेका छन् ।

लुम्बिनी प्रदेशमा पहाडी र तराइका जिल्लाको संख्या समान छ । जहाँ पहिरो र बाढी दुबैको जोखिम उच्च छ । पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम र रोल्पामा पहिरोको उच्च जोखिम छ भने तराइका जिल्ला नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दियमा बाढीको जोखिम छ । तसर्थ लुम्बिनी प्रदेश पहिरो र बाढी प्राकृतिक पिवद्को उच्च जोखिममा रहेको प्रदेश हो । लुम्बिनी प्रदेशमा गत वर्ष पहिरोमा परी १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । यसैगरी खोलाले बगाउँदा २३ जनाको ज्यान गएको थियो भने १ जना घाइते भएका थिए । पहिरोमा परी सबैभन्दा बढी पाल्पामा ८ जनाले ज्यान गुमाएका थिए भने गुल्मीमा ६ जनाले ज्यान गुमाएका थिए । दाङ र रोल्पमा २/२ जना तथा प्यूठानमा एक जनाको ज्यान गएको थियो।

लुम्बिनी प्रदेशको प्रशासन, योजना तथा विपद् व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको प्रदेशभित्र १०५ वटा पहिरो र १७ वटा बाढीका घटना भएका छन् । प्राकृतिक विपद्का कारण प्रदेशमा २४२ वटा निजी घर र ५ वटा सार्वजनिक भवनमा पूर्ण रुपमा क्षति भएको छ । यसैगरी ९२ वटा निजी र ५ वटा सार्वजनिक भवनमा आंशिक रुपमा क्षति भएको प्रदेश महाशाखाको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी पहिरोबाट ४ जनाको मृत्यु भएको छ भने बाढीको कारण २ जनाको मृत्यु भएको छ । पाल्पामा १ र रोल्पामा ३ को मृत्यु भएको हो भने बाढीबाट अर्घाखाँची र प्यूठानमा १–१ जनाले ज्यान गुमाएका छन्। वर्षाद्को सुरुवातमै लुम्बिनी प्रदेशमा बाढी, पहिरोका घटना र क्षति धेरै भएको छ । वर्षाको सिजनको अवधी अझै धेरै छ । असारसँगै श्रावण, भदौ र असोजसम्म पनि ठूलो वर्षा, बाढी पहिरोको जोखिम रहन्छ ।

बाढी पहिरो मात्रै नभई समग्र विपद् व्यवस्थापनका लागि प्रदेश,जिल्ला र स्थानीय तहले विशेष संयन्त्र गठन गरेका छन् । तर, ती संयन्त्रको सक्रियता,भूमिका र प्रभावकारिता भने न्यून छ । विपद् र क्षतिको तुलनामा ती संयन्त्र धेरै पछाडि छन् । अझै भनौं विपदका घटना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा ती संयन्त्र निरह छन् । वर्षा, बाढी, पहिरो प्राकृतिक घटना हुन् । तर, तीनको बढाव र क्षतिमा भने मानवीय गतिविधि र असावधानी मुख्य रहेका छन् । जथाभावी वन फडानी, अव्यस्थित बसोबास,खोला मिचेर बनाइएका संरचना लगाएत कारण बाढी र पहिरोका क्षति बढ्दै गएको छ । यसका लागि वन जोगाउने अभियान, व्यवस्थित बसोबास र पूर्व सतर्कताका लागि सबै तहका निकाय र सरकारले विशेष भूमिका, सावधानी, जिम्मेवारी र तयारी गर्न आवश्यक छ ।

त्यसैगरी विपद्को समय र विपद्पछिको व्यवस्थापनमा पनि भएका संयन्त्र र साधनको कमी छ । घटनाको पूर्व जानकारी, घटना पश्चातको जानकारी, सो स्थानमा पुग्नको लागि तात्परता र साधन, त्यहाँ पुगिसकेपछि उद्धार गर्न आवश्यक स्रोत र साधन लगाएत पीडितलाई गर्नुपर्ने व्यवस्थापन लगाएतका मानवीय तथा भौतिक स्रोत, साधन, उपकरण, स्थानको लागि पूर्व तयारी र व्यवस्थापन निकै फितलो रहेको छ । यसतर्फ सरोकारवालाको विशेष ध्यानकर्षण र तयारी हुन आवश्यक छ । औपचारिकता र उपस्थितिको लागि संयन्त्र स्थापना मात्रै नगरी आवश्यक स्रोत र साधनको व्यवस्थापन गरी प्रभावकारी तवरले काम गर्न सकेमा विपदबाट हुने क्षतिमा कमी ल्याउन सकिन्छ ।

https://www.globalaawaj.com/archives/109254
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।