ताजा अपडेट »

शारीरिक सुगठन खेलमा उदाउँदै गरेका ‘तारा’

आइतबार, २३ जेठ २०७८, २० : २७
6 Shares

एउटा चर्चित भनाई छ, ‘इच्छाशक्ति भएमा असम्भवलाई सम्भव बनाई दिन्छ । लागि पर्दै रहने हो, निरन्तर प्रयास गर्दै जाने हो भने कोही असफल हुँदैन।’ यस्तै निरन्तर मेहनतले आफ्नो फरक पहिचान बनाउन सफल खेलाडी हुन् तारा बहादुर थापा क्षेत्री । माता तिलचना देवी र पिता भिम बहादुर थापा क्षेत्रीको सुपुत्रका रुपमा २०३५ असार २४ गते बुटवल ६ बुद्धपथमा ताराको जन्म भएको थियो। तारा सानै उमेरदेखि खेलकूदमा विशेष रुचि राख्ने गर्थे।

उनि भन्छन्, ‘मलाई खेलकुद भनेपछि सानैदेखि एकदमै मनपथ्र्याे । म सानैदेखि फुटबल खेल खेल्ने गर्थें। मसँग फुटबलमा अण्डर १६ र १९ उमेर समूहमा छनोट भई क्लोज क्याम्पसम्म बसेको अनुभव छ। मैले एक वर्ष भगत गुरुङ गुरुङ्ग उसु पनि सिके। मैले फुर्सदमा घरमा २÷२ किलोको डम्बल बनाएर एक्सरसाइस समेत गर्थे। २०५४ तिर साल मेरो साथी इन्द्र गौचन जिम गर्न नारायणी युवा क्लब जाने गरेको थाहा पाएँ। एकदिन मलाई मेरो मिल्ने साथी अनिश शर्माले इन्द्रले जिम गर्न जाने जिमहल पनि हेर्न भनि लिएर गए। गर्मी मौसमको थियो। दिउँसोको ३ बजेतिर त्यहाँ उनले एक्सरसाइज गर्दै थियो।’

उनले आफ्नो विगत भन्दै गए‘इन्द्रको फुलेको पाखुराको डल्लो देखेर मलाई पनि जिम गर्ने रहर पलायो। त्यस बेलामा सो जिमको मासिक शुल्क रु ३०० रहेछ । पारिवारिक अवस्थाका कारण त्यसबेला त्यो रकम ठुलो लाग्यो। घरमा सो रकम माग्नपनि निकै अफ्ठ्यारो महसुस भयो। मैले घरबाट पाउने र खाजा खर्चको पैसा जम्मा पारेर नियमित रुपमा जिम जान थालेँ ।’

उनको खेलयात्रा
१.वि.सं.२०६२ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको पाँचौं मिष्टर पश्चिमाञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगितामा शारीरिक सुगठन प्रतियोगितामा ६० केजी समूहमा रजतपदक ।
२.वि.सं.२०६३ सालमा रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको चौथो मिष्टर पश्चिमाञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ६० केजी समूहमा रजत पदक ।
३. वि.सं.२०७३ रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको पाचौं बुटवल श्री लुम्बिनी अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी भन्दा माथि स्वर्णपदक सँगै उपाधि जितेर १५ हजार नगद प्राप्त गर्न सफल ।
४.वि.सं.२०७३ रुपन्देही जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको छैठौं बुटवल श्री पश्चिमाञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगितामा ७५ केजीमा स्वर्णपदक जित्दै ३० हजार नगद सहित उपाधि कब्जा।
५. वि.सं.२०७३ सालमा नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा भएको छैठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समूहमा चौथो स्थान ।
६.वि.सं. २०७३ सालमा पोखरामा भएको दोश्रो बुल्समैन राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा ६५ केजी समूहमा चौथो स्थान।
७.वि.सं.२०७३ सालमा कास्की जिल्ला शारीरिक सुगठन संघको आयोजना भएको तेस्रो माछापुच्छे« शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समूहमा स्वर्णपदक ।
८.२०७३ सालमा कास्की शारीरिक सुगठन संघको आयोजना भएको पश्चिमाञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी समूहमा प्रथम ।
९.वि.सं.२०७६ सालमा कपिलबस्तु जिल्ला शारीरिक सुगठन संघको आयोजनामा भएको कपिलबस्तु श्री राष्ट्रिव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी माथि समूहमा चौथो स्थान ।

विगतको स्मरण गर्दै उनि भन्छन्,‘२०७३ साल मेरोलागि निकै फलदायी रह्यो । त्यही वर्ष मैलै बुटवल श्रीको दुवै संस्करण उपाधि हात पार्न सफल भएँ। त्यही वर्ष मैले तेश्रो माच्छापुच्छे र पोखरामा भएको पश्चिमाञ्चल स्तरिय शारीरिक सुगठन प्रतियोगितामा समेत स्वर्ण पदक जित्न सफल भएको थिएँ।’

रोजगारीका लागि उनि पटक–पटक विदेशिए । २०५५ सालदेखि २०५८ कुवेतमा तीन वर्ष र २०६३ देखि युएई आबुधावी २०७२ सम्म ९ गरि १२ वर्ष मुग्लानमा बिताएका थिए। बिदेशमा रहँदा समेत उनले शारीरिक सुगठन खेलाडीले प्रतियोगिताका बेला गर्न तयारीहरुका बारेमा जानकारी लिने अवसर पाए। आफ्नो खेलजीवनको सफलताको श्रेय उनले आफ्नो श्रीमती कुसुम राईलाई दिन चाहान्छन्। प्रतियोगिताका अवधिमा गरिने तयारीका क्रममा खानपान लगाएत प्रत्येक कुरामा ध्यान दिएर खेल क्षेत्रमा लाग्न विशेष सहयोग गरिरहेको उनले बताए।

तारालाई आफ्नो शारिरीक पोज मध्ये मनपर्ने पोज साइड चेस्ट र मनपर्ने बडी पार्ट चेस्ट हो। उनले गेमको बेला आफ्नो डाइट प्लानमा शरीरको आवश्यकता अनुसार प्रोटिन, कार्बोहाइड्रेटस, राम्रो फ्याट, भिटामिन र मिनरलसहरूका साथसाथै माइक्रोजमा बढी ध्यान दिने गरेको बताउँछन्। उनि हिजोआज व्यवसायका रुपमा डिएण्डडि नामक पसलबाट मशल फार्मा बाण्डका सप्लिमेन्टहरु बिक्री गर्ने गर्छन्। साथै उनि तिलोत्तमा मणिग्राममा रहेको छहारी क्लबमा जिम प्रशिक्षकको रूपमा काम गरिरहेका छन्। ताराले आफूले सिकेका व्यायामका सिपहरुबाट अन्य खेलाडीहरुलाई पनि शरीरलोई कसरी स्वस्थ बनाउन सकिन्छ भनेर ट्रेनिङ्ग दिने गरेका छन् ।

https://www.globalaawaj.com/archives/110802

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार