ताजा अपडेट »

चर्चामा छिन् ज्याेति

शुक्रबार, १४ जेठ २०७८, १५ : १३
6 Shares

गत वर्ष काठमाण्डौमा सम्पन्न नेपाल पावर लिफ्टिङ संघद्वारा आयोजित रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा महिला ओभरअल बिजेता बनेसँगै एकाएक देशभरि ज्याेति थापाको चर्चा चुलिन थाल्यो । २८ जना महिला प्रतिस्पर्धीहरुकाे चुनाैती समाप्त पार्दै उनले कुल २९७ केजी बजन उठाएर उपाधि विजेता बनेकी थिइन् । विजेता बन्दै उनले ५१ हजार नगद पुरस्कार हात पारिन् । उनले आफ्नो बजन समुहकाे स्पर्धामा समेत प्रथम भए वापत १० हजार थप समेत पाएकी थिईन । ज्योतिले ६० केजी मुनिकाे समुहमा प्रतिस्पर्धा गर्दै बेञ्चप्रेसमा ६० केजी, डेढलिफ्ट १२२ केजी र स्क्वायटमा ११५ केजी उठाउदै उपाधि आफ्नो नाम गरेकी थिइनँ ।

काे हुन त ज्याेति थापा ?

पिता पर्शुराम र माता मिथिला थापाकाे काखबाट पाेखरामा ज्याेतिको जन्म भएको थियो । उनी बाल्यकालदेखि नै खेलमा असाध्यै रुचि राख्ने गर्थिन । २०७२ साल तिर कक्षा १२ उतिर्ण गरेर साथीहरूकाे संगतले उनलाई रानीपाैवा स्पाेर्टस् सेन्टरसम्म पुर्यायाे । स्पाेर्टस् सेन्टरमा उनका साथी राजु गुरुङले उनलाई एक्सरसाइज गर्न सहजिकरण गरे । झण्डै डेढ वर्षको कडा परिश्रम पछि उनले काठमाडौमा भएको जेश्मिन वुमन स्क्वायट प्रतियोगितामा सहभागी हुदै पहिलो पटकमा नै कास्य पदक लिन सफल भईन । केही समय पछि रानीपाैवा स्पाेर्टस् सेन्टर क्लबद्वारा आयोजित इन्टर स्पाेर्टस् पावर लिफ्टिङ प्रतियोगितामा सहभागी हुँदै रजत पदक हासिल गर्न सफल भइन । यस नतिजाले उनलाई यस खेलमा लाग्न थप प्रेरित गर्यो । केही समयपछि उनी बब्स जिम पोखरातिर ट्रेनिङ गर्न लागिन् । त्यहाँका प्रशिक्षक शारीरिक सुगठन खेलको अब्बल खेलाडी केशव उदाश थिए । उनले ज्योतिमा रहेको खेलाडीपनको पहिचान गरे । उनलाई थप हौसला दिइ खेलमा लाग्न उत्प्रेरित गरे ।

२०७५ सालमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो इन्टर क्लब महिला स्क्वायट प्रतियोगिताको आयोजना हुदै थियो । केशवले ज्योतिलाई सो प्रतियोगितामा खेल्न प्रोत्साहित गरे । ज्याेतिले उक्त प्रतियोगितामा एक सय केजी भार उठाउँदै प्रतियोगितामा तेस्रो स्थान लिन सफल भइन । त्यही वर्ष बुल्समेन पोखराद्वारा आयोजना गरिएको तेस्रो राष्ट्रव्यापी पुरुष शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगितामा पनि जोति सहभागी भइन् । पर्याप्त तयारी नभएका कारणले यसपटक भने उनलाई आठौं स्थानमा चित्त बुझाउन पर्याे तर उनले हार मानिनन् । लगातार प्रतियोगिताहरुमा सहभागिता जारी राखिन । साेही वर्ष स्पाेर्टस क्यास्टल पावर लिफिटिङमा उपाधि जित्न उनी सफल भइन् ।

काठमाडौंमा भएको तेस्रो मिष्टर काठमाडौ राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा उनि सहभागी हुदैं छनौट चरण पार गर्दै पाचौ हुने अवसर पाइन् । सबै प्रतियोगितामा प्राप्त सिकाइबाट नै आफुले प्रथम नेपाल स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा ओभरअल विजेता बन्न सफल भएको बताउँछिन् । हाल उनी बब्स जिम पाेखरामा प्रशिक्षकका रुपमा कामकाज गरिरहेकी छिन् ।हाल नेपाली खेलकुद ठूलो समस्याबीच गुज्रिन बाध्य छ । पछिल्लो समय काेभिडकाे महामारीका कारणले एकपछि अर्को प्रतियोगिता सरेका छन् । घोषणा भएका प्रतियोगिता पनि अब रद्द भएर कहिले हुने हो, त्यसको टुंगो नै छैन । यद्यपी ज्याेती पुनः परिस्थिति सामान्य हुदै गएपछि प्रतियोगिताहरु संचालन हुने र आफुले गेममा सहभागिता जनाउँदै उत्कृष्ट नतिजा निकाल्ने दाउमा छिन् ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार