ताजा अपडेट »

अठार वर्षपछि विश्व हिन्दू महासङ्घमा एकता, हिन्दू राष्ट्र मूल लक्ष्य

मंगलबार, ०७ बैशाख २०७८, १० : ४८
4 Shares

काठमाडौँ । विश्व हिन्दू महासङ्घका दुई समितिबीच रामनवमीको अवसर पारेर वैशाख ८ गते राजधानीमा एकता घोषणा हुने भएको छ ।दुई समितिबीच एकताका लागि आइतबार सहमति भएको नेपाल राष्ट्रिय समिति दर्ता नं। ३३८ कलङ्कीका अध्यक्ष एवं पूर्वमन्त्री डा रामचन्द्र अधिकारीले राससलाई जानकारी दिए । सबै हिन्दू धर्मावलम्बीलाई एकताको सूत्रमा आबद्ध गर्न महासङ्घ अन्तर्राष्ट्रिय समिति अन्तर्गतको राष्ट्रिय समिति र राष्ट्रिय समिति दर्ता नं। ३३८ कलङ्कीका बीच आइतबार सहमति भएको हो ।

एकता गर्ने सहमतिलाई महासङ्घ अन्तर्राष्ट्रिय समितिले पनि अनुमोदन गरेको महासचिव अस्मिता भण्डारीले जारी गरउकाृ विज्ञप्तिमा उल्लेख छ । संसारभरका हिन्दू ओमकार परिवारको छाता संस्थाका रुपमा विसं २०३७ मा महासङ्घ अन्तर्राष्ट्रिय समिति स्थापना भएको थियो । तत्कालीन राजा वीरेन्द्र र राष्ट्र गुरु योगी नरहरिनाथको सङ्कल्पले महासङ्घ अन्तर्राष्ट्रिय समिति स्थापना भएको हो ।

जसको संस्थापक सभापति पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल थीए । समितिलाई संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पनि मान्यता दिएको राष्ट्रिय समितिका महासचिव अरुणकुमार पाण्डेले सुनाए । अन्तर्राष्ट्रिय समितिअन्तर्गत ३७ देशमा राष्ट्रिय समिति छन् । भारत, अमेरिका, बेलायत, पाकिस्तान, बङ्गलादेशलगायत हिन्दू भएका देशमा राष्ट्रिय समिति क्रियाशील छन् ।

महासङ्घ अन्तर्राष्ट्रिय समितिअन्तर्गत विसं २०४५ मा राष्ट्रिय समिति स्थापना भएको हो । जसको संस्थापक सभापति पूर्वमन्त्री अच्युतराज रेग्मी हुनुभएको महासङ्घले जनाएको छ । विसं २०६० मा अन्तर्राष्ट्रिय समितिका सभापति भरतकेशर सिंह र राष्ट्रिय समितिका सभापति नारायणप्रसाद पोखरेलबीचको विवादले महासङ्घ दुईवटा बनेको थियो । अन्तर्राष्ट्रिय समितिका सभापति सिंहले राष्ट्रिय समितिका सभापति पोखरेललाई कारवाही गरेपछि ३३८ दर्ता नं। मा अर्को राष्ट्रिय समिति दर्ता भएको थियो । जसको कार्यालय कलङ्कीमा स्थापना गरिएको थियो ।

विसं २०६० मा महासङ्घ फुटेसँगै विसं २०६३ मा नेपाल धर्म निरपेक्ष घोषणा भएको निष्कर्ष निकाल्दै एकजुट भएको महासचिव पाण्डेले सुनाउनुभयो । महासङ्घको मुख्य उद्देश्य नेपाललाई सनातन हिन्दू राष्ट्रका रुपमा स्थापित गर्ने रहेको छ । धर्म निरपेक्षतापछि प्रभावमा पारेर धर्म परिवर्तन गराउने क्रम बढेकामा दुवै समितिले आपत्ति जनाउँदै आएका छन् । सनातन धर्ममाथिको आक्रमण रोक्न सबै हिन्दू संस्थाबीच एकता गर्ने अभियानअन्तर्गत पहिलो चरणमा १८ वर्ष अघि दुई भएका संस्थाबीच एकता गरिएको समितिका अर्का महासचिव गणेशप्रसाद न्यौपानेले बताए । जसका लागि दुवै समितिबीच एकता गर्न १८ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार कार्यकारी सभापति अधिकारी र मानार्थ सभापति राजेन्द्रकुमार भण्डारी रहने भएका छन् । दुवैतर्फका पदाधिकारी एवं सदस्य अर्को महाधिवेशन नभएसम्म कायम गर्ने सहमति भएको छ । कुनै विषयमा विवाद भएमा कार्यकारी र मानार्थ सभापति संयुक्त रुपमा गरेका निर्णयलाई नै आधिकारिक मानिने सहमति पत्रमा उल्लेख छ ।दुई समितिबीच एकता भएकामा विश्व हिन्दू युवा सङ्घलगायत विभिन्न संस्थाले खुसी व्यक्त गरेका छन् । महासङ्घ राष्ट्रिय समितिलाई पारदर्शी एवं सक्रिय संस्थाका रुपमा अघि बढाउन पनि आह्वान गरिएको छ ।

रासस
लेखकको बारेमा
रासस