ताजा अपडेट »

सयपत्रीमा आत्मनिर्भर : फूल कारोवार घट्दै

विहीबार, ०९ पुस २०७७, १२ : ५२
62 Shares

काठमाडौँ । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुँदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये सयपत्रीका करीब तीन लाख माला भारतबाट ल्याउने गरिएको थियो ।

व्यवसायीले यस वर्ष तिहारमा पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाए, उत्पादन पनि राम्रो थियो तर बजार पाएनन् । अहिले स्वदेशमा नै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

कोरोनाको त्रास कायमै रहेकाले फूल क्षेत्रको व्यापारले अझै गति लिनसकेको छैन । त्रासकै बीच लामो समयदेखि बन्द अन्य क्षेत्र विस्तारै खुला हुन थाले पनि फूलको व्यापार भने हुन सकेन । कार्यक्रमहरु नभएको, मानिसमा क्रयशक्ति कम भएको र यस वर्षका लागि विवाहको लगन पनि सकिन लागेकाले फूलको व्यापार हुन नसकेको बताइएको छ ।

कोरोना शुरु हुनुभन्दा पहिले दैनिक रु ३५ लाखसम्म फूलको आर्थिक कारोवार हुने गरेको थियो । अहिले दैनिक रु पाँच लाखको मात्रै कारोवार हुने गरेको छ । पछिल्लो समय मठमन्दिर विस्तारै खुले पनि होटल र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले गति लिन नसकेको फ्लोरीकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

अघिल्ला वर्षमा वार्षिकरूपमा रु दुई अर्ब ४२ करोडको फूलको कारोवार हुने गरेको थियो । चालू आवमा रु तीन अर्ब फूलको कारोवार हुने अनुमान गरिए पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । यसअघि कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको थियो ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । सो व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् । हरेक वर्ष तिहारलाई लक्ष्य गरी हुने गरिएको ‘गोदावरी पुष्प मेला’ कोरोना भाइरसका कारण यस वर्ष भने हुन सकेन ।

रासस
लेखकको बारेमा
रासस