ताजा अपडेट »

रत्नपार्कमा युरी गागरिनकाे शालिक

विहीबार, १२ बैशाख २०७६, १४ : ४२
8 Shares

वैशाख १२,

काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले शङ्खपार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । महानगरका मेयर विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गर्नुभएको हो ।

मेयर शाक्यले शङ्खपार्कलाई मनोरञ्जन लिने मात्र होइन अध्ययनका लागि पनि उपयुक्त हुने बताउँदै उहाँले रसियासँग नेपालको कुटनीतिक सम्बन्धबाट आपसी सिकाइ आदानप्रदान गर्ने मौका प्राप्त भइरहेको जानकारी गराउनुभयो । प्रमुख शाक्यले आपसी हित र गागरिनको जीवनले जोडेको अन्तर्राष्ट्रिय सम्बन्धमा चर्चा गर्दै भन्नुभयो, '२७ वर्षको उमेरमा अन्तरिक्षको यात्रा गरेर ३४ वर्षको उमेरमा मृत्युवरण गरेका गागरिनको जीवन पद्धति युवा सशक्तिकरणको उदाहरण हो । 'बृहत्तर विकासका लागि रसिया नेपाललाई प्रविधिमा सहयोग गर्न तत्पर रहेको भन्दै अन्तरिक्ष यात्री भिक्टोरले एकीकृत विकासमा यस्तो प्रकारको सहयोग उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घेरेको पृथ्वी र त्यसको छेउमा ठड्याइएको स्तम्भमा गागरिनको कुम माथिको मूर्ति राखिएको छ । त्यस संरचना तयार पार्न झण्डै ३ लाख १५ हजार रूपैयाँ लागेको बताइएको छ ।पहिलो अन्तरिक्ष यात्री गागरिनले सन् १९६१ अप्रिल १२ तारिखका दिन अन्तरिक्षको यात्रा गरेका थिए । त्यस यात्राका क्रममा उनले १०८ मिनेट पृथ्वीको परिक्रमा गरे । सन् १९३४ मार्च ९ मा रसियामा जन्मिएका गागरिनको सन् १९६८ मार्च २७ तारिखका दिन मृत्यु भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।