ताजा अपडेट »

‘सहज र शुपथ लागतको औद्योगिक वातावरण निर्माणमा जोड’

बुधबार, १० मंसिर २०७७, १७ : ४८
19 Shares

देशभरका उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी १३ गते साधारण सभा हुँदैछ । सो सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व एवम् पदाधीकारी चयन गर्नेछ । जसमा रुपन्देहीका सक्रिय तथा अग्रज उद्योगी राजेश कुमार अग्रवालको पनि उम्मेदवारी रहेको छ । दर्जनबढी उद्योगमा आवद्ध अग्रवालले कार्यकारिणी सदस्यमा एसोसिएटतर्फ उम्मेद्वारी दिएका छन्।

सिद्धार्थ ग्रुपका निर्देशक रहेका अग्रवाल अर्घाखाँची सिमेन्ट, श्री स्टील्स, एसियन कङ्क्रिटो, मिलानो फुटवेयर, सिद्धार्थ सिमेन्ट, सिद्धार्थ पेट प्लास्ट इन्डष्ट्रिज, सिद्धार्थ रिफाईनरी, सिद्धार्थ आयल लागाएतका दर्जन उद्योगहरुका साथै बिभिन्न ब्यवसायिक प्रतिष्ठानहरुमा समेत आवद्ध उनी सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन्। देशको आर्थिक विकासको मेरुदण्ड अर्थतन्त्र र यसलाई चलायमान बनाई समृद्ध मुलुक बनाउने औद्योगिक क्षेत्रमा समर्पित र संघर्षरत सफल उद्योगीको पहिचान बनाएका अग्रवालले दोस्रो पटकका लागि उम्मेदवारी दिएका हुन् । यसै सन्दर्भमा रहेर ग्लोबल आवाजका लागि उद्योगी राजेश कुमार अग्रवालसँग गरिएको कुराकानी :

पुनः सोही पदमा उम्मेदवारी दिनुभएको छ । तयारी कस्तो छ ?
-संघको विधान अनुासरनै पुनः सोही पदमा उम्मेद्वारी दिएको हो । कार्य अनुभव र अगाडिको जिम्मेवारीका लागि कार्यकारिणी सदस्यमा दोहोर्यानु पर्नेछ । सो का लागि उम्मेदवारी दिएको छु । सो का लागि विभिन्न छलफल, सल्लाह सुझाव र योजनाहरु भइरहेका छन् । विशेषगरी सहकर्मी तथा अग्रज उद्योगीहरुसँग उद्योगका विषयमा बहससँगै आगामी कार्ययोजनामै लक्षित छु ।

आगामी नेतृत्वका लागि दुई वटा प्यानल मध्ये किशोर प्रधानकै नेतृत्व अन्तर्गत किन ?
-दुई वटामा एउटा रोज्नुपर्ने हुनाले एउटा रोज्नै पर्यो सो क्रममा किशोर प्रधानको प्यानल अन्तर्गत मेरो उम्मेदवारी हो । स्वच्छ प्रष्पिर्धा र सबल नेतृत्व छनौटका लागि प्रतिष्पर्धा हुनु राम्रो हो । दुई जना प्रष्पिर्धी दुबै अनुभवी र सवल हुनुहुन्छ । म एक राम्रो,अर्को नराम्रो भनेर एउटा अन्तर्गत रहेको भन्ने होइन ।

प्रायः केन्द्र वा सेरोफेरो हावी हुने संघमा तपाइँको उपस्थितिका लागि कति सहज वा असहज ?
-मेरो यात्राको कुरा गर्नुपर्दा निरन्तरता र संघर्ष त जारी नै छ । हामी ग्राउण्ड तहमा रहेर काम गर्दा प्रतक्ष्य भोगाई र अनुभव गरिएको हुन्छ । आफूले भोगेका र अनुभव गरेका कुरालाई केन्द्रमा पुर्याउन सो तहमा पुग्नै पर्ने हुन्छ । जसको लागि पुनः पदाधिकारीमा उम्मेदवारी दिएको छु । केन्द्रबाट टाढा रहेर उद्योग सञ्चालन र नेतृत्व गर्दा थप समस्या र जटिलता त रहन्छ नै ।

उद्योगका समस्या सधैंजसो रहने गर्छन् ,पहिला पनि थिए । अहिले कोभिड-१९ ले थप समस्याग्रस्त बनाएको छ । उद्योगीको तर्फबाट भन्नुपर्दा वर्तमान अवस्थामा उद्योगको अवस्था कस्तो छ ?
-मुख्यतया कोभिडले जनताको क्रयशक्ति र इच्छाशक्ति घटेको छ । जसले गर्दा बजारमा माग कम भएको छ । यस विषयलाई मध्यनजगर गर्दै भारत, चाइना, अमेरिका, बंगलादेश, श्रीलंका, लगाएत यूरोपियन देशहरुले जनताको क्रयशक्ति र मागलाई निरन्तरता दिने अर्थतन्त्रलाई प्रवर्द्धन गरिरहेका छन् । हाम्रो देशमा पनि सरकारले केही तयारी गरिरहेको होला । नेपालमा पनि सरकारले जनताको माग र क्रयशक्तिलाई मध्यनजर गरी उनीहरुलाई प्रोत्साहन गर्दै उद्योगलाई बलियो बनाउन आवश्यक छ ।

ती समस्यासँग जुध्दै, समाधान गरी अगाडि बढ्न औद्योगिक गति लिन के-कस्ता योजना र कार्यान्वयनको आवश्यकता पर्ला ?
-मुख्यतया उत्पादनमा लागत घटाउन आवश्यक छ । जबसम्म यस वस्तु उत्पानदनमा लागत घट्दैन तबसम्म छिमेकी तथा विदेशी उद्योग र उत्पादनसँग प्रतिष्पर्धा नै गर्न सकिँदैन । विश्वव्यापी बजारमा हामी हाम्रा दुई ठूला छिमेकी राष्ट्र भारत र चीनसित प्रतिष्पर्धा गर्न सकेका छैंनौं । आयातलाई प्रतिष्थापन र निर्यात गर्नका लागि पनि कच्चा पदार्थ आयातमा लागत कमी हुनु पर्दछ । यसका लागि सरकारले ढुवानी र करमा राहत दिन आवश्यक छ । सरकारले उद्योग र उद्योगीहरुलाई केही सहयोग र संरक्षण गर्नुभन्दा पनि उद्योगलाई बलियो र आत्मनिर्भर बनाउनु पर्दछ । यसका लागि सस्तो व्याजमा ऋण उपलब्ध गराउने, ढिलासुस्ती र अनियमितता हटाउने, पूर्वाधारलाई बढाउने जस्ता विषयमा विशेष योजनाका साथ कार्यान्वयनमा ल्याउनु पर्दछ ।

उद्योगहरु स्थापना हुने कुरादेखि सञ्चालनसँग उत्पादित बस्तु र आयका सवालमा विवादहरु देखिन्छन् । यसका कारण र समाधानका उपाय के होलान् ?
-समस्या त सुरुदेखिनै लगानी र स्थापनामै छ । उद्योगका लागि महंगाो उद्योगीले जग्गा, भाडा र लगानी आवश्यक पर्दछ । जसका कारण पहिला साना तथा मझौला उद्योग स्थापना गर्नपनि आँट आउँदैन । उद्योगका लागि सरकारले औद्योगिक ग्राम स्थापना गरेर उद्योगहरुलाई सहज र शुलभ तवरले जग्गा उपलब्ध गराई विजुली तथा यातायातको पहुँच बनाउन पर्दछ । अहिलेको अवस्थामा १० करोड लागत छ भने ५ करोड त जग्गामै लाग्छ । सरकारले ठाउँ-ठाउँमा सामान, कच्चा समान आयात र उत्पादित सामान निर्यात गर्न भारत संग सम्नवमयगरि भारतिय रेलवेसित जोड्न पर्दछ । जस्तै वीरगञ्ज र विराटनगरमा आइसिपी स्थापना भइसकेको छ । त्यसैगरी नेपालगञ्ज र भैरहवामा पनि स्थापना गरेमा उद्योग र उत्पादन लागत घट्दछ । जसले गर्दा अर्थतन्त्रमा ठूला प्रभाव र परिवर्तन आउँछ ।

लामो समयदेखि औधोगिक क्षेत्रमा संघर्षरत,करिव एक दर्जन उद्योगमा आवद्ध रहँदै संघको आगामी नेतृत्वमा जाँदै गर्दा तपाइँका प्राथमिकताका विषयहरु के-के छन् ?
-मैले भनिरहेका, उठाउँदै आएका हालसम्मका विषयहरु, उद्योग स्थापनाका पूर्वाधार, आयात/निर्यातमा सहज, लगानीका लागि सहज र शुपथ ऋण उपलब्ध गराउने लगाएत औद्योगिकरणका लागि सहज प्रक्रिया र शुपथ लगानी तथा उत्पादनका विषयमा मेरो जोड हुनेछ । यसका लागि सरकारसँग हामी वैचारिक बहस र सहकार्य गर्दै अगाडि बढ्नेछौं । उद्योगलाई क्षणिक राहत वा संरक्षण भन्दापनि दिगो र बलियो बनाउन मेरो पर्यत्न रहने छ यसका लागि सबै पक्षसँग सहकार्य हुनेछ ।

गौतम भूसाल
लेखकको बारेमा
गौतम भूसाल

भूसाल ग्लोबल आवाज अनलाइका प्रबन्ध सम्पादक हुन् ।