ताजा अपडेट »

तस्करले गैँडा मारेपछि निकुञ्जको सुरक्षामा थपियो चुनौती

विहीबार, २५ भदौ २०७७, १३ : ४०
38 Shares

चितवन । झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटिएको थियो।

पाँच दिनअघि भदौ १६ गते बन्दुकको आवाज आएपछि नेपाली सेना र निकुञ्ज कर्मचारीको खोजीपछि गैँडा शंकास्पद अवस्थामा भेटिएको थियो। निकुञ्जले गैँडाको टाउकोमा दुई वटा प्वाल र पछाडिको भागमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा भेटिएको जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भेटिएको गैँडा गलेको अवस्थामा रहेको बताए।

बन्दुकको आवाज आएकै दिन गैँडा मरेको मृत शरीरको प्रकृतिले देखाएको छ। टाउकोमा गोली लागेको निकुञ्जका अधिकारीहरुले अनुमान लगाएका छन् तर तस्करले खाग र खुरकै लागि गैँडा मार्ने भए पनि ती दुवै सुरक्षित रहेको बरालको भनाइ छ। घटना शंकास्पद भएसँगै निकुञ्ज थप रणनीतिका साथ अनुसन्धानमा अघि बढेको छ। यसअघि विसं २०७३ चैत २६ गते राप्ती बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करले गैँडा मारेका थिए। त्यसयता प्राकृतिक कारणबाट मात्र गैँडा मरेको बरालको भनाइ छ।

बराल तस्करले नै गैँडा मारेको हुनसक्ने बताउछन्। उनीहरु तस्कर समूह भएको भन्दै तिनीहरूलाई निस्तेज पार्ने रणनीतिमा निकुञ्ज लागेको उनको भनाइ छ। बराल छुटेका कैदीबन्दी र फरार अभियुक्त निकुञ्ज सुरक्षाको चुनौती रहेको स्वीकार्छन्। गएको वैशाखयता मात्र भरतपुर कारागारबाट गैँडा तस्करीको अभियोगमा २३ जना कैद भुक्तान गरेर छुटेका छन्। कारागार प्रमुख कमलप्रसाद काफ्लेका अनुसार त्यही मुद्दाका आउँदो चैतसम्ममा चार, २०७८ मा छ, २०७९ मा १० जना र २०८० मा चार जना छुट्दै छन्। कोही भने कारागारभित्रको जिम्मेवारीको आधारमा छिटो छुट्न सक्छन्। हाल कारागारमा सो अभियोगमा ६८ जना छन्। पाँच वर्षभित्रमा आधाभन्दा बढी छुट्ने काफ्ले बताउछन्।

यस मुद्दामा अधिकतम सजाय १५ वर्ष कैद र रु १० लाख जरिवाना वा दुवै हुने व्यवस्था छ। कारागारमा रहेकामध्ये २२ जना चेपाङ मात्र छन्। कारागारमा भएका सबैभन्दा बढी चितवनका ४५, नवलपरासीका १२, मकवानपुरका १० र पर्साका एक जना छन्। एक महिलाबाहेक अरू सबै पुरुष हुन्। बरालले अहिले छुटेका कतिपय पहिले तस्करीमा लागेकाहरु भएको जानकारी दिए।

संरक्षित वन्यजन्तुको चोरी शिकारी गरी फरार रहेका १०० जनाभन्दा बढी छन्। तिनीहरु निकुञ्ज आसपास क्षेत्रसँगै पोखरा, काठमाडौँलगायतका ठाउँका हुन्। अरू मुद्दाको समेत गरेर यो संख्या १५० भन्दा बढी छ। तिनीहरुको खोजीमा पनि सुरक्षाका सबै तह लागेको उनको भनाइ छ। यससँगै कोभिड–१९ को मौका छोपेर तस्कर सक्रिय भएको अनुमान छ। निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष ३८ वटासम्म गैँडा तस्करले मारेको तथ्यांक छ। त्यतिबेला विसं २०५८ देखि २०६३ सम्म तस्करले १०६ वटा गैँडा मारेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। सन् १९९५ मा चोरी शिकारबाट एउटा गैँडा मारिएको थियो। त्यसयता हालसम्म तस्करले मारेको प्रमाणित भएका गैँडाको संख्या १७६ पुगेको छ।

पछिल्लो वर्षमा प्राकृतिक कारणले गैँडा मरे पनि तस्करले मार्न पाएका थिएनन्। निकुञ्जका सूचना अधिकारी अशोककुमार रामका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्राकृतिक कारणले सबैभन्दा धेरै ४३ गैँडा मरेका थिए। अन्य वर्षमा प्राकृतिक कारणले सरदर २५ गैँडा मर्ने गरेको उनको भनाइ छ। अहिले निकुञ्जले साइकल, मोटरसाइकल, गाडी, पैदल, हात्ती, डुंगा, मोटरबोटबाट गस्ती गर्दै आएको छ। अप्ठ्यारो ठाउँमा कुकुर र ड्रोन पनि प्रयोगका लागि तयारी गरिएको छ। निकुञ्जमा हाल ४६ सुरक्षा पोष्ट छन्। शंकास्पद ठाउँमा एम्बुस गस्ती गरिने रामले जानकारी दिए। उनका अनुसार अहिले निकुञ्जले थप रणनीतिका साथ सुरक्षा गस्ती बढाइरहेको छ। मध्यवर्तीका समूहसँग सहकार्य गरी युवा चोरी शिकार नियन्त्रण समूह पनि सक्रिय बनाइँदै छ।

निकुञ्जमा यसै वर्ष गैँडा गणना गरिँदै छ। यसअघि सन् २०१५ सालमा गरिएको गणनामा नेपालमा रहेका ६४५ मध्ये ६०५ गैँडा यसै निकुञ्जमा रहेका थिए। निकुञ्ज सुरक्षामा नेपाली सेनाको वटुकदल गण खटिएको छ। २००७ सालतिर यस निकुञ्जमा ८०० हाराहारीमा गैँडा रहेकोमा विसं २०२० मा यो संख्या घटेर १०० मा झरेको थियो। त्यसयता क्रमश गैँडाको संख्या बढ्दै आएको हो। विश्वमै एक सिंगे गैँडा दुर्लभ मानिन्छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।