ताजा अपडेट »

रियलले जित्यो ला लिगाको उपाधि

शुक्रबार, ०२ साउन २०७७, १४ : १३
8 Shares

काठमाडौं । रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो ।यससँगै रियलले ३४ औँ पटक ला लिगा जितेको छ । रियल सबैभन्दा धेरै ला लिगा जित्ने क्लब पनि हो । पछिल्लोपटक रियलले २०१६/१७ को सिजन जितेको थियो ।

अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए । खेलमा २९ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसका लागि लुका मोड्रिचले पास उपलब्ध गराए । दोस्रो हाफको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा इबोर्राले गोल गर्दै भिल्लालाई खेलमा फर्काउने प्रयास गरे । तर, अन्त्यमा रियल २-१ ले विजयी भयो ।

भिल्लामाथिको जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि चुमेको हो । रियलले ३७ खेलमा ८६ अंक जोडेको छ । बार्सिलोनाको ७९ अंक रहेको छ । ७५ अंक जोडेको भिल्ला पाँचौं स्थानमा रहेको छ । बार्सिलोना बिहीबार राति नै ओसासुनासँग २-१ ले पराजित भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।