ताजा अपडेट »

खेतमै सुके उखु

मंगलबार, ३० बैशाख २०७७, १४ : ५९
12 Shares

दाङ । दाङको घोराही उपमहानगरपालिका –१७ गैरागाउँका उखु किसान डम्मर बुढा निकै चिन्तित हुनुहुन्छ । कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण उखु बिक्री नभएपछि बुढालाई तनाव भएको छ ।

गत माघको अन्तिम सातादेखि बिक्रीका लागि तयार भएको उखु अहिलेसम्म १५ प्रतिशतसम्म पनि बिक्री नभएको उनले बताए । उनले रोल्पाबाट गैरागाउँमा आएर पाँच वर्षदेखि सालाभेना गेमी उखु फार्मबाट जुस बिक्री गर्दै आएका छन् । “आफ्नै फार्मबाट जुस बनाएर बिक्री गरेको थिएँ, जिल्लाका अन्य बजारबाट पनि जुसका लागि उखु लिन व्यापारीहरु आउँथे तर अहिले व्यापारै छैन” , बुढाले भने । यस वर्ष उखु सुक्ने बेला भइसक्यो तर बिक्री भएको छैन । चिनी मिलमा पठाउँदा एक किलोको रु पाँचका दरले पु¥याइदिनुपर्ने भएकाले झनै घाटा हुने उनको गुनासो छ । “अब लकडाउन खुला होला र बिक्री गर्न पाइएला भनेको संक्रमण बढिराछ, यस वर्ष जग्गाको भाडा पनि कसरी तिर्ने भन्ने पो चिन्ता भयो”, बुढाले भने ।

वार्षिक रु ६० हजार बिघाको दरले आठ बिघा जमीन भाडामा लिएर उहाँले खेती गर्दै आएका छन् । गत वर्ष महिनामा दैनिक रु आठदेखि दश हजारसम्मको रस बिक्री गर्नुभएका बुढाको अहिले दिनमा मुश्किलले रु एक हजार मात्रै कारोवार हुने गरेको छ । डम्मरजस्तै रुकुमबाट गैरागाउँमा आएर उखुखेती गर्दै आउनुभएका मनराज बाँठाको पनि अवस्था उस्तै छ । विसं २०७२ देखि उखुखेती गरेर बस्नुभउका बाँठाको ६ बिघा जमीनमा उखु बिक्रीका लागि तयार भए पनि बन्दाबन्दीले खेतमै सुक्न थालेको छ । उनी पनि प्रतिबिघा वार्षिक रु ६० हजार जमीनको भाडा र्तिछन् । घोराही, नारायणपुर, तुलसीपुर, लमही र भालुबाङका जुस सेन्टरका व्यापारी उनका ग्राहक भए पनि बन्दाबन्दीले उखु नै बिक्री नभएको बाँठाको भनाइ छ ।

दैनिक बिक्री गर्दा पनि सबै सकिन चार महिना लाग्ने उक्त ठाउँको उखु अहिलेसम्म १० प्रतिशत मात्र बिक्री भएको छ । “बिक्रीको सिजनमा दैनिक १० हजारको बिक्री हुन्थ्यो तर अहिले जग्गाको भाडा कसरी तिर्ने हो थाहा छैन”, बाँठाले भने । लकडाउनकै समयमा पनि दिनमा १५ ÷२० जना रस खानका लागि आउने गरेको उनले बताए । घोराही बजारको नजीकै भएका कारण जुस पिउनका लागि साँझ र बिहान भीडभाड हुने गैरागाउँ अहिले सुनसान देखिन्छ । सात किसानले ५० बिघामा लगाएको उखु फागुन महिनादेखि बिक्रीका लागि तयार भए पनि बन्दाबन्दीका कारण खेतमै सुक्न थालेको छ । किसानले उखु बिक्री नहुँदा भाडा तिर्न समस्या भएकाले स्थानीय सरकारसँग सहुलियत दिन माग गरेका छन् ।

विकास निर्माणले गति लिँदै

लकडाउनका कारण झण्डै डेढ महिनादेखी स्थगित विकासनिर्माणका काम शुरु हुन थालेका छन् । जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले लामो समयदेखि बन्द विकासनिर्माणका काम पुनःसञ्चालन गर्ने निर्णय गरेको हो ।

जिल्लामा विकासनिर्माणका प्रयोजनका लागि प्रयोग हुने गाडीले पास लिनु नपर्ने भएको छ ।
लकडाउनको आदेश र मापदण्डको पालनालाई कार्यान्वयन गराउनका लागि पनि सम्बन्धित पालिकाले अनुगमन गर्नुपर्ने र संघिय तथा प्रदेशस्तरीय विकासनिर्माणका कामको सहजीकरण जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। घोराही बजारको मुख्य चोक तुलसीपुर चोकदेखि दामोदर चोकसम्मको न्युरोड कालोपत्रे तथा फुटपाथ निर्माणको काम शुरु भएको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । नगरको वार्षिक कार्यक्रमानुसार रु एक करोडको लागतमा पिच र नालासहितको फुटपाथ निर्माण गर्न लागिएको छ ।

यस्तै बैठकले विकासनिर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीका लागि प्रत्येक बुधबार र शनिबार हार्डवेयर पसल खोल्न दिने निर्णय भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।